नेपालका अनलाइन सञ्चार माध्यमले आचारसंहिता पालना गरेको नपत्याउने ९० प्रतिशत


काठमाडौं । अनलाइन क्षेत्रका पत्रकारहरु तथा आम संचार क्षेत्रमा रुचि राख्नेहरुसँग गरिएको एक सर्वेक्षणअनुसार नेपालका अनलाइन संचार माध्यमले पत्रकार आचार संहिता पालन नगरेको विश्वास गर्नेहरु ९०.३ प्रतिशत भएको पाइएको छ ।
केहीले मात्रै पूरा गरेको विश्वास गर्नेहरु भने पाँच प्रतिशत देखिइएको छ । देशमा १० विभिन्न अनलाइनमा कार्यरत पत्रकारहरुसहित १०० जनालाई आधार मानिएर गरिएको एक सर्वेक्षणअनुसार अनलाइनले पूरा पत्रकार आचार संहिता पालन गरेको पत्याउनेहरु पाँच प्रतिशत मात्रै देखिएको छ ।
‘नेपालका अनलाइन सञ्चारमाध्ममा आचारसंहिताको पालना शोध अध्ययन’ शीर्षकमा पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर, नेपालको आमसञ्चार तथा पत्रकारिता स्नातकोत्तर विषयमा ज्ञानेन्द्र खड्काले हालसालै गरेको एक शोधका अनुुसार पत्रकार आचार संहिता पालन नगर्नेलाई कारबाही गर्ने निकाय संचार मन्त्रालय मान्नेहरुको प्रतिशत १ देखिएको छ भने सूचना विभागले कारबाही गर्ने विषयमा विश्वास गर्नेहरुको प्रतिसत भने २ देखिएको छ ।
यस्तै पत्रकार आचारसंहिता उल्लनघन हुनेहरुलाई कारबाही नै हुँदैन भन्नेहरुको प्रतिशत ३ देखिएको छ । सर्वेमा सहभागी भएकाहरुमा १७ प्रतिशतले आफूमाथि झुटा समाचार लेखिए अदालत जाने बताएका छन् ।
४७.६ प्रतिशत सहभागीहरुले देशमा ठूला घटनाहरु हुँदा अनलाइन संचार माध्यमले झुक्याउने बताएका छन् भने ३२ प्रतिसतले दिनमा एक दुई समाचार झुटा समाचार हुने विश्वास गरेका छन् ।