कार्साङ: शेर्पा समुदायमाथि भद्दा मजाक

पछिल्लो समय विभिन्न जनजातिको पहिचानमा आधरित चलचित्रहरु तीव्र रुपमा बनिरहेका छन् । विशेष गरेर दोस्रो जनआन्दोलनपछि उत्पीडित, सीमान्तकृत समुदायको सांस्कृतिक, राजनीतिक र सामाजिक पक्षहरुलाई केन्द्रमा राखेर बनाइएका चलचित्रहरु बनिरहेका छन् ।
ती चलचित्रहरुले जनजातिको मुद्दालाई मात्रै मूलधारमा स्थापित गरिरहेका छैनन्, जनजाति कलाकारहरुलाई पनि स्थापित गरिरहेका छन् । त्यसैको एक उदाहरण हो, दयाहाङ राई । राईले प्रधान भूमिका पाउने प्रायः चलचित्रहरु आदिवासीहरुको जीवनशैली र गाउँले परिवेशमै निर्माण भएका हुन्छन् ।
‘जारी’, ‘गाउँ आएको बाटो’, ‘नांगो गाउँ’ लगायत जनजातिको मुद्दामा बनेकैले राईले मुख्य भूमिका पाएका हुन् भन्दा अन्य अर्थ नलाग्ला । हुन तः अभिनेता राईले अन्य कयौं चलचित्रमा सफल अभिनय गरिसकेका छन् । राईको प्रधान भूमिका भएको चलचित्र बजारमा आयो ‘कार्साङ !’
पर्यटन, पैसा र प्रतिष्ठाका पछाडि दौडिरहेका शेर्पा समुदायमा छिरिङ रितार शेर्पासहित औंलामा गन्न सकिने बाहेक केहीले मात्र रंग क्षेत्रमा हात हालेका छन् । निर्देशनको भूमिकामा यसरी हाम फालेका एक पात्र हुन् ‘एम शेर्पा ।’
विषयवस्तुको गहिराई, समाजको बारेमा अध्ययन र एउटा जातिमाथि विश्लेषण गरेर चलचित्र निर्माण गर्न खुट्टा टेक्दै गर्दा निर्देशक ‘एम’ले कति अध्ययन, चिन्तन, खोज गरे भन्ने कुरा चलिचत्र हेरेपछि थाहा हुन्छ । उनले ‘शेर्पा संस्कृतिमा आधारित’ भनेर चलचित्रको जति नै प्रचार गरे पनि एकदमै सतही ज्ञानको जगमा निर्माण भएको चलचित्र हो ‘कार्साङ’ ।
शेर्पा समुदायः
हिमाली भूगोलमा बसोबास गर्ने शेर्पा समुदाय १ लाख ३० हजारको हाराहारीमा छन् । नेपाल शेर्पा संघले २०७८ सालको जनगणनाअघि आक्रमक रुपमा विभिन्न अभियानहरु सञ्चालन गरेर यति जनसंख्या किटान भएको हो । संघले शेर्पाको जनसंख्या पाँच लाख छ भनी दाबी गरिराखेको छ ।
२०६८ को जनगणनामा शेर्पाको जनसंख्या १ लाख १२ हजार थियो । यदि अभियान नचालेको भए ०७८ मा शेर्पाको जनसंख्या लाख भन्दा तल झथ्र्यो । ०६८ को जनगणनाबाट आएको विवरणलाई संघले मिथ्याङ्क नै घोषणा गरेर सचेतना अभियान चलाएको थियो ।
यद्यपी, शेर्पा समुदाय अल्पसंख्यकमा गनिएको छ । थोरै जनसंख्या, पछाडि पारिएको जातिको रुपमा रहे पनि शेर्पा समुदायले विभिन्न चरणमा कार्साङसहित ४ वटा चलचित्र पाइसकेको छ । कयौं लघुचलचित्रहरु पनि शेर्पाको जीवनमाथि बनेका छन् । भाषिक, सांस्कृतिक रुपमा बनेका चलचित्रहरुमा ‘खाङरी’, ‘कुसुम’ र ‘टिन्छेनफामा’ हुन् । शेर्पा समुदायमै पनि अल्पसंख्यक बोन धर्मको प्रतिनिधित्व गर्ने गरी बनेको चलचित्र हो, ‘कार्साङ’ ।
बोन धर्मको अवशेष र कार्साङ
पूर्वी हिमाली आदिवासीहरु र शेर्पा समुदाय बोन धर्म मान्दथे । बोन धर्म क्रमशः लोप हुँदै गएपछि बौद्ध धर्मले स्वरुप लियो । अर्को अध्ययनले बौद्ध धर्मभित्रकै एउटा भाग नै बोन धर्म हो भनेर दाबी पनि गरेको छ ।
बोन अनुष्ठानहरूमा देवता र आत्माहरूलाई बलिदान र मन्त्रहरू अर्पण गर्नु सामान्य हुन् भनि परिभाषित गरिएको छ । ध्यान गर्ने अभ्यास, दिव्य प्राणीहरूको कल्पना गर्ने र उनीहरूसँग कुराकानी गर्नु उदाहरणको रुपमा लिन सकिन्छ ।
बोन धर्ममा रोगको निदान र उपचार गर्ने तरिकाहरू जस्तैः भविष्यवाणी, जडीबुटी र मन्त्र पठन पनि पर्दछन् । शामनहरूले शारीरिक रोगहरू बाहेक आध्यात्मिक सल्लाह र उपचार प्रदान गर्ने बोन धर्मभित्र प्रचलन छ । तान्त्रिक अनुष्ठानहरूमा मण्डलाहरू कोर्ने र मन्त्रहरू जप गरिन्छ ।
जन्म, विवाह, अन्त्येष्टि लगायतमा बोनपो पुजारीहरूमार्फत कार्य सम्पन्न गर्ने, बोनपोहरूले रोग निको पार्ने, भविष्य बताउने, वास्तु बताउने वा शमनको रूपमा पनि काम गर्ने चलन कार्साङमा देखाइएको छ । त्यसलाई बोन धर्मको अवशेषको रुपमा लिन सकिन्छ । तथापी, बोन धर्मको अस्तित्व शेर्पा जातिमा मात्रै सिमित भने छैन ।
कथासारः
एउटा पारिवारिक कथाबाट शुरु हुने चलचित्रको नाम ‘कार्साङ’ सेतो बोकासँग गाँसेर राखिन्छ भन्ने कुनै पनि दर्शकले कल्पना पनि गरेको हुँदैन । मध्यान्तरमा चलचित्रको नाम घोषणा हुँदा बोका पात्रको नामबाट चलचित्रको सम्पूर्ण कथा अघि बढेको बल्ल थाहा हुन्छ ।
एउटा किसानी परिवारले जीविकोपार्जनको प्रमुख माध्यम खेतीपाती र पशुपालनलाई बनाएको हुन्छ । त्यो परिवारभित्रकै प्रमुख व्यक्ति समाजको प्रतिष्ठित ‘नामी’ बोन्पो ‘झाँक्री’ पनि हुन्छ । त्यही झाँक्रीको भूमिकामा अभिनेता दयाहाङ राई छन् । दयाको परिवारका सदस्यमा श्रीमती र छोरा हुन्छन् । छोराको बाल्यकालदेखि कै साथी हुन्छ ‘कार्साङ’ अर्थात उही सेतो बोका !
बोकाको बलि दिएर पूजा गर्नुपर्ने परम्पराले परिवारमा दबाब थपिन्छ । बोका पूजा नगरी विवाह, न्वारन लगायतका कुनै संस्कार हुँदैन । बोकाकै कारण सबै संस्कारिक कुराहरु रोकिन्छ । यता छोराको जिद्दीका कारणले बोकालाई बलि दिइँदैन । बोका लुकाइन्छ, छिपाइन्छ, अनेक तानाबाना बुनिन्छ । र, अन्ततः बोकालाई लिएर दयाको परिवार गाउँ छोडेर जान्छ ।
आफ्नै हात जगन्नाथः
शेर्पा समुदायको भनेर प्रचार गरिएको चलचित्रले उठान गर्न खोजेको विषय शेर्पा समुदायको जातीय, भाषिक, सांस्कृतिक उत्पीडनसँग जोडिएको हुनुपथ्र्यो । तर, सिन्धुपाल्चोकको बोन धर्म मान्ने समुदाय बसोवास गर्ने एक शेर्पा गाउँको रहनसहनमा मात्रै यो चलचित्र सीमित भएको छ ।
शेर्पाको कथा नवितम् हुने भएकाले निर्देशकले ‘शेर्पा संस्कृतिमा आधारित’ भनेरै प्रचार गरे पनि चलचित्रले बाटो बिराएको छ । विश्वभर छरिएर रहेका र मूल प्रवाहीकरणमा रहेका शेर्पाको संस्कृतिलाई चटक्कै भुलेर सिमित गाउँलाई नै सिंगो शेर्पा समुदायको प्रतिनिधित्व गराए । यसबाट शान्तिका प्रतिक बुद्धका अनुयायी शेर्पा समुदाय स्तब्ध बनेको छ । कतिपय संघसंस्थाहरुले औपचारिक रुपमै चलचित्रको कथालाई लिएर विरोध जनाइरहेका छन् ।
शेर्पा समुदायमा भाषा समानान्तर भए पनि प्रयोग गर्ने शैली (लवज) भूगोल अनुसार केही फरक छ । तर, चलचित्रमा प्रयोग भएका भाषाहरु खास शेर्पा भाषासँग मेल नै खाँदैनन् । भेगीय हिसाबले शेर्पा जातिले यर्सा क्षेत्रमा यस्ता भाषा प्रयोग गर्ने गरे पनि बहुसंख्याकले प्रयोग गरेको भेटिँदैन ।
अर्कोतर्फ चलचित्रमा दर्शकलाई टिकाउनका लागि प्रयोग गरेका भ्लगर शब्दहरुले शेर्पाहरु छाडा बोल्छन्, उनीहरुको समाजमा छाडापन बढ्ता देखिन्छ भन्ने सन्देश गएको देखिन्छ ।
बौद्धमार्गी शेर्पा र शान्तिको बाटो :
जन्म, विवाह, मृत्यु वा कुनै पनि संस्कारमा शेर्पा जातिले खास मासुजन्य वस्तु सेवन गर्दैनन् । तर, पछिल्लो समय आधुनिकताले छोएसँगै बजारबाट मासुजन्य वस्तु ल्याएर प्रयोग गर्ने चलन बढ्दो छ । तैपनि कार्साङमा देखाएजस्तो पशु बली नै चढाउने र रक्तमुछेल नै बनाइ हाल्नुपर्ने खाले परम्परा भने छँदै छैन ।
शेर्पाहरु विशेष गरी शाकाहारी बन्न रुचाउँछन् । मासुजन्य वस्तु सेवन गर्नु परे पनि शरीरको सम्पूर्ण अंग मृतप्रायः भएपछि मात्रै भोग गर्ने चलन छ । अर्थात, २४ घण्टासम्म मारिएका पशुहरुको शरीरका अन्य अंग, नशाहरु चलयमान हुन्छ भन्ने मान्यता छ ।
शेर्पाहरुले आफ्नो घरमा काटमार गर्दैनन् । घरभित्र पशुजन्य बस्तुका रौं, भुत्ला र प्वाँखहरु जलाउँदैनन् । शेर्पाहरु विशेष गरी शान्ति प्रेमी, दयालु, लजालु र मनकारी हुने भएकाले पनि यस्तो अभ्यास गरेका हुन्छन् ।
कार्साङले भुलेका पाटाहरु
चलचित्रलाई शेर्पा जाति विशेष भनिसकेपछि त्यसमा बहुसंख्यक शेर्पाहरुले परम्परागत रुपमा अंगाल्दै आएका विषयलाई नै जोड दिनुपर्दथ्यो । जन्म, विवाह र मृत्यु जस्ता मूल विषयलाई एकिकृत गर्दै परिस्कृत ढंगले चलचित्र अघि बढ्नुपर्नेमा कार्साङ एउटा टोलमा सिमित देखियो ।
शेर्पाहरुको पहिरन विश्वमा नै लोभलाग्दो छ भन्ने भाष्य निर्माण भइसकेको अवस्थामा चलचित्रमा जम्माजम्मी एक जना पात्रले मात्रै आङ्गी (महिलाले लगाउने विशेष प्रकारको लुगा, बख्खु) लगाएको देखिन्छ । मूल पूजारी, काका लगायत कोही कसैले पनि शेर्पाको पहिचान दिने पहिरन लगाएको देखिँदैन । शेर्पाहरुले परम्परागत रुपमा प्रयोग गर्ने लुगाफाटाहरु नदेखिनु र एक जनाले मात्रै बख्खु लगाएर चलचित्रको समय सकिनु चलचित्रको दुःख हो ।
चलचित्रले शेर्पाको श्याब्रु, नादिङ, पेजाँङ (सुत्केरीका लागि औषधी) जन्मेपछि मिन्जाङ (न्वारान अर्थात जन्म), टिजाङ (सोधनी) लगायत प्याच्याङ, सुर्जाङ, दुर्जाङ, सिल्जाङ लगायतका विषयहरु भुलेको देखिन्छ । शेर्पाहरुको परम्परागत घरहरुको बनोट फरक तवरको छ । चलचित्रमा देखाएका दृश्यहरु शेर्पा बसोवास गर्ने थातथलोसँग अलिकति पनि मेल खाँदैनन् ।
मातृसत्ता नै शान्तिको पर्यायः
शेर्पा लगायत आदिवासी समुदाय विशेष गरी मातृसत्तालाई नै सम्मान गरिराखेका हुन्छन् । घरमूलि अर्थात् आमाको निर्देशन पालना गर्ने र आम नारीको सम्मान गर्ने संस्कार शेर्पाहरुमा कायमै छ । आमाहरु सहनशील र शान्तिप्रेमी हुने भएरै शेर्पाहरु बौद्धमार्गी भएका हुन् भन्दा अतिशयोक्ति हुँदैन ।
‘जहाँ नारी त्यहाँ शान्ति’ भने झैं शेर्पा परिवारमा झै–झगडा, कलह कमै हुन्छन् । तर, चलचित्र कार्साङमा सिंगै गाउँ नै घर झगडा र अशान्तिले प्रताडित भएको देखाइन्छ । जितु र दियाबीचको कयौं संवाद, दया र सिर्जनाको अँगेनु वरिपरिको झगडा त्यसका पर्याय हुन् । चलचित्रले समाजलाई रुपान्तरण र सिर्जनशील बनाउन योगदान गर्नुपर्ने हो तर यसखाले दृश्यले समाजलाई उँधोगतितिर उन्मूख गराउँदै अशान्ति र अराजकतालाई बढवा दिन खोजेको देखिन्छ ।
पहिचानसँगै अब नाक जोगाऔं
आङ्गी (बख्खु), कानमा हार लगायतका आभुषणहरु, दोचा लगाएर काँधमा काँध र हातमा हात मिलाएर एक तालले सुर मिलाउँदै नाचेर एकता र सद्भाव दर्शाउने श्याब्रु, शत्रुवर्ग विरुद्ध शासकीय दृष्टिले बाटो पहिल्याउने नृत्य जस्तै विभिन्न बैदिक मान्यता अनुसार वा कुनै पनि प्रकारका बाधा अड्चनविरुद्ध कलाको माध्यमबाट परास्त गर्दै पहिचान स्थापित गर्नुपर्छ भन्ने मान्यता बोक्ने शिलीमार्फत बोलिने हजार शब्दलाई नजरअन्दाज गरेर फगत प्रचारवाजीमा अगाडि बढेको छ चलचित्र ।
चलचित्रले उठान गर्न खोजको विषयले खास निचोड नआउँदै पदीय दायित्वमा रहेकाहरुबीच नै लेनदेनका कुरा हुनु कदापी राम्रो होइन । नराम्राहरुकै बीचबाट राम्रो खोज्ने प्रयत्न हामीले गर्नै पर्छं । चलचित्र कार्साङलाई शेर्पाकै हो भन्ने दाबी, होइन भन्ने आरोप र हुँदै होइन भन्नेहरुबीच ठूलो मतान्तर हुँदै गएको देखिन्छ ।
त्यस्तै, विषयको गहिराइमा नपुगी सतहीमा विश्लेषण गर्ने र समुदाय वा निर्धारित समाजलाई विभक्त बनाउने चेष्ट कदापी राम्रो होइन । चलचित्रको मुख पृष्ठको विषयमा निर्माताले माफीसहित सच्याउने काम गरेका छन् । व्यक्तिगत लेनदेन, साइनो सम्वन्धसँग सिंगो जातीको अस्तित्व र मान्यताहरुको लेनदेन गर्नु उचित हुँदैन । यसमा तत्कालै माफी माग्ने, दिने र दिलाउने हैसियतमा हामी कोही छैनौं । त्यसको ठेक्का पनि लिन सकिँदैन ।
निचोड
चलचित्रले एउटा बोन धर्म मान्ने गाउँको प्रतिनिधित्व गर्दछ भन्नेमा फरक मत रहेन । तर, चलचित्रको समग्र पाटोलाई नजरअन्दाज गरेर शेर्पाकै हो भनेर हवाला दिने र शेर्पाको हुँदै होइन भनेर झ्याली पिट्ने दुबै समाजका लागि घातक हुन् ।
चलचित्रले आम शेर्पाको प्रतिनिधित्व गर्दैन । तथापी शेर्पा नाम जोडिएसँगै नयाँ शिराबाट बहस, विषय उठान गर्न सजिलो भएको छ । चलचित्रका कतिपय विषयहरु काल्पनिक नै हुन्छन् तर, कार्साङ चलचित्र निर्माण हुँदै गर्दा यसले भविष्यमा पार्न सक्ने प्रभाव र भावि पीढीलाई दिने सन्देशबारे अलिकति पनि ख्याल गरेको देखिएन । समाजको ऐनाको रुपमा हेरिने चलचित्रले एउटा जातिको अस्तित्वमाथि खेलवाड गर्नु भद्दा मजाक बाहेक अरु हुन सक्दैन ।
कार्साङ चलचित्र निर्माणको परिकल्पना पूर्व शेर्पा समुदायका विज्ञ, संस्कृतिका जानकारहरुसँग र सिंगो समुदायमा व्यापक छलफल र बहस हुनुपर्दथ्यो । त्यसो हुन सकेको भए निर्माता समूह अहिलेको उल्झनमा फस्न पर्दैन थियो । चलचित्रमा अभिनेता राईसहित हास्यकलाकार जितु नेपाल, सिर्जना लिङ्लेखु, दिया मास्के, कर्मा शेर्पालगायतको अभिनय छ ।
(लेखकः नेपाल शेर्पा संघका केन्द्रीय सचिव हुन् ।)
Right
अब शेर्पाहरू ले पुरानो बोन परम्परा अंगाल्नु पर्छ। बौद्द धर्म त पछि आएको हो। साथै सबै शेर्पा हरू बौद्द धर्मामलम्बी हुन् भन्ने भाष्य र एकाधिकार लाइ तोडेको छ । शेर्पाहरू शाकाहारी हुन् पशुको मासु खादैनन् काटमार हुदैन भन्नु चाही झुट हो ।
कार्साङ बन्नाले के बुजिन्छ शेर्पा भासा मा कार्साङ को अर्थ के हो ?