जंगलमा लगेर गोली हानी साथीको हत्या, रूखबाट लडेर मृत्यु भएकाे भन्दै दाहसंस्कार गर्ने तयारी

दाङ । जिंगटको रूखबाट खसेर मृत्यु भएको भनिएका दंगीशरण २ कौवाघारीका प्रेमलाल कुसारीको गोली हत्या भएको खुलेको छ ।
माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए ।
खुट्टाको घुँडा र साप्रोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । त्यहाँ चिकित्सकले कुसारीलाई मृत घोषणा गरेका थिए । गएराति शव घर ल्याएर राति नै उनको दाहसंस्कार गर्ने तयारी थियो ।
तर, छिमेकीले कुसारीलाई गोली हानिएको सुचना लिक गरेपछि दाहसंस्कार रोकिएको थियो । प्रहरी गएराति नै मृतकको घरमा पुगेर अनुसन्धान थालेको छ ।
प्रहरी स्रोतका अनुसार केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् ।
उनीसँग सँगै जंगल गएका छविलाल डांगी र पुष्प बस्नेत फरार छन् । छिमेकीका अनुसार तीनै जनाले संगै मदिरा सेवन गरेका थिए भने पुष्प र छविलालले कुसारीलाई घट्टेखोला जंगलमा लगेका थिए । घटना स्थल दंगीशरण २ कै घट्टेकुला वन क्षेत्र हो ।
जिप्रका दाङ,इप्रका तुलसीपुर र इप्रका खिलतपुरको संयुक्त टोली घटनास्थल पुगेर हतियारको खोजतलास गरिरहेको छ । दाङका एसपी अर्जुन तिमिल्सिना समेत आज बिहानै घटनास्थल पुगेका छन् ।
घटनाको गम्भीर अनुसन्धान भइरहेको एसपी तिमिल्सिनाले बताए । मृतकको शव अहिले पोष्टमार्टमकालागि भेरी अस्पताल बाँके पठाइएको छ ।