‘पूर्णबहादुरको सारंगी’ बाट विजय बरालले सवा करोड बोनस पाउने, ‘सेभेन सिज’ भने विघटनतिर – Nepal Press

‘पूर्णबहादुरको सारंगी’ बाट विजय बरालले सवा करोड बोनस पाउने, ‘सेभेन सिज’ भने विघटनतिर

निर्माता विनोद पौडेल भन्छन्- सक्सेस पार्टी आयोजना गरेर प्राविधिकहरुलाई पनि बोनस बाँड्छु

काठमाडौं । बक्स अफिसमा इतिहासमा २५ करोड मुनाफा कमाएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का प्रमुख कलाकार अभिनेता विजय बराललाई अक्सर सोधिएको प्रश्न हो- तपाईंको भागमा कति पर्यो ? उनले प्रष्ट जवाफ दिने गरेका छैनन् ।

सामान्यतया कलाकारहरुले कुनै पनि चलचित्रमा पारिश्रमिक लिएर काम गर्छन् । चलचित्रको व्यापारिक नाफा-घाटाले उनीहरुलाई असर गर्दैन । न चलचित्र डुब्दा उनीहरुलाई आर्थिक क्षति हुन्छ, न ब्लकबस्टर हुँदा आर्थिक लाभ । यद्यपि, पछिल्लो समय चलेका केही कलाकारहरुले ‘सेयर’ मा काम गर्ने अभ्यास गर्न थालेका छन् । विजय बरालले पनि यही गरेका थिए ।

चलचित्रका निर्माता विनोद पौडेलका अनुसार बरालले यो चलचित्रबाट सवा एक करोड रुपैयाँको मुनाफा सेयर पाउने भएका छन् । उनले चार लाख रुपैयाँ पारिश्रमिक र ५ प्रतिशत सेयरमा काम गरेका थिए । चलचित्रले नेपालमा ५० करोड र विदेशमा २३ करोडमाथि बक्स अफिस कलेक्सन गरेपछि बरालले करोडमाथि रकम मुनाफा सेयर पाउने निश्चित भएको हो ।

पौडेलले नेपाल प्रेससँग भने, ‘उहाँ चार लाख मात्रै पारिश्रमिक लिएर ५ प्रतिशत मुनाफा सेयरमा बस्न राजी हुनुभएको थियो । कथा मन परेकाले उहाँ आफ्नो रेटभन्दा न्यून पारिश्रमिकमै खेल्न तयार हुनुभएको हो । चलचित्रले मुनाफा कमाएमा उहाँले ५ प्रतिशत पाउने सम्झौता छ ।’

थोरै पारिश्रमिक लिएर ५ प्रतिशत शेयरमा काम गर्ने बरालको निर्णय अन्ततः फलदायी सावित भएको छ । चलचित्रले करिब २५ करोड रुपैयाँ नेट मुनाफा कमाएको हिसाब निर्माताले निकालेका छन् । २५ करोडको ५ प्रतिशत भनेको १ करोड २५ लाख हुन्छ ।

चलचित्रमा संलग्न प्राविधिकलाई पनि केही बोनस बाँड्ने योजनामा छन् निर्माता पौडेल । केही दिनपछि सक्सेस पार्टीको आयोजना गर्न लागेका उनले भने, ‘मैले जति सक्छु, त्यति गर्छु । यो सबै मेरो एक्लो कोसिस हो ।’

पौडेलले ‘एक्लो कोसिस’ भन्नुको पछाडिको कारण चाहीँ चलचित्र निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका सञ्चालकहरुबीच सृजित विवाद हो । पौडेलले आफूखुसी बितरकबाट पैसा लिँदै खर्च गरिरहेको भन्दै अर्का निर्माताद्वय प्याट्रिक सुवेदी र रमेश ढकाललाई आफूहरुको सहमतिबिना पैसा भुक्तानी नगर्न वितरकलाई चिठी लेखेका थिए । यसले ३३–३३ प्रतिशत सेयरमा सुरु गरिएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टमा लफडा भएको थियो ।

अहिले सेभेज सिज इन्टरटेनमेन्ट सदाको लागि बन्द हुने संघारमा छ । सम्भवतः यो कम्पनीको अन्तिम चलचित्र नै ‘पूर्णबहादुरको सारंगी’ हुनेछ । यो कम्पनीलाई छाडेर सुवेदी र ढकालले सेभेन सिज इन्टरनेशनल फिल्म्समार्फत् चलचित्रहरुको विदेशी राइटस् किनिरहेका छन् । पौडेल सेभेन सिज सिनेमालाई अगाडि बढाइरहेका छन् ।

बाँकी दुई निर्माता अलग भए पनि पौडेलले व्यक्तिगत अग्रसरतामै सक्सेस पार्टी आयोजना गर्न लागेका छन् भने प्राविधिकलाई बोनस बाँड्ने योजना बनाइरहेका छन् । तर, कति रकम बाँड्ने भनेर चाहिँ खुलाउन चाहेनन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर