बामदेव नेतृत्वकाे एकता अभियान छिन्नभिन्न, उपाध्यक्षसहितकाे टीम माओवादीसँग वार्ता गर्दै


काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।
उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलगिएको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेको हो ।
अभियानका उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इन्चार्ज अर्याल, उपाध्यक्ष एवम कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।
उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको सदस्यमा उपाध्यक्ष काफ्ले, सुब्बा र भट्टराई रहेका छन् ।
वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको र एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरुको निष्कर्ष रहेको छ ।