मधेश प्रदेशमा उपभोक्ताबाटै काम गराउने बाटो खुल्यो


जनकपुरधाम । मधेश प्रदेशमा उपभोक्ता समितिबाट काम गराउने बाटो खुलेको छ । उपभोक्ताबाट काम गराउन चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको हो । योसंगै सात महिनादेखि रोकिएको विकास निर्माणको काम सुरु गरिनेछ ।
सत्तारूढ दलहरुको सहमतीमा लोसपाकी रुपा कुमारी यादवले प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएकी थिइन् । उक्त प्रस्ताव आज प्रदेशसभामा बहुमतले पारित भएको हो ।
आजको प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । जसमध्ये ४३ सांसदले पक्षमा मतदान गरेपछि संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख थियो । संकल्प प्रस्ताव पारित भएसंगै उक्त बुंदा संशोधन गरी ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्न सकिने बनाएको छ ।
प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उपस्थित सांसदहरुले संकल्प प्रस्तावको विपक्षमा उभेको थियो ।