नेपाल आहारपूरक सौन्दर्यबर्द्धक संघको प्रदेश समिति विस्तार – Nepal Press

नेपाल आहारपूरक सौन्दर्यबर्द्धक संघको प्रदेश समिति विस्तार

काठमाडौं । नेपाल आहारपूरक सौन्दर्यबर्द्धक संघ (एनएनसीए)ले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बागमती प्रदेश विस्तार गरिएको हो ।

विनोद पौडेलको अध्यक्षतामा १७ सदस्यीय संघको बागमती प्रदेश समिति बनाइएको छ । जसमा वरिष्ठ उपाध्यक्ष बालकृष्ण पौडेल, उपाध्यक्ष अमित सिन्हा, सञ्जीव रोय, महासचिव कृष्ण अधिकारी, सचिव सुमन शंकर, कोषाध्यक्ष मीन रिमाल र सहकोषाध्यक्ष वसन्त थापा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा गीता गौतम (सामना), सृष्टि बन, सरोज चालिसे, सरोज सापकोटा, प्रशुनराज उपाध्याय, रमेश पौडेल, सन्तोष सुवेदी, अरुण महर्जन र समीरकाजी श्रेष्ठ रहेका छन् ।

सरोकारवालाहरुले कानूनभित्र रहेर गरिएका व्यापार व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरेको कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरुले व्यवसायिक सुरक्षा र चुनौतीका विषयहरु के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताए ।

छलफलले व्यवसाय गर्दाखेरिका चुनौती, व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु स्पष्ट हुने उनको भनाइ छ ।

‘कानूनी परिधिभित्र रहेर र तोकिएका शर्तको पालना गर्नेगरी व्यापार व्यवसाय गर्न पाइन्छ । त्यसमा कसैले पनि अवरोध गर्न हुँदैन । कहीँकतै भइरेको छ भन्ने गुनासो छ । त्यो गुनासो पनि आगामी दिनमा सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर समाधान गर्न सकिन्छ’, उनले भने ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतै पनि दर्ता नभई र गुणस्तरको बारेमा कहीँ पनि परीक्षण नगरी बिक्री वितरण गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्ने बताए ।

उनले विभागले उनीहरुको सामान जफत गर्नेदेखि जरिबाना तिराउनेसम्मको निर्णय लिनसक्ने बताए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरुले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताए । व्यवसायीहरुले पनि पारदर्शी हिसाबले काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा एनएनसीएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले कानून सम्बद्ध व्यापार गर्ने वतावारण बनाउन सरकारको योजना प्रस्ट हुनुपर्ने उल्लेख गरे ।

‘सरकारको एउटा निकायले दर्ता दिने अर्को निकायले नचिन्ने गर्न हुँदैन’, अध्यक्ष रञ्जितले भने, ‘खाद्य विभागले अनुमति दिएर व्यवसाय सुरु गरेका आहारपूरक र सौन्दर्य सामग्रीमा औषधि व्यवस्था विभागले सहजीकरण गर्नुपर्छ ।’

संघका महासचिव सुरज पौडेलले आमनागरिकका लागि आवश्यक बन्दै गरेको आहारपूरक फुड सप्लिमेन्टबारे नागरिक तहमा बुझाउन आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *