दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन: देव गुरुङ

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् ।
आज यहाँ आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्तित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए ।
महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढ्दै गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए ।
‘माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौं । पार्टीलाई बलियो बनाउन लागौं’, उनले भने ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले आआफ्नो धारणा राखेका थिए ।
बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिए ।