अर्थतन्त्रको पछिल्लो धारः कुन-कुन परिसूचकमा आए सुधार ? – Nepal Press

अर्थतन्त्रको पछिल्लो धारः कुन-कुन परिसूचकमा आए सुधार ?

काठमाडौं । नेपालको वर्तमान अवस्था कस्तो छ ? बाहिर चर्चा भए जसरी नै नेपालको अर्थतन्त्र धराशायी अवस्थामा नै छ भन्ने धेरैको चासो छ ।

कुनै पनि देशको वर्तमान अवस्था कस्तो छ भनेर केही सूचकहरू हेर्नु पर्ने हुन्छ । देशको अवस्था कस्तो भनेर निर्धारण गर्नका लागि विश्वव्यापी मान्यताअनुरूप केही आर्थिक परिसूचकहरू हुन्छन् ।

नेपालको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिन हामीले प्रमुख आर्थिक परिसूचकहरूबारे यहाँ चर्चा गर्न खोजेका छौँ । प्रमुख आर्थिक परिसूचकहरूमा कुल ग्राहस्थ उत्पादन, आर्थिक वृद्धिदर पूँजीबजार, उपभोक्ता मूल्य सूचांक, आयात, निर्यात, कूल विदेशी विनिमय सञ्चिति, राजश्व परिचालन लगायत सूचकहरू यहाँ उल्लेख गरिएको छ ।

लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन

सरकारले लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ८४.३ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस अवधिमा ६ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो ।

तर, गत वर्षको तुलनामा भने सरकारको राजस्व वृद्धि भएको छ । ‘चालू आर्थिक वर्षको प्रथम ६ महिनामा १२.७ प्रतिशतको राजस्व वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ८.२ प्रतिशतको राजस्व वृद्धि थियो’, अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले भने ।

चालू आवको ६ महिनामा सबैभन्दा बढी शिक्षा सेवा शुल्क शीर्षकमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । यस अवधिमा एक अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यको १७६.२ प्रतिशत बढी हो । यस अवधिमा एक अर्ब ५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो ।

संघीय बजेट खर्चमा झिनो सुधार 

संघीय बजेट खर्चमा भने झिनो सुधार भएको छ । चालू आवको ६ महिनामा वार्षिक विनियोजनको तुलनामा व्यय ३५.९ प्रतिशत भएको छ । जबकि गत आवको सोही अवधिमा यस्तो व्यय ३२.४ प्रतिशत थियो ।

वार्षिक विनियोजन १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको थियो । जसमा पुससम्मको व्यय ६ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

गत आवको ६ महिनामा ३५ प्रतिशत चालू खर्च भएको थियो । यस शीर्षकमा झिनो सुधार भएको छ । चालू आवको ६ महिनामा चालू खर्ब ३६.५ प्रतिशत भएको छ ।

गत वर्षको तुलनामा यस वर्षको ६ महिनामा संघीय बजेटको खर्चको अवस्थामा सकारात्मक वृद्धि भएको प्रवक्ता भट्टराईको दाबी छ ।

पुँजीगत खर्चमा सुधारमा गुणात्मक सुधार गर्न आवश्यक रहेको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘पूर्वाधार निर्माणमा गर्दा समय र गुणस्तरलाई विशेष ध्यान दिनुपर्छ । यसबारे हामीले छलफल र सुधारका प्रयास गरिरहेका छौँ । सरकार समय र गुणस्तरमा विशेष केन्द्रित भएको छ ।’

एक खर्ब ८५ करोड अनुदान हस्तान्तरण 

अन्तर सरकारी वित्तीय हस्तान्तरणको अवस्था हेर्ने हो भने चालू आवको ६ महिनामा ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ अनुदान विनियोजन गरिएको छ । जसमा पुस मसान्तसम्म एक खर्ब ८५ करोड ४४ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । जुन विनियोजनको ४५.४ प्रतिशत हो ।

अनुदान अन्तर्गत वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष रहेको छ । यसबाहेक पुस मसान्तसम्ममा ५१ अर्ब ७४ करोड राजस्व बाँडफाँड गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४९ खर्ब ९ अर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । सरकारले यस्तो सहायता वार्षिक २ खर्ब ७० अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

चालू आवको पुस मसान्तसम्म वैदेशिक अनुदान ७ अर्ब ७२ करोड प्राप्त हुँदा वैदेशिक ऋण ४१ अर्ब ३७ करोड प्राप्त भएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब ४० अर्ब ९ करोड कूल ऋण प्राप्त भएको छ । पुस मसान्तसम्म १ खर्ब ४९ अर्ब ६७ करोड भुक्तानी गरिएको छ ।

अर्थतन्त्र डुब्यो भनेर प्रायोजित प्रचार गरियो: अर्थमन्त्री

उपप्रधान एवम् अर्थमन्त्रीले विष्णुप्रसाद पौडेलले अर्थतन्त्र डुब्यो भनेर प्रायोजित प्रचार गरिएको भन्दै आक्रोश पोखेका छन् । आइतबार पत्रकारहरुसंगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्र डुब्यो भनेर प्रायोजित प्रचार गरियो । सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर यहाँसम्म ल्याएको छ । सबल र सशक्त बनाउँदै लगेका छौँ । अर्थतन्त्रका समस्याहरू समाधान गर्दै लगेका छौँ । अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी गर्नुका कुनै अर्थ छैन ।’

अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशामा लैजानका लागि आफूहरू कसरत गरिरहेको समेत उनले दाबी गरे । मन्त्री पौडेलले भने, ‘हामीले अर्थतन्त्रलाई नकारात्मक दिशामा जानबाट रोकेर सकारात्मक दिशामा लगिरहेका छौँ । समय लागेको छ तर सुधार भइरहेको छ ।’

तथ्यले अर्थतन्त्र क्रमशः सुधार हुँदै आएको र नेपालको अर्थतन्त्रले लय समात्दै गएको उनले दोहोर्‍याए । अर्थ मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकमाथि शंका नगर्न आग्रह गर्दै उनले भने, ‘अर्थ मन्त्रालय डेटामा चिटिङ गर्दैन । जे छ त्यही देखाउँछ । तथ्यले जे देखाउँछ (हरियोलाई हरियो अनि रातोलाई रातो) नै देखाउँछ ।’

साथै आफू सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाई सुधार गरिरहेको उनको दाबी छ । यो सरकारले काम गर्नका लागि आवश्यक कानुन निर्माण गरेर अगाडि बढिरहेको मन्त्री पौडेलले जनाए ।

‘बैंकहरु डुबे, अर्थतन्त्र डुब्यो भनेर प्रायोजित प्रचार गरिएको छ । न बैंकहरु डुबेका छन् न त अर्थतन्त्र नै डुबेको छ’, अर्थमन्त्री पौडेलले भने, ‘हामी छौँ, बैंक पनि डुब्न दिँदैनौँ । अर्थतन्त्र पनि डुब्न दिँदैनौँ ।’

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर