डाेटीमा विवाह भोज खाएर ९० जना बिरामी – Nepal Press

डाेटीमा विवाह भोज खाएर ९० जना बिरामी

डोटी । डोटी जिल्लामा विवाह भोज खाएर ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–१ टाँग भन्ने ठाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेको आदर्श गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

शुक्रवार स्थानीय नर बहादुर बिकको छोरीको विवाहको भोज खाएका माइती पक्षहरूमा स्वास्थ्य समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख खड्काका अनुसार शुक्रवार साँझ भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिङटा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको छ । बिरामी ३० जनाको शनिवार (हिजो) र ६० जनाको आइतबार (आज) स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार गरिएको खड्काले बताए ।

बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ । बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको बताइएको छ ।

भोजमा सुजी (हलुवा) खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए ।

घटनाको जानकारी प्राप्त भएपछि सो स्थानमा आज साँझ प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर