पस्मिना पसलमा बसेर उषाकिरणले खोजेको आशाको किरण

काठमाडौं । ठमेलमा एक पस्मिना पसल छ ।
विविध रङ र डिजाइनका पस्मिनाहरुको ओइरो छ पसलमा । छानीछानी किन्न पाइन्छ । आफ्नै लागि किने पनि भयो, अरु कसैका लागि किनिदिए पनि भयो । आमाबाको बुढ्यौली घाँटी छेक्न किनिदए पनि भयो । बच्चालाई सर्दी लाग्ला भनेर जाडो छल्न किनिदिए पनि भयो । किनभने अहिले जाडोको मौसम छ । शहरमा चिसो पसेको छ । मान्छेहरुलाई न्यानो चाहिएको छ ।
पस्मिनाको बर्कोमा पोको पारेर अढाई दशकदेखि त्यही न्यानो बँडिरहेकी छन् एमाले नेतृ उषाकिरण तिम्सिना । विदेशतिरबाट आएका धेरै पर्यटकले नगरकोटमा चल्ने सिरेटोलाई उषाले बेचेको तिनै बर्कोले छेकेका छन् । पर्यटकीय गाउँ सारङकोट र घान्द्रुकको चिसोमा तिनै बर्कोको न्यानोभित्र आफ्नो घाँटी र अनुहारलाई पोको पारेका छन् ।
अचेल पनि पस्मिनाको बर्कोको न्यानोमा गुटमुटिएका विदेशीहरुले बेलाबेला सम्झिरहन्छन् उनलाई, ‘के छ खबर उषा ! आरामै त छौ नि ?’
पस्मिना पसलबाटै दाल, चामल र पकेट मनीको व्यवस्थापन गरिरहेकी उषा जवाफ दिन्छिन्- ‘कुशल छु, तिमीहरुलाई कस्तो छ ?’
तर राजनीतिक रुपमा भने उषालाई अलि आराम छैन । थोरै धपेडी छ । अलिकति दौडधुप छ । पार्टी नेतृत्वले कारबाहीको डण्डा चलाएको छ । ६ महिनाको लागि निलम्बन गरेको छ । व्यापारीको चन्दाले होइन, जनताको प्रेमले पार्टी चल्नुपर्छ भनेर बोलेकै अभियोगमा बिन्दा पाण्डे र उनी निलम्बित भएका छन् ।
तर निलम्बनमा परेकी उषाको आँखामा अहिले पनि तिनै किसानहरुको तस्विर छ, जो चप्पल टेकेर एमालेको पार्टी सदस्यता नवीकरण गर्न आइरहेका हुन्थे । उनको आँखामा अहिले पनि तिनै गृहिणीहरुको चेहरा तजोताजा छ, जो घरको कामकाज सकाएर हस्याङफस्याङ गर्दै सदस्यता नवीकरण गर्न आइपुगेका हुन्थे । त्यसैले त अहिले पनि उषाको विवेकले भन्छ- ‘कार्यकर्ताको विश्वासलाई कुल्चँदै कुनै अमूक व्यापारीको स्वार्थप्रेरित चन्दामा पार्टीको भवन बन्नु गलत हो ।’
कारबाहीको डण्डा चलाइनुको पछाडि उषाको ठहर छ, जाडोको मौसममा सिरकको चेपबाट चिउचिउ चिसो छिरे झैं पार्टीमा शक्तिको दुरुपयोग छिरेको छ । कारबाहीबारे उनी भन्छिन्- ‘बरु प्रतिपक्षी आवाजलाई सम्मान गर्ने, जनताको निम्न जीवनस्तर उकास्न पहल गर्ने, शिक्षा र स्वास्थ्यमा आमूल सुधारको लागि कोसिस गर्ने ऊर्जाशील नेता र नेतृत्व पो हामीलाई चाहिएको थियो त ! खै के भन्ने र ।’
गलत कदमलाई मौन समर्थन दिएर नेतृत्वको सामुन्ने लम्पसार परिनन् वा लम्पसार परेको भिडमा मिसिइनन् । बरु शक्तिको दुरुपयोग गर्दै चलाइएको कारबाही भोग्न तयार भइन् । अढाई दशकदेखि आफूले बोकेर हिँडेको राजनीतिक चेतलाई नेतृत्वको पाउमा चढाइनन् ।
उषाको लाइन सीधा छ- ‘हामीले गलतलाई गलत भन्न सक्नुपर्छ । सहीलाई सही भन्न सक्नुपर्छ । हामीले आफ्नो कित्ता स्पष्ट पार्न सक्नुपर्छ ।’
र, उषाले आफ्नो कित्ता स्पष्ट पार्दै नेतृत्वले गरेको गलत निर्णयलाई गलत नै भनिन् । गलत कदमलाई मौन समर्थन दिएर नेतृत्वको सामुन्ने लम्पसार परिनन् वा लम्पसार परेको भिडमा मिसिइनन् । बरु शक्तिको दुरुपयोग गर्दै चलाइएको कारबाही भोग्न तयार भइन् । अढाई दशकदेखि आफूले बोकेर हिँडेको राजनीतिक चेतलाई नेतृत्वको पाउमा चढाइनन् ।
०००
२०४६/४७ सालको कुरा हो । पञ्चायती व्यवस्था ढलेर देशमा प्रजातन्त्र पुनःस्थापना हुनु र उषाले विद्यालयको आँगनमा टेक्नु सँगसँगै भएको थियो । देशमा आमचुनाव हुनु, गाउँगाउँमा मतदान हुनु, जनताले आफ्नो उम्मेदवार चुन्नु र उषाले विद्यालयको ब्ल्याकबोर्डमा अक्षर चिन्नु सँगसँगै भएको थियो ।
उषाका दाइ प्राविका मास्टर थिए । मास्टर भएकाले घरमा नेताहरु घरमा आउँथे । चिया पिउँथे । मोही पिउँथे । राजनीतिक गफ गर्थे । उषाको राजनीतिक चेतनाको स्कुलिङ घरको आँगनबाट सुरु भयो । नुवाकोटको तारकेश्वर गाउँपालिका- ५ को शंखादेवी माविमा ७ कक्षा पढ्दा अखिलमा संगठित भइन् । नुवाकोट जिल्लाको अखिलको तत्कालीन अध्यक्ष र सचिव संगठन निर्माणका लागि आएका थिए ।
‘अहिलेका नयाँ पार्टीहरुले विद्यालयहरुमा कमिटी बनाउनुहुन्न भन्छन्, तर मैले त्यो कमिटीमा रहेर समाजको, राजनीतिको कति धेरै कुरा बुझेकी छु’, उषा संगठनको औचित्य खुलाउँछिन्, ‘म त विद्यालयमा कमिटी बनाएर केही बिग्रन्न भन्छु । यदि राम्रो स्कुलिङ भयो भने यसले मान्छेलाई बिगार्दैन ।’
संगठनमा आबद्ध भएपछि उषाहरुले विद्यालयका ससाना समस्याहरुमाथि आवाज उठाउन थाले । शिक्षक समयमा नआएको, विषयगत शिक्षक नभएको, शिक्षकले राम्रोसँग ड्युटी ननिभाएकोलगायत विषयमा उषाहरु आवाज उठाउँथे । आवाज उठाउने पनि के भन्ने र ! हेडमास्टरलाई गुनासो गर्थे । हेडमास्टरलाई गुनासो गर्ने आँट उषाहरुलाई संगठनले नै दिएको थियो ।
२०५६ सालमा उनले एसएलसी दिएर पास गरिन् । काठमाडौं आएर सरस्वती क्याम्पसमा आईए पढिन् । अखिलमा निरन्तर आबद्ध भइन् ।
त्यसवेला कतिपय नेताहरु सडकमा आउँथे, ‘गणतन्त्रको नारा नला’ भन्थे । ती नेताहरु नै अहिले शासन सत्तामा भएको देख्दा चाहिँ उषालाई अमिलो लाग्छ ।
क्याम्पसमा अखिलमा आबद्ध हुनुको किस्सा हाँस्दै सुनाउँछिन् उषा- ‘क्याम्पसमा आएपछि विद्यालयमै जोडिएको अखिल हो कि होइन भनेर ट्याली गरियो । किनकि त्यसबेला एमाले विभाजन भएर माले बनेको थियो । अनेरास्ववियु पनि विभाजन भएको थियो । जिल्लाका दाइहरुले अखिलले निकालेका पत्रिकाहरु दिनुभएको थियो, त्यहाँ अध्यक्ष राजेन्द्र राईलगायत नेताका लेखहरु थिए । राई एमाले निकट अखिलका अध्यक्ष थिए । अनि क्याम्पसको अखिल राजेन्द्र राईकै अखिल हो कि होइन भनेर ट्याली गर्दा कन्फर्म भएपछि अखिलमा जोडिएँ ।’
क्याम्पस आएको भोलिपल्टैबाट विद्यार्थी राजनीतिमा जोडिइन् । त्यही वेला अखिल क्रान्तिकारीले क्याम्पसमा सुतली बम पड्कायो । उषाले विरोध गरिन्, ‘विचारको, संगठनको काम गर्न पाइयो, तर बम पड्काउने काम राम्रो होइन ।’
उनले फरक मत राखेपछि अखिल क्रान्तिकारीका विद्यार्थीहरुसँग विवाद भयो । अखिलकै सिनियर नेताहरुले अखिलसँग निहुँ खोज्न हुँदैन भनेर सम्झाए, तर पढ्ने ठाउँमा कलम चाहिन्छ, बम चाहिन्न भनेर विरोध नै गरेको उषा सम्झिन्छिन् ।
०००
२०५८ सालबाट गणतन्त्र ल्याउने आन्दोलन सुरु भयो । क्याम्पसको गेटमा टायर बाल्ने, अखिलको जुलुसमा नियमित भाग लिने ! उषाको राजनीतिक यात्रा चलिरहेको थियो । २०६० सालमा आईए पास गरिन् । ठमेलमा माइलो दाइले पस्मिनाको व्यापार गर्थे । त्यही व्यापारले चार जना माइती चेलीको पेट पालेको थियो ।
समय मिलाएर उषाहरु पसलमा बस्थे । माइला दाइलाई खाना खान पालो दिन्थे । माइला दाइले क्याम्पस पनि पढ्थे । दाइ क्याम्पस जाँदा पालो मिलाएर उषाहरु पसलमा बस्थे । ‘दाइलाई व्यापारमा सघाउने । अनि राजनीतिमा लाग्ने जस्तो वातावरण बन्यो’- उनी सुनाउँछिन् ।
हरेक दिन आन्दोलनमा छुट्दिन थिइन् । पत्रिकाहरुमा हरेक दिन उनको फोटो छापिन्थ्यो । आन्दोलनको फ्रन्टलाइनर थिए उषाहरु । २०६० सालमा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा उनी कोषाध्यक्षमा निर्वाचित भइन् । उनीहरुले सडकमै जुलुस निकाले । सडकमा जुलुस निकाल्नुको एकै कारण थियो, राजालाई देखाउन । ‘तिम्रो जनमत छैन’ भन्न ।
‘बरु अन्य पेशा छनोट गरेको भए पनि हुनेरहेछ । राजनीतिको तल्लो तहदेखि माथिल्लो नेतृत्वसम्म पुँजीपति, व्यापारीका स्वार्थहरुले कब्जा गरेको छ । समाजका बहुसंख्यक मान्छे प्रशिक्षित भएर अगाडि नबढ्दासम्म केही नहुनेरहेछ । एकदुई जना कराएर के हुन्छ होला र !’
२०६२/६३ सालको जनआन्दोलनमा सडकमा टायर बाल्नु, नाराबाजी गर्नु, जुलुसमा हिँड्नु नियमित जस्तै थियो । त्यसवेला उषाहरुले ढुंगा हानेका फोटोहरु अहिले सामाजिक सञ्जालमा दगुराएर ‘ढुंगा हान्ने को हो’ भनिदिन्छन् ।
उषाको स्पष्टीकरण छ- ‘हामीले व्यक्तिलाई टार्गेट गरेर ढुंगा हानेकै हुँदैनथ्यो । दिनभरि आन्दोलन गर्थ्याैं । हामी जहाँ स्ट्यान्ड लिएर बसेका हुन्थ्यौं, त्यही नै प्रहरीहरु हामीलाई पक्रन आउँथे । एक जना आन्दोलनकारी चार जना पुलिस बराबर बलियो हुन्थ्यो । किनभने ऊ जोश, जाँगर र ऊर्जासहित सडकमा आएको हुन्थ्यो । अनि पुलिससँग लड्न ढुंगा हान्नैपर्ने हुन्थ्यो । किनभने गणतन्त्र नल्याइकन सडकबाट नफर्कने प्रण गरेका थियौं ।’
त्यसवेला कतिपय नेताहरु सडकमा आउँथे, ‘गणतन्त्रको नारा नला’ भन्थे । ती नेताहरु नै अहिले शासन सत्तामा भएको देख्दा चाहिँ उषालाई अमिलो लाग्छ । सडकमा आएर नेताहरुले नारा नला भन्दा उषा सोच्थिन्- ‘अरे यार, दुनियाँका छोराछोरी भोकै सडकमा आएका छन् । बिहान क्याम्पस आएकाहरु पानीमात्रै पिएर सडकमा आन्दोलन गरिरहेका छन् । नेता आएर चाहिँ गणतन्त्रको नारा नला भन्छ ।’
उनी सुनाउँछिन्, ‘हामी त्यस्ता नेताहरुलाई घर जानुस् भनेर भन्थ्यौं, सडकमै झगडा गर्न तयार हुन्थ्यौं ।’
त्यसरी आन्दोलन गरेकी उषाको उमेर भने २०-२२ वर्षको मात्रै थियो । करियर सुरु गर्नुपर्ने उपयुक्त उमेर थियो त्यो, तर राम्रो करियरका लागि पेशा छान्नुपर्ने वेलामा उनले आन्दोलन छानिन् । उषा सुनाउँछिन्, ‘कसको करियरको सुरक्षा छ यहाँ भन्दै आन्दोलनमा हिँड्यौं । पहिला सिंगो देश ठीक बनाउने हो भनेर करियरको चिन्ता नगरी हिँडियो ।’
अचेल वेलावेला उषालाई लाग्छ, ‘बरु अन्य पेशा छनोट गरेको भए पनि हुनेरहेछ । राजनीतिको तल्लो तहदेखि माथिल्लो नेतृत्वसम्म पुँजीपति, व्यापारीका स्वार्थहरुले कब्जा गरेको छ । समाजका बहुसंख्यक मान्छे प्रशिक्षित भएर अगाडि नबढ्दासम्म केही नहुनेरहेछ । एकदुई जना कराएर के हुन्छ होला र !’
०००
अहिले जनता आक्रोशित छन् । सामाजिक सञ्जालमा नेताहरुमाथि खनिन्छन् । कहिलेकाहीँ उषालाई लाग्छ, त्यसरी गाली नगरे हुन्थ्यो । फेरि सोच्छिन्- ‘नेताहरु गाली गर्न लायक पनि छैनन् ।’
अहिले जनता आक्रोशित छन् । सामाजिक सञ्जालमा नेताहरुमाथि खनिन्छन् । कहिलेकाहीँ उषालाई लाग्छ, त्यसरी गाली नगरे हुन्थ्यो । फेरि सोच्छिन्- ‘नेताहरु गाली गर्न लायक पनि छैनन् ।’
किन त ?
उषा सुनाउँछिन्, ‘मान्छेहरुले यी नेताहरुको विकल्पमा यिनीहरु मर्नुपर्ने जस्ता कुरा गर्छन् । त्यसरी कसैको मृत्युकै कामना नगरे हुन्थ्यो जस्तो लाग्छ । अनि गाली नै गर्न लायक नभएको चाहिँ यसकारणले कि तिनीहरुले भुईंमान्छेका कुरा सुन्नुपर्थ्यो । राज्यका पनि सीमा छन्, तर राज्यले जति गर्नसक्थ्यो, त्यति त गर्नुपर्थ्यो । गर्नसक्ने जति पनि नगरेको नजिर छ नि त !’
२०६२/६३ सालको दोस्रो जनआन्दोलनमा नेताहरुले अनेक प्रतिबद्धता गर्थे । उक्त प्रतिबद्धतामा उषाहरु सडकमा जुरुकजुरुक उफ्रेर हुटिङ गर्थे । उषा सोच्थिन्, ‘नेताहरुले त यस्तो यस्तो काम गर्ने भनेका छन् । अब गणतन्त्र आएपछि त हाम्रो काम त के होला र है !’
तर गणतन्त्र आएपछि पनि जनताको जीवनस्तर उस्तै रहिरह्यो । केही बदलाव आएन । नेताका प्रतिबद्धताहरु सडकमै फालिए । बर्खे झरीले बगाएर ती प्रतिबद्धताहरुलाई चोभारको डाँडा कटाइदियो ।
उषाको प्रश्न छ, ‘व्यवस्था मात्रै बदलेर देशलाई पटकपटक प्रयोगशाला बनाइरहने हो भने हामीले राज्यको न्यूनतम दायित्व कहिले पूरा गर्छौं ? हामीले भनेको जस्तो विश्वविद्यालय कहिले बनाउँछौं ? हामीले भनेको जस्तो अस्पताल कहिले बनाउँछौं ? हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध यस्तो हुनेछ, हाम्रो न्यूनतम जीवनस्तर यस्तो हुनेछ भनेर कहिले बनाउँछौं ?’
यी सवालहरुको निचोडमा उषा भन्छिन्, ‘हामीले व्यवस्था बदल्यौं, तर नेता बदल्न सकेनौं ।’
के कारणले ?
उषा भन्छिन्- ‘हामीले हाम्रो अर्थ-राजनीति परिवर्तन गर्न सकेनौं । आज पनि खबर आउँछ, फलानोका घरमा बसेर सरकार परिवर्तनको कुरा भयो रे ! फलानोले नियुक्तिमा चलखेल गर्यो रे ! हामी त्यो चलखेलबाट बाहिरै आएनौं । हामीले मेरिट बेसमा क्राइटेरिया तोकेर नियुक्ति दिने चलन चलाएनौं ।
कुनै प्रणाली बनाएर त्यसलाई लागू गरेपछि त्यसले नतिजा दिएन भने पुनर्विचार गर्ने कुरा अर्को हो, तर हामीले त प्रणालीहरुलाई उस्तै उस्तै राख्यौं । एमालेको सरकार भयो, तत् ठाउँमा एमालेका मान्छेहरुलाई नियुक्ति दिने, कांग्रेस र माओवादीले त्यही गर्ने । पाँच वर्षका लागि टीयूको भीसी कसैलाई बनायौं भने पाँच वर्षमा हाम्रा विश्वविद्यालयहरुले बदल्नुपर्ने कुरा के के थियो ? तर हामीले त पार्टीको कार्यकर्तालाई नियुक्ति दिएको दियै गर्यौं ।
तर गणतन्त्र आएपछि पनि जनताको जीवनस्तर उस्तै रहिरह्यो । केही बदलाव आएन । नेताका प्रतिबद्धताहरु सडकमै फालिए । बर्खे झरीले बगाएर ती प्रतिबद्धताहरुलाई चोभारको डाँडा कटाइदियो ।
२०६२/६३ सालमा त्यत्रो सडक आन्दोलन गर्यौं । त्यसवेला सडकमा आउने वर्ग कुन थियो ? त्यतिवेला सडकमा आन्दोलनकारीको छुटेको नै गोल्डस्टार जुत्ता र म्याजिक चप्पल थियो । महँगा स्पोर्टस् सुज लाउनेहरु त यसो कहिलेकाहीँ पुग्थे । अनि त्यो आन्दोलनबाट प्राप्त उपलब्धिबाट वञ्चित भएको वर्ग पनि त्यही गोल्डस्टार जुत्ता र म्याजिक चप्पल लाउनेहरु नै हुन् । जसले आज पनि श्रमका लागि जाने भनेकै कतार, मलेसिया हो ।’
त्यसरी तत् मान्छेहरुलाई नियुक्त गरिएन भने पार्टी नै नरहला कि भन्ने गलत भाष्य छ, यसलाई कसरी भत्काउन सकिन्छ ?
यो भाष्यलाई काम नगरी भत्काउन सकिँदैन । कतै नियुक्ति दिएर, पीए बनाएर जति समर्थन प्राप्त गर्छौं, त्योभन्दा धेरै गुणा बढी समर्थन विश्वविद्यालयको क्षमता अभिवृद्धि गरेर, सबै मान्छेलाई न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित नहुने बनाएर मात्रै यो भाष्य भत्काउन सक्छौं । त्यसका लागि सार्वजननिक हितका कामतर्फ फर्कनैपर्छ । अनि ३० वर्षदेखि सत्ता अभ्यास गरिरहेको, सत्ताबाट फर्किएपछि जनताको एक्सेसमा पुग्नै नसकेको, नैतिकताले पनि साथ नदिने नेताहरुबाटै चाहिँ हामीले खोजे जस्तो रिजल्ट पाउन गाह्रो छ ।
यहाँ अधिकांश युवाले क्षमता हुँदाहुँदै जागिर पाएका छैनन् । उनीहरु विदेशिन बाध्य छन् । यिनै कारणले उनीहरु फ्रस्टेड छन् । त्यही फ्रस्टेसन नेताहरुलाई सञ्जालमा गाली गरेर पोख्छन् । तिनीहरुलाई तपाईं के भन्न चाहनुहुन्छ ?
फ्रस्टेसन पोख्नेहरुलाई मेरो सम्मान छ, तर नेताहरुलाई गाली गरिनुअघि कुन सन्दर्भमा ढुंगा हानिएको हो, आजको गगन थापाको सीमा के हो, उसले पार्टीभित्र लड्नुपरेको कोसँग हो भनेर थाहा पाउनुपर्छ । दोस्रो पुस्ताका नेताहरु सबै पार्टीभित्र के गर्दैछन् ? तिनीहरु आजको संकटको समाधानको कुरा गर्न लायक छन् कि छैनन् ? छैनन् भने तिनीहरुको नालायकीपन के हो ? बुझेर गाली गरौं भन्न चाहन्छु ।
आजको संकटको समाधान निकाल्न नयाँ पुस्ताले छलफल सुरु गरौं । समाजले त आफ्नै स्तरको नेता पाउने हो नि त ! समाजभन्दा एड्भान्स नेता पाइँदैन । आजको नेपाली समाज जे हो, त्यसलाई नै रुपान्तरण नगरिकन अरुलाई रुपान्तरण गर्न सक्दैनौं । अरुको तथ्यांक पढेर प्रगति गर्न सक्दैनौं । हामीलाई आफ्नै तथ्यांक पनि बदल्नु छ नि त !
मेरो पुस्ताको अधिकांश मान्छे श्रमका लागि देश बाहिर जान बाध्य छन् । अर्को देशमा श्रम र पसिना खर्च गरिरहेको छ । यो हाम्रो क्रूर नियति हो । यो नियति बदल्नैपर्छ । यसका लागि पहिलो त नेता नै बदलिनुपर्यो ।
२०६२/६३ सालपछि हामी गणतन्त्रमा प्रवेश गरे पनि समाजलाई हामीले गति दिन सकेनौं । आर्थिक तथ्यांकले नयाँ गति दिएको देखिँदैन । रोजगारीका अवसरहरु छैनन् । मेरो पुस्ताको अधिकांश मान्छे श्रमका लागि देश बाहिर जान बाध्य छन् । अर्को देशमा श्रम र पसिना खर्च गरिरहेको छ । यो हाम्रो क्रूर नियति हो । यो नियति बदल्नैपर्छ । यसका लागि पहिलो त नेता नै बदलिनुपर्यो ।
अहिले व्यवस्थामाथि प्रश्न उठेको छ भन्छन्, तर यो सबै प्रश्नहरुको एकमुष्ठ उत्तर के हो भने आजका निश्चित नेतामाथिको प्रश्न हो यो । तिनीहरुले अपनाएको विधिमाथिको प्रश्न हो । हामी आज चुकेको जवाफदेहिता र पारदर्शितामा हो नि त ! आन्दोलन सफल हुँदा म कति उत्साहित थिएँ । हामी सबैले क्षमताअनुसारकै काम नपाए पनि केही न केही त पाउँछौं होला भन्ने लागेको थियो । हाम्रो मुलुक गरिब हो, सानो हो भनेर पढेका थियौं, तर हाम्रो मुलुक गरिब पनि होइन रहेछ । भूगोलको हिसाबले सानो पनि होइन रहेछ । गरिबी त हामी ज्ञानमा मात्रै रहेछौं ।
अहिले नेताहरुले ‘हामीले गणतन्त्र ल्यायौं’ भन्नुहुन्छ । उहाँहरुले नेतृत्व गर्नुभयो, त्यसमा मेरो सम्मान नै छ, तर गणतन्त्र ल्याउन जनताले दिएको साथ र समर्थनको मूल्य चाहिँ कहाँ रह्यो त ?
अहिले देशको नेतृत्व गरिरहेको पुस्तासँग व्यक्तिगत रुपमा मेरो केही गुनासो छैन । उहाँहरुले जति गर्न सक्नुहुन्थ्यो, गर्नुभयो, तर दोस्रो पुस्ताको राजनीतिक चेतनाको बन्ध्याकरण चाहिँ के कारणले भएको रहेछ भनेर म खोजिरहेकी छु । न उहाँहरु नेताको कमजोरीका विरुद्ध बोल्नुहुन्छ न त बाटो बिराएकोबारे । राजनीतिमा कुनै न कुनै पोल त समात्नुपर्यो नि, बीचमा बस्न पाइँदैन ।
पार्टी नेतृत्वले लिएको गलत निर्णयको विरोध गर्दा तपाईंले नै कारबाही भोग्नुभयो हैन त ?
मेरो पार्टीमा मात्रै होइन, कांग्रेस, माओवादीमा समस्या छ कि छैन ? अवश्य छ । केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाले नेतृत्व गरेको पार्टीमा संकट छ । अनि आफैं संकटग्रस्त पार्टीले देशको संकटबारे कुरा गर्न सुहाउँछ कि सुहाउँदैन ? समाधान दिन्छ कि दिँदैन ? वस्तुगत भएर भन्दा त दिँदैन नि ! समस्याग्रस्त पार्टीले देशको समस्याको निचोड दिँदैन ।
एमालेमा कस्तो भाष्य छ भने एमाले भएर एमालेको विरोध गर्ने भन्छन् । मैले पार्टीको कल्याणकै लागि बोल्न पाउनुपर्छ नि त, र पो संगठनमा छु जस्तो लाग्छ । अब बोल्नै नपाउने हो भने त संगठन किन चाहिन्छ ? गलत निर्णयविरुद्ध बोल्दा कारबाहीमा परिन्छ भने उक्त पार्टीप्रति जनताको विश्वास कहाँ रहन्छ ?
नेताको कुन कुरा ठिक, कुन कुरा बेठिक र असहमति राख्दा कसरी र कहाँ राख्ने पनि थाहै नपाउने नेतृ पनि के नेतृ ? ओलिको विरोध जे विषयमा गरे पनि जसले गरे पनि त्यसलाई हिरो बनाईदिने छन् केही दलाल मिडिया र दिल्लीका भाडाका टट्टुहरू । तिनकै हाईहाईमा लागेर उकासियर विरोध गर्दैमा ठूली भईन्छ ?