लिङ्देनलाई थापाको काउन्टर जवाफ- कमजोर भएर एकता गरौँ भनेको होइन – Nepal Press

लिङ्देनलाई थापाको काउन्टर जवाफ- कमजोर भएर एकता गरौँ भनेको होइन

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का केन्द्रीय अध्यक्ष कमल थापाले आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्ट पारेका छन् ।

गत शनिवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गृह नगर हेटौँडा आएर अब राप्रपा कुनै दलसँग एकीकरणको चरणमा नरहेको बताएपछि थापाले आज सामाजिक सञ्जाल मार्फत आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्ट पारेका हुन् ।

थापाले विभिन्न फोरममा राजेन्द्र लिङ्देनले चाहेमा एक हप्तामा नै दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएपछि लिङ्देनले हेटौँडामा भएको कार्यक्रम मार्फत अहिले राप्रपा कुनै दलसँग एकीकरणको लागि खुला नभएको स्पष्ट पारेपछि थापाले एकताको कुराले आफू कमजोर भएको भन्ने भ्रम नपाल्न सन्देश दिएका हुन् ।

लिङ्देनले हेटौँडा आएर भनेका थिए ‘तपाईँहरू ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ । अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन ।’ पहिले पहिले राप्रपामा कोही सूर्यबहादुर पक्ष, कोही लोकेन्द्रबहादुर चन्द पक्ष हुने गरेको भन्दै अध्यक्ष लिङदेनले भने, ‘त्यसपछि कोही जबरा पक्ष, कोही थापा पक्ष भए, तर अहिले राप्रपामा सबै राप्रपा पक्ष मात्र छन् ।’

लिङ्देनले अभिव्यक्ति दिएको दुई दिनपछि थापाले सामाजिक सञ्जाल मार्फत अहिले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन् “मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।”

२०७८ मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापाले माघमा राप्रपा छाडेका थिए। फागुन ७ मा राप्रपा नेपाल ब्युँताएर उनी अध्यक्ष बनेका थिए। त्यसयता थापा र लिङदेनले एक अर्कालाई पटक–पटक आरोप प्रत्यारोप गर्दै आएका छन् ।

राप्रपा नेपाललाई ब्युँताए पनि थापाको पार्टीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा लज्जास्पद पराजय बेहोरेको थियो । स्वयम थापा एमालेको चुनाव चिन्हबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि थापाले आत्मसमीक्षा गर्दै पार्टीको नीतिमा पुनः राजतन्त्रलाई समावेश गरेपछि उनी पछिल्लो समयमा पुनः पार्टी एकीकरणको प्रयासमा रहेका छन् । तर उनको प्रयासलाई लिङ्देनले खारेज गरिदिएपछि थापाको यस्तो स्टाटस आएको हो ।

लिङ्देनले अहिलेको राप्रपामा कुनै पक्ष या गुट नरहेको बताउँदै अहिले सशक्त राप्रपा निर्माण भएको सन्दर्भमा राप्रपाले कोहीसँग एकीकरण गर्नुपर्ने अवस्था नरहेको बताइदिएपछि थापा खेमा झस्केको बताइएको छ । यही कारण पनि थापाको यस्तो खाले स्टाटस आएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

तर लिङ्देनले बाँडफाँडको आधारमा राप्रपामा कुनै पनि दल एकीकरण हुने नभए पनि विचार मिल्ने समूह या व्यक्तिहरू विना “बार्गेनिङ” राप्रपामा समाहित हुनसक्ने बताएका थिए ।

राप्रपाले देशैभर आन्दोलनको तयारी गरिरहेको सन्दर्भमा यही समयमा पार्टी एकीकरण गरेर थापाले आन्दोलन मार्फत पुनः स्थापित हुने चाहाना स्वरूप पछिल्ला अभिव्यक्ति दिएको हुनसक्ने राप्रपा श्रोतको दाबी छ ।

हेटौँडामा भएको एक कार्यक्रममा नेपाल प्रेससँग कुरा गर्दै थापाले अब सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएर लाग्नुको विकल्प नभएको बताएका थिए ।

देशको अहिलेको शासन व्यवस्थाबाट जनताहरू वाक्क भएको भन्दै अब यो व्यवस्थाको विकल्पको लागि राजा र हिन्दु राज्य पक्षधरका शक्तिहरू एक हुनुको विकल्प नरहेको उनले बताएका थिए ।


प्रतिक्रिया

One thought on “लिङ्देनलाई थापाको काउन्टर जवाफ- कमजोर भएर एकता गरौँ भनेको होइन

  1. कमल थापाको राप्रपा बा को पार्टीसँग एकीकरण गर्दा हुँदैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर