बाँडिचुँडी खान पल्केका कांग्रेस-एमालेलाई कुलमानले प्राधिकरणलाई नाफा पुर्याएको मन परेको छैन: प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले मिलेपछि जनताको पक्षमा काम गर्नेहरुमाथि जालझेल र षड्यन्त्र गर्ने काम भइरहेको बताए ।
मोरङ जिल्लाको ग्रामथानमा पुगेका प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट पारे ।
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै उनले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन, बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गरे ।
प्रचण्डले भने, ‘मैले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भयो । त्यतिबेला कांग्रेसकै वरिष्ठ नेताहरुले पनि उहाँलाई देशकै सम्पत्ति हो भन्थे । अहिले उहाँलाई दिनदिनै सताएको छ । अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेको यही होइन त ! उहाँले घाटामा गएको प्राधिकरणलाई झण्डै ५० अर्ब नाफामा पुर्याउनुभयो । त्यो सह्य भएको छैन दलालहरुलाई । उनीहरु त त्यो बाँडिचुँडी खानेवाला थिए । नपाएपछि अहिले कुलमानको विरुद्ध लागेका छन् ।’
आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उनले दाबी गरे ।
उनले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन, राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौंदेखि रोकिएका शिक्षा ऐन, निजामती ऐन जस्ता कानून निर्माणलाई अगाडि बढाउनेलगायतका महत्वपूर्ण काम अघि बढाइएको पनि बताए ।
कुलमानले फ्याकेको जुठो खान पल्केका माओवादी कुलमान हटलान र खान नपाईएला भन्नेमा चिन्तित छन् ।