अमेरिकामा टिकटक बन्द हुने भएसँगै चिनियाँ एपमा ‘सूचना लैजाउ’ भन्दै धमाधम जोडिँदै अमेरिकी


काठमाडौं । आजबाट अमेरिकामा चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटक बन्द हुँदैछ, तर अमेरिकी प्रयोगकर्ताहरु धमाधम नयाँ चिनियाँ एपमा जोडिन थालेका छन् ।
सन् २०२४ अप्रिल २४ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कानूनको प्रमाणीकरण गरेर टिकटकले कि अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने कि त बन्द हुनुपर्ने भन्ने नियम ल्याएका थिए । त्यसैको समयसीमा आइतबार सकिएको हो ।
सोमबार अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको शपथग्रहण हुनेछ । अझ रोचक कुरा अमेरिकी नागरिकहरु आफ्ना सूचनाहरु चोरिएको नाममा टिकटक बन्द गरेको भन्दै आफ्ना सूचना लैजान भन्दै आफूलाई ‘टिकटक शरणार्थी’ भनेर धमाधम चिनियाँ एपमा जोडिन थालेका छन् ।
अमेरिकी समाचार एजेन्सी एपीका अनुसार अमेरिकीहरुले स्याओहोङसु नामको इन्स्टाग्राम जस्तै एपमा धमाधम खाता खोल्न थालेका छन् । टिकटक शरणार्थी भन्ने ह्यासट्याग दुई करोड ४० लाख बढीले प्रयोग गरेको एपीले उल्लेख गरेको छ ।
३० करोड प्रयोगकर्ता भएको यो एपमा बहुसंख्यक चिनियाँ थिए । अमेरिकीहरु थपिएपछि यसको आकार बढ्ने भएको हो । अमेरिकामा १० करोडभन्दा धेरै टिकटक प्रयोगकर्ताहरु भएको बताइएको छ ।
कानून बनाएर टिकटक बन्दको बाटो खोलेको अमेरिकी बाइडेन प्रशासनले आफ्नो पक्षको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको भने टिकटक खाता खोलेर चुनावी प्रचार गरेको थियो । डोनाल्ड ट्रम्पले पनि टिकटक आईडी बनाएर आफ्नो चुनावी प्रचार गरेका थिए ।
सुरुमा टिकटकको पूर्ण बन्दको पक्षमा रहेका ट्रम्पले पछिल्लो समयमा टिकटकलाई केही समय राख्न सकिने अभिव्यक्ति दिएका थिए ।