हेटौंडा आएर लिङदेनले खारेज गरिदिए कमल थापाको एकीकरण प्रस्ताव – Nepal Press

हेटौंडा आएर लिङदेनले खारेज गरिदिए कमल थापाको एकीकरण प्रस्ताव

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको कोहीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । राप्रपाबाट विभाजन गरेर निर्माण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राप्रपाका अध्यक्ष लिङदेनले चाहे एक हप्तामा दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएकोमा अध्यक्ष लिङदेनले थापाको प्रस्ताव खारेज गरिदिएका हुन् ।

थापाकै गृहनगर हेटौंडा आएर लिङदेनले अहिलेको अवस्थामा राप्रपा कुनै दलसँग एकीकरण गर्ने अवस्थामा नरहेको स्पष्ट पारेका हुन् ।

हेटौंडामा भएको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ । अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन ।’

पहिले पहिले राप्रपामा कोही सूर्यबहादुर पक्ष, कोही लोकेन्द्रबहादुर चन्द पक्ष हुने गरेको भन्दै अध्यक्ष लिङदेनले भने, ‘त्यसपछि कोही जबरा पक्ष, कोही थापा पक्ष भए, तर अहिले राप्रपामा सबै राप्रपा पक्षमात्र छन् ।’

एकीकरणभन्दा राप्रपासँग विचार मिल्नेहरुलाई पार्टीमा स्थान दिने नीति रहेको उनले बताए ।

राप्रपाले मात्र देशको रक्षा गर्नसक्ने र विकासको अजेन्डामा सक्रिय ढ्ङ्गबाट काम गर्न सक्ने ठोकुवा गर्दै लिङदेनले अब गाउँगाउँमा संगठन विस्तारमा नेता कार्यकर्ता लाग्नपर्ने बताए ।

उनले भने, ‘अब हामी दिनरात नभनी संगठन निर्माणमा लाग्नुको कुनै विकल्प छैन, हाम्रो दिमागमा अगाडिपछाडि, दिनरात संगठन विस्तारको अभियान हुनुपर्दछ ।’

बलियो संगठन नभै राप्रपाले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने बताउँदै उनले बजारमा छरिएको भ्रमको पछि नलाग्दै बलियो राप्रपा निर्माण अभियानमा जोडिन अनुरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर