प्रचण्डको दाबी- आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ – Nepal Press

प्रचण्डको दाबी- आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका- ५ तेतेरियामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो पालिका बनाएको बताए ।

उनले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’

केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको प्रचण्डले बताए ।

उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

प्रचण्डले थपे, ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं । त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउनेछौं, हामी धेरै कुरा सम्झेर तपाइईंहरुसमक्ष आएका छौं, तपाईंहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर