भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति ? नेताहरू भन्छन्- आधिकारिक वक्तव्य आजै आउँछ – Nepal Press

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति ? नेताहरू भन्छन्- आधिकारिक वक्तव्य आजै आउँछ

कैलाली । नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई साथ दिने भन्दै एमालेका ५९ नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएको विज्ञप्तिमा नाम हालिएका नेताहरूले नै उक्त विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका छन् ।

रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि रावलले मातृभूमि जागरण अभियानलाई सुरू गरेका थिए । आज उनको अभियानलाई साथ दिने र एमाले परित्याग गर्ने भन्दै हस्ताक्षरविनाको एक विज्ञप्ति सार्वजनिक भएको छ । जहाँ एमालेका ५९ जना नेता-कार्यकर्ता नाम छ ।

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिबद्धता समेत नष्ट गरिएको छ,’ उक्त विज्ञप्तिमा लेखिएको छ, ‘कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन ।’

विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जङ्ग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।

अहिले विज्ञप्तिको आधिकारिकता माथि प्रश्न उठेको छ । विज्ञप्तिमा नाम उल्लेख भएका व्यक्तिहरूले नै आफूलाई यस विषयमा केही जानकारी नरहेको बताएका छन् । ‘म काठमाडौंबाट धनगढीको लागि उड्दै छु अहिले विमानस्थलमा छु राजीनामा दिएको विज्ञप्तिबारे मलाई कुनै जानकारी छैन’, हर्क कुँवरले भने ।

विज्ञप्तिको पाँचौ नम्बरमा कुँवरको नाम पनि समावेश रहेको छ । उनी सुदूरपश्चिमका पूर्व प्रदेशसभा सदस्य हुन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेका कुँवर नातामा भीम रावलका भिनाजु हुन् ।

‘आफन्त भएको हुँदा कसैले नाम राखेको हुन सक्छ ’, उनीनिकट स्रोतले भन्यो ।

रावलनिकट एमालेका अर्का एक नेताले उक्त विज्ञप्ति आधिकारिक नभएको बताएका छन् । उनको नाम पनि विज्ञप्तिमा छ । ‘हामी छलफलमै छौँ’, उनले भने ‘तर त्यो विज्ञप्ति आधिकारिक होइन । अधिकाधिक विज्ञप्ति आजै आउँछ । ’

उनका अनुसार विज्ञप्तिको तयारी गर्दा गर्दै यो ड्राफ्ट सार्वजनिक भएको हो । उक्त विज्ञप्तिमा नाम भएका केही व्यक्तिहरूको स्वीकृति लिनु भन्दा पहिल्यै बाहिर आएको उनले बताए ।

‘हामीले छलफल र तयारी गरिरहेका छौँ तर हस्ताक्षर हुनुभन्दा पहिल्यै यो सार्वजनिक भयो ’, उनले भने, ‘यहाँ ५९ जनाको नाममात्रै छ त्यो भन्दै धेरैको नाम र हस्ताक्षरसहितको विज्ञप्ति बाहिर आउँछ । ’

अहिले सार्वजनिक भएको विज्ञप्तिमा प्रदेश र जिल्लाका नेता कार्यकर्ताहरूको नाम मात्रै रहेको भन्दै अब आउने आधिकारिक विज्ञप्तिमा पार्टी सदस्यहरूको नाम र हस्ताक्षरसमेत हुने ती नेताले बताए ।

यस्तो छ विज्ञप्ति र ५९ जनाको नामावली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर