वाणिज्य बैंकहरूको वित्तीय विवरण- ११ बैंकको नाफा बढ्दा ९ को घट्यो   – Nepal Press

वाणिज्य बैंकहरूको वित्तीय विवरण- ११ बैंकको नाफा बढ्दा ९ को घट्यो  

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको  दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण हेर्दा समग्रमा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

यस अवधिमा ११ वाणिज्य बैंकहरुको नाफा बढेको छ भने ९ बैंकको घटेको छ । नाफा घट्नेमा एनआइसी एशिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्  ।

चालू आर्थिक वर्षको  दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले चालू आवको पुस मसान्तसम्म ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको हाे ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि तीन अर्ब रुपैयाँभन्दा बढि नाफा आर्जन गरेको छ । यस अवधिमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक रहेको छ । यस बैंकको चालू आवको दोस्रो त्रैमाससम्म ८५.४९ प्रतिशत नाफा बढेको छ । यस अवधिसम्ममा प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालू आवको दोस्रो त्रैमासम्ममा एनआईसी एशिया बैंकको सबैभन्दा बढी नाफा घटेको छ । यस अवधिमा बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशत कम हो । यस बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर