कहाँ छिन् सैफकी जेठी श्रीमती अमृता सिंह ? २१ वर्षदेखि भएको छैन भेट – Nepal Press

कहाँ छिन् सैफकी जेठी श्रीमती अमृता सिंह ? २१ वर्षदेखि भएको छैन भेट

सन्नी देवलदेखि रवि शास्त्रीसम्मबाट धोका खाएकी अमृता

काठमाडौं । बलिउड अभिनेता सैफ अलि खान आफ्नै निवासमा सांघातिक आक्रमणमा परेपश्चात अस्पतालमा उपचाररत छन् । उनलाई निवासभित्रै घुसेर एक युवकले चक्कु प्रहार गरेका थिए । सैफ अहिले खतरामुक्त भए पनि उनका शुभचिन्तकहरु चिन्तामुक्त भइसकेका छैनन् ।

आखिर के कारणले सैफमाथि आक्रमण भयो भन्ने पनि अन्योलमै छ । अहिले परिवारजनको ध्यान भने उनको उपचारमै केन्द्रित छ । पत्नी करिना र छोराछोरीहरुले सैफको हेरविचार गरिरहेका छन् ।

स्मरणीय छ कि करिना सैफकी दोस्रो पत्नी हुन् । यसअघि उनको विवाह अमृता सिंहसँग भएको थियो । उनीहरुले विवाहको १३ वर्षपछि सम्बन्धविच्छेद गरे । सन् २००४ मा सम्बन्ध तोडेका उनीहरुले त्यसयता एकअर्कालाई कहिल्यै नभेटेको बताइन्छ । सैफमाथि सांघातिक हमलापछि पनि अमृता उनलाई भेट्न नगएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सैफप्रति अमृताको मनमा अहिले पनि उग्र घृणा छ । आखिर के कारणले यो जोडीमा फाटो आएको थियो त ? आउनुस् चर्चा गरौं । पाकिस्तानको पञ्जाब प्रान्तमा सम्भ्रान्त परिवारमा जन्मिएकी अमृता सिंह कुनै समय बलिउडकी चर्चित नायिकामा पर्थिन् ।

सन् १९८०–९० को दशकमा उनको करिअर उचाईंमा थियो । सन् १९८३ मा निर्माण भएको ‘बेताब’ बाट डेब्यू गरेकी अमृताले पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखिन् ।

त्यसपछि पछाडि हेर्नु परेन । ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी उनले बेताब, सन्नी, मर्द, चमेलीकी सादी, खुदगर्ज, तुफान नाम आदि हिट चलचित्रहरु दिएकी छन् ।

सफल फिल्मी करिअरका बाबजुद अमृताको निजी जीवन भने पीडादायी रह्यो । उनले प्रेममा पटक-पटक धोका पाइन् । पहिलो फिल्ममा सँगै डेब्यू गरेका अभिनेता सन्नी देवलसँग उनी नजिकिएकी थिइन् । विवाहको सपना देखिरहेकी थिइन् ।

तर, त्यतिबेला उनी छाँगाबाट खसे झैं भइन्, जब सन्नीले पूजा नामकी अर्कै युवतीसँग पहिल्यै विवाह गरिसकेको सार्वजनिक भयो । सन्नी बारम्बार पूजालाई भेट्न लन्डन जाने गरेको पनि उनले थाहा पाइन् । त्यसबेला नराम्ररी टुटेकी थिइन् अमृता ।

सन्नीसँग टाढिएपछि अमृताको जीवनमा आए चर्चित क्रिकेटर रवि शास्त्री । एउटा पार्टीमा उनीहरुको भेट भएको थियो । दुवैले एक–अर्कालाई पहिलो भेटमै मन पराए । उनीहरुको प्रेम पनि गहिराइमै पुग्यो । रविको खेल हेर्न अमृता शारजाहासम्म पुगेकी थिइन् ।

अमृता र रविले ईंगेजमेन्ट गरेको हल्ला पनि चल्यो । तर, अचानक रवि अमृताबाट टाढिन थाले । उनले सम्वन्धलाई निरन्तरता दिन नसक्ने बताए । अमृता फेरि टुटिन् । के कारणले रविले अमृतालाई धोका दिएका थिए भन्ने खुलेन ।

रवि शास्त्रीपछि अमृताको तेस्रो प्रेमी बनेर आए अभिनेता विनोद खन्ना । फिल्म ‘बटवारा’ मा उनीहरुले सँगै काम गरेका थिए । दुवै एकअर्काप्रति आकर्षित भए । अफेयरमा बसे । तर अमृताकी आमालाई उनीहरुको सम्बन्ध मञ्जुर भएन । कारण विनोद डिभोर्सी हुनुका साथै अमृताभन्दा १२ वर्ष जेठा थिए । उनले छोरीलाई विनोदसँग विवाहको अनुमति दिइनन् । अमृताले परिवारसँग विद्रोह गर्न सकिनन् ।

सन् १९९१ मा अमृताको भेट भयो सैफ अलि खानसित । त्यसबेला अमृता फिल्ममा जमिसकेकी थिइन् भने सैफ भर्खर डेब्यूको तयारीमा थिए । एउटा फिल्मका लागि फोटोसुट गर्ने क्रममा अमृता र सैफको पहिलो भेट भएको थियो । पहिलो भेटमै सैफ अमृताप्रति फिदा भए र उनलाई डिनर अफर गरे । अमृताले डिनरका लागि सैफलाई आफ्नै घरमा निम्त्याइन् । त्यहीँबाटै उनीहरुबीच प्रेमको अंकुरण भयो ।

प्रेममा परेको ३ महिनाभित्रै अमृता र सैफले विवाह गरे । यो विवाहमा सैफकी आमा शर्मिला टैगोर सहमत थिइनन् । किनकी अमृता सैफभन्दा १२ वर्ष जेठी थिइन् । अमृताकी आमालाई पनि यो सम्वन्ध मञ्जुर थिएन । तर, उनीहरु दुवैले आफूखुशी विवाह गरे । विवाहपछि सैफ फिल्ममा सक्रिय हुन थाले ।

अमृता भने निष्क्रिय बन्दै गइन् । सन् १९९५ मा उनीहरुबाट पहिलो सन्तानका रुपमा साराको जन्म भयो । यस्तै २००१ मा छोरा इब्राहिम जन्मिए । आफ्नो करिअरलाई माया मारेर अमृता सन्तान हुर्काउनमै व्यस्त भइन् । सैफको करिअरे भने विस्तारै गति लिइरहेको थियो ।

चलचित्रमा चर्चित रहेका बेला अमृता सिंह

केही समय राम्रै चलेको यो जोडीको सम्वन्धमा खटपट आउन थाल्यो, जब सैफ अन्य युवतीहरुसँग नजिक हुन थाले । बिहेपछि अमृताले आफूलाई मेन्टेन राख्न सकिनन् । उनी मोटाउँदै गइन् । जसले गर्दा सैफले श्रीमतीलाई मन पराउन छोडेको र अन्य युवतीहरुमा आँखा लगाउन थालेको बताइन् ।

स्वीस मोडल रोजा कोटलानोसँग सिरियस अफेयरमा थिए सैफ । यो अमृतालाई सैह्य भएन । अन्ततः सन् २००४ मा यो जोडी कानूनीरुपमा अलग भयो । डिभोर्सपछि अमृताले अब कहिल्यै सैफको मुख नहेर्ने अभिव्यक्ति दिएकी थिइन् । उनी छोरी सारा र छोरा इब्राहिमलाई लिएर बेग्लै घरमा बस्न थालिन् ।

सैफले त्यसबेला अन्तरवार्तामा बताएअनुसार डिभोर्स हुँदा उनले अमृतालाई ५ करोड रुपैयाँ दिने सहमति भएको थियो । यस्तै इब्राहिम १८ वर्षको नहुँदासम्म मासिक १ लाख दिने सम्झौता पनि उनले गरेका थिए । सैफबाट पाएको पैसाबाटै अमृताले छोराछोरी हुर्काइन् ।

अमृतासँग डिभोर्सपछि सैफले रोजासँगको सम्बन्ध सार्वजनिक गरेका थिए । तर, उनीहरुको प्रेम टिकाउ हुन सकेन । कुरा नमिलेपछि उनीहरु आआफ्नो बाटो लागे । त्यसपछि सैफको जिन्दगीमा आइन् करिना कपुर । केही वर्ष अफेयरमा बसेपछि सैफ र करिनाले सन् २०१२ मा विवाह गरे । यो जोडीबाट सन् २०१६ मा जेठा छोरा छोरा तैमुर र सन् २०२१ मा कान्छा छोरा जहाँगिरको जन्म भयो ।

अमृताले पूर्वपतिलाई डिभोर्सपछि कहिल्ये नभेटे पनि छोरा र छोरीलाई भने बुवासँग भेट्न रोक लगाएकी छैनन् । सारा र इब्राहिम प्राय बुवाकै घरमा बस्छन् । कान्छीआमा करिनासँग पनि उनीहरुको राम्रै सम्वन्ध छ । अमृता र करिनाबीच भने अहिलेसम्म भेट भएको छैन ।

पछिल्लो समय अमृताले ठूलो र सानो पर्दाका फिल्ममा कमब्याक पनि गरिन् । तर, पहिले जस्तो चर्चा पाइनन् । अहिले उनी सार्वजनिक कार्यक्रमहरुमा पनि निकै कम देखिन्छिन् ।

(भारतीय सञ्चारमाध्यमहरुमा आधारित)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर