चर्चामा खो खोः नेपाल विश्वकप फाइनलमा पुग्दा हर्षोल्लास, उपाधिकै आश
के हो खो खो ? कसरी खेलिन्छ ?

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्द्रिरा गान्धी इनडोर हलमा जारी खो खो विश्वकपमा नेपालका महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन् । पहिलोपटक भएको विश्वकपमा नेपाली दुवै टोलीले उपाधिका लागि आज आयोजक भारतसँग खेल्दै छन् ।
नेपालमा खासै चर्चा नहुने खो खो खेलको विश्वकप फाइनलमा पुगेसँगै चर्चा चुलिएको छ । नेपाल कसरी खो खो विश्वकपको फाइनलको यात्रा तय गर्न पुग्यो ? खो खो खेल के हो ? यी प्रश्नको जवाफ आज हामीले खोज्नेछौँ ।
विश्वकपमा नेपालको यात्रा
भारतमा खो खोको पहिलो विश्वकप आयोजना भएको हो । यसमा छनोट हुन कुनै मापदण्ड राखिएको थिएन । खो खो खेल्ने देशलाई आयोजकले आमन्त्रण गरेको थियो । सोही बमोजिम नेपालले पनि विश्वकपमा सहभागिता जनाएको हो ।
नेपालको खो खो संघले असोज २१, २२ र २३ गते नेपाल-भारत टेस्ट सिरिज गरेको थियो । त्यसअघि देशभरका खेलाडीलाई बोलाएर छनोट गरियो । त्यहाँबाट छनोट भएको १५-१५ खेलाडीले नेपाल-भारत सिरिज खेलेका थिए । ती खेलाडीलाई संघले मङ्सिर महिनामा कीर्तिपुरस्थित एक कभर्डहलमा क्लोज क्याम्प गर्यो । त्यसपछि नेपाली टोली विश्वकप खेल्न भारत लागेको थियो ।
छनोटदेखि क्लोज क्याम्पको व्यवस्थापन सबै संघले नै गरेको थियो । संघका अध्यक्ष प्रदीप महर्जनले अहिलेसम्म खर्च संघले नै बेहोरिरहेको बताए ।
‘अहिलेसम्म संघबाट बेहोरेका छौँ । सहयोग गर्छु भन्नुभएको छ,’ उनले भने, ‘अहिले महासचिवज्यू भारत भएकाले अघि बढ्न सकेको छैन । उहाँ आएपछि केही होला ।’
फाइनल पुगेपछि संघका अध्यक्ष महर्जनले भारतलाई हराएर उपाधि जित्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो लक्ष्य दोस्रो हुने थियो । समूह चरणको खेलमा भारतलाई चुनौती दिएर प्रथम स्थान हासिल गर्ने क्षमता देखाएको छ । फाइनलमा पूर्ण क्षमता देखाएर उपाधि जित्छन् ।’
यो विश्वकपपछि नेपालमा खो खो व्यापकता बनाउन सहयोग मिलेको अध्यक्ष महर्जनले सुनाए ।
‘खो खोलाई व्यापक बनाउनुपर्छ । अधिकांश विद्यालय जानकार छन् । खो खो कसरी खेल्ने थाहा छ । विश्वकपमा पुगिसक्दाखेरि खो खोलाई व्यापकता बनाउनमा सहयोग मिलेको छ,’ उनले भने ।’
खो खोको पहिलो पटक आयोजना भएको विश्वकपमा पुरुषतर्फ २० र महिलातर्फ १९ टोली सहभागी थिए । नेपाली महिला टोलीले अपराजित रहँदै र पुरुष टोली एक मात्र हार बेहोर्दै फाइनलमा स्थान बनाएको हो ।
महिलातर्फ समूह चरणमा भुटानलाई ८३-२४, जर्मनीलाई ७३-३४, श्रीलङ्कालाई ११०-१० र बङ्गलादेशलाई ८३-२४ अङ्कले पराजित गरेको थियो । क्वाटरफाइलनमा इरानलाई १०३-८ र सेमिफाइनलमा युगान्डालाई ८९-१८ अङ्कले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।
पुरुषतर्फ समूह चरणमा पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८, भुटानलाई ९८-८ अङ्कले हराउँदा भारतसँग ४२-३७ अङ्कले पराजित भएको थियो । क्वाटरफाइल्नमा बङ्गलादेशलाई ६७-१८ र सेमिफाइनलमा इरानलाई ७२-२० अङ्कले पराजित गरेको हो ।
के हो खो खो ?
खो खो खेल भनेको एक टीमको खेलाडीले अर्को टीमको खेलाडीलाई लखेटेर खेलिने खेल हो । एक टोलीमा १२ जना खेलाडी भए पनि एक पटकमा ९-९ जना खेलाडीले खेल्ने गर्छन् । तर, यो विश्वकपमा भने एक खेलमा ७-७ खेलाडी खेलाइएको छ । एउटा टीम चेसिङ र अर्को टीम डिफेन्डिङ हुन्छ ।
चेसिङ टीमका ६ खेलाडी मैदानमा बस्छन् र एउटा खेलाडीले डिफेन्डिङ खेलाडीलाई छुन खोज्छ । मैदानमा बसेका खेलाडी एक अर्कामा विपरीततर्फ फर्केर बस्छन् । चेसिङ टीमको खेलाडीले डिफेन्डिङ खेलाडीलाई छुन सकेमा एक अंक पाउँछ ।
खेल दुई पारीमा खेलाइन्छ । एक इनिङ ७-७ मिनेटको हुन्छ । एक इनिङमा चेसिङ गर्ने टीम अर्को इनिङमा डिफेन्डिङ गर्नेछ । इन्टरभल ५ मिनेटको हुन्छ ।
कहिलेदेखि खेल्न थालियो खो खो ?
नेपालमा २०५२ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षमा खो खो संघको तदर्थ समिति राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो । सोही वर्ष नेपाल भारत मैत्री खो खो खेल भएको थियो । त्यसअघि नै पाठ्यक्रम खो खो समावेश गरिए पनि संघ गठन भएपछि मात्रै खो खोका गतिविधि सुरू भएको थियो ।
२०६८ सालमा अधिवेशन गर्दै संघ आधिकारिकरूपमा दर्ता भएको हो । उक्त अधिवेशनबाट प्रदीप महर्जनको नेतृत्व नयाँ समिति बनेको थियो । अध्यक्ष महर्जनकाअनुसार अहिले ६ प्रदेश र ३८ जिल्लामा खो खोको संघ गठन गरिएको छ । कर्णाली प्रदेशमा पनि संघ गठन हुने तयारीमा छ ।
२०६५ मा भएको पाँचौ राष्ट्रिय खेलकुदबाट खो खोलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गरिएको थियो । नेपालले पहिलो पटक भारतमा भएको पहिलो एसियन खो खो च्याम्पियनसीपमा महिलातर्फ तेस्रो स्थान हासिल गरेको थियो । दोस्रो, तेस्रोमा महिलातर्फ तेस्रो बन्दा चौंथो एसिया च्याम्पियनसीपमा नेपाल पुरुष र महिला दुवैतर्फ दोस्रो भएको थियो । १२औँ साउथ एसियन गेममा पुरुष र महिलातर्फ दोस्रो र १३औँ साउथ एसियन गेममा महिलातर्फ दोस्रो र पुरुषतर्फ तेस्रो भएको थियो ।
विश्वकप लगत्तै राष्ट्रिय प्रतियोगिता गर्ने तयारी
विश्वकप लगत्तै खो खो संघले प्रतियोगिता गर्ने तयारी गरेको छ । पुरुषतर्फ माघ १५, १६ र १७ गते दाङमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने संघका अध्यक्ष महर्जनले जानकारी दिए । उक्त प्रतियोगिता ७ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाउनेछन् ।
महिलातर्फ फागुन महिलाको मध्यमा सुनसरीमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ । त्यसपछि अन्य थुप्रै प्रतियोगिता आयोजना गर्ने संघको तयारी रहेको अध्यक्ष महर्जनले बताए ।