रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित नहुने


रुपन्देही । रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका छन् ।
आइतबार ढिलो गरी गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफै उपस्थित हुने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोग पत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ ।
लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ । प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।
यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीवी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिए ।
‘पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ,तीमध्ये पूरक अभियोगमा रवि, छवि र लक्ष्मीप्रसाद पौडेलसहित १४ जना नयाँ र बाँकी ८ जना सुरु प्रतिवादीमध्येकालाई थप कसुरसहित बिगो माग गरिएको हो ’ उनले भने ।
सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । यो नयाँ मुद्दा हो ।
सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो । लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो । थप अभियोगको फाइल बिहीबारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पूरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो । यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै मुद्दा दर्ता गरेको थिएन ।
प्रहरी अनुसन्धानका अनुसार सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरीका आधारमा अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको यो अनुसन्धानमा देखाइएको छ ।
आइतबार मुद्दा दर्ता भएकाले लामिछाने सोमबार अदालतमा उपस्थित हुने तयारीमा रहेको रास्वपाले जनाए पनि सोमबार भने आइतबार ढिला मात्रै मुद्दा भएकाले सोमबार आउन सम्भव नभएको लामिछानेको सचिवालयमा रहेका अविनाश आचार्यले जनाए ।
‘हामी आउने तयारीमा थियौँ तर अदालतमा हिजो दर्ता नै ढिला भयो, पहिले आउने कुरा भएन, अब आज कानुनविद्सँग सल्लाह हुँदै छ, अनि छिटै आउने हो,’ उनले भने ।
लामिछानेको तर्फबाट कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई खटाइएका छन् । लुम्बिनीका रास्वपा नेताहरूका अनुसार सोमबार नै लामिछाने रुपन्देही आउने र मङ्गलवार सुरुमै अदालतमा जाने गरी तयारी छ तर उताबाट आउने कानुन व्यवसायीको सल्लाहमा यसको टुंगो लाग्ने छ ।
के छ अभियोग पत्रमा छ ?
गृहमन्त्रीबाट हटेपछि मात्र लामिछाने अनुसन्धानको दायरामा तानिएका हुन् । लामिछाने लगायतविरुद्ध ४४ जनाले गत असोज ५ मा पूरक जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पूरक जाहेरी परेकाले कात्तिक २ मा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेकै बेला लामिछानेलाई रुपन्देही लगेर सुप्रिम सहकारी ठगीका विषयमा बयान लिइएको थियो ।
लामिछानेले बयानमा गोर्खा मिडिया नेटवर्कको कार्यकारी हैसियतमा रहेको स्वीकार गरेकाले सहकारी ऐन २०७४ विपरीत गोर्खा मिडियामा गएको रकम सम्बन्धमा जिम्मेवार हुनुपर्ने अभियोगमा उल्लेख छ ।
‘सहकारीबाट अपचलन भई गोर्खा मिडिया नेटवर्कमा गएको १ करोड ९६ लाखसहित १० करोड ९९ लाख ३६ हजार सामूहिक दायित्व लामिछानेले लिनुपर्ने देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ ।
लामिछानेमाथि १३ वर्षसम्म कैद सजायसमेत माग गरिएको छ । ‘सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा १ को खण्ड घ को देहाय ५ बमोजिम ६ देखि ८ वर्ष कैद र संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को क र ग बमोजिम थप ५ वर्ष कैद सजाय हुनुपर्ने,’ अभियोग पत्रमा उल्लेख छ ।
गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईसँग ५१ करोड १ लाख ८३ हजार रुपैयाँ र तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग ६ करोड ७९ लाख ३६ हजार बिगो दाबी गरिएको छ ।
सहकारी रकम ठगी र अपचलनसम्बन्धी मुद्दामा लामिछाने, जोशीसहित १४ जनालाई पूरक अभियोजन लगाइएको छ । पूरक अभियोजनमा अन्य ८ जनामाथि थप अभियोग लगाइएको छ । सुरु मुद्दाका ४२ जनामध्ये १७ जनालाई पनि कसुर र बिगो थप गरिएको छ ।
अदालतमा पेश भएको अभियोगमा लामिछानेले गोर्खा मिडियाको सेयर बिक्री गरेर २०७९ असार १ बाट अलग भएपछि विभिन्न मितिमा विभिन्न व्यक्तिलाई कम्पनीकै चेक काटेर ७१ लाख ८० हजार ४ सय ९९ भुक्तानी दिएको र आफ्नो नाममा समेत ९ लाख ८५ हजार ७ सय ४९ चेक काटी सो चेकका दस्तखतसमेत गरी रकम लिएको देखिएबाट निजको रकम अपचलन गर्ने मनसाय स्पष्ट देखिएको उल्लेख छ ।
त्यसैगरी प्रतिवादीले सहकारीको बचत अपचलन गरी सोबापत ४० लाख ९२ हजार भुक्तानी दिएको देखिँदा सहकारीको बचत अपचलन गर्ने कार्यमा प्रतिवादी गितेन्द्रबाबु राईसँग मिलेमतो गरी सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र व्यवस्थापक सागर केसीलाई परिचालन गरी गराई आफ्नो पहिचान गोप्य राख्न लगाई संगठित रूपमा बचत अपचलन गरेको पुष्टि हुन्छ ।
गैरकानुनी तरिकाले सहकारी संस्थाको बचत रकम अपचलन गर्ने आपराधिक समूहसँग मिलेर गरेको कार्यबाट सहकारीको रकम हिनामिना तथा अपचलन भएको देखिएकाले निज लामिछानेबाट संगठित अपराध निवारण ऐन २०७० ले परिभाषित गरेको कसुरसमेत गरेको देखिन्छ ।
प्रतिवादी लामिछाने उक्त संगठित समूहसाग मिलेर संगठित संस्थाको पदाधिकारी एवं प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको बचत अपचलन गरी प्राप्त रकम प्रयोग गरेर कम्पनीको सेयर धारण गर्नेसमेतको कार्य गैरकानुनी भए गरेको देखिन आएबाट निजको संगठित रूपमा गरिएको सहकारी ठगीमा संलग्नता पुष्टि हुन्छ ।
प्रतिवादीका नाममा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २ करोड ऋण स्वीकृत भई गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा १ करोड ९६ लाख जम्मा भएको र यी प्रतिवादीले फौजदारी अपराध वा गल्तीको दायित्व बेहोर्नुपर्ने हुँदा गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक सेयर धनी रहेको अवस्थामा सहकारीबाट बचत अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा गएको रकम ९ करोड ९९ लाख ३६ हजार रुपैयाँमध्ये निजको कार्यकालमा भएको फौजदारी अपराध वा गल्तीको दायित्व व्यहोर्नुपर्ने समान जिम्मेवार हुने हुँदा सोहीबमोजिम ८ करोड ३६ लाख ६ हजारसमेतमा सामूहिक दायित्व रहेकोमा सोही बिगो खुलेको छ ।