तोकिएको समयमै फास्ट ट्र्याक बनिसक्ने सम्भावना कति ? यस्ताे छ प्रगति

हेटौँडा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण तोकिएको अवधिमा सम्पन्न हुने सम्भावना न्यून बन्दै गएको छ ।
नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएर निर्माण सुरु गरेको सात वर्षको अवधिमा अहिलेसम्म ३७.६० प्रतिशत मात्र निर्माणको काम सकिनुले फास्ट ट्र्याक निर्माण तोकिएको अवधिमा सम्पन्न हुने सम्भावना न्यून बनेको हो ।
सरकारको २०८० वैशाख ५ को मन्त्रिपरिषद् बैठकले २०८३ चैतसम्ममा फास्ट ट्र्याक निर्माण सम्पन्न गरिसक्ने निर्णय गरिएको थियो । तर, हालसम्म एक तिहाई मात्र काम सम्पन्न भएको कारण यो राष्ट्रिय गौरवको आयोजना समयपनि पुनः समय थप गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ ।
बाराको निजगढबाट काठमाडौंसम्म कुल ७०.९७७ किलोमिटर रहेको फास्ट ट्र्याकमा हालसम्म ६.५ किलोमिटर क्षेत्रको कुनै ठेक्का समेत नहुँदा ललितपुर क्षेत्रको खोकना क्षेत्रमा काम सुरु हुन समेत सकेको छैन । यस बाहेक ६४.४७७ किमिको क्षेत्रमा भने काम जारी रहेको छ ।
२ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ निर्माण लागत रहेको फास्ट ट्र्याकमा हालसम्म ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको नेपाली सेनाले तथ्यांक दिएको छ । २०७४ साल जेठबाट नेपाली सेनाको व्यवस्थापनमा काम भैरहेको द्रुतमार्गको सुरुङ निर्माण र पछिल्लो समय पुल निर्माणको कामले भने तीब्रता पाएको देखिन्छ ।
७ सुरुङ, ८९ पुल निर्माणको के छ अवस्था
नेपाली सेनाको अनुसार द्रुतमार्गको कुल क्षेत्रफलमा १०.१३ किलोमिटरका सातवटा सुरुङमार्ग निर्माण हुनेछन् । जसमध्ये मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत ११ र १२ नम्बर वडामा रहेको सुरुङमार्ग लेनडाँडा र धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ ।
भने, महादेवटार सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । अन्य सुरुङहरु मध्ये एक किलोमिटरको देवीचौर, ३९० मिटर दूरीको सिसौटार सुरुङमार्ग डिजाइनका क्रममा छ । गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ५८३ मिटरको मौरीभीर सुरुङ थपिएको छ । यो पनि निर्माणको क्रममा रहेको छ ।
द्रुतमार्गमा रहेको ८९ पुलमध्ये हालसम्म ५ वटा पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ भने अन्य पुलहरु निर्माणको क्रममा रहेको सेनाको तथ्यांकमा उल्लेख छ । मकवानपुर बकैया गाउँपालिकामा पर्ने राजदमार क्षेत्रमा ५ पुलको निर्माण सकिए सेनाले जनाएको छ ।
अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न पुलको फाउन्डेसन तथा सब स्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको छ । ८९ मध्य चारवटा पुल जग्ग विवाद रहेको ललितपुरको खोकना क्षेत्रमा पर्ने भएको कारण उक्त पुलको कुनैपनि काम सुरु हुन नसकेको सेनाको भनाई रहेको छ ।
खोकना–बुङ्मती खण्डको २ सय ११ रोपनी जग्गा अझै अधिग्रहण हुन नसक्दा पुल तथा सडक निर्माण कार्यले गति लिन नसकेको हो ।
राष्ट्रपति पौडेलको चासो
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको द्रुत निर्माणको पछिल्लो प्रगति विवरण लिनको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बकैया स्थित ब्रेक थ्रु गरिएको लेनडाँडा सुरुङमार्ग क्षेत्रमा आए ।
उनले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिए । उनले आधुनिक विकासको नमुनाको रुपमा रहेको योजना भएको भन्दै समयमानै सम्पन्न गर्न सेनालाई निर्देशन समेत दिएका छन् । जग्गा विवादको विषयलाई सरकारले चाँडै हल गर्ने राष्ट्रपतिले विश्वास पनि लिएको सेनाको भनाई छ ।
द्रुतमार्ग निर्माणपछि नेपालको सडकपनि अन्तराष्ट्रिय स्तरको हुने, देश सुरुङमार्गको युगमा प्रवेश गर्ने राष्ट्रपति पौडेलले बताएका थिए । देशको गौरवको योजना भएको कारण पनि समयमानै काम सकेर उदारणीय कामको नमुना पेश गर्न उनले सेनालाई निर्देशन समेत दिएका थिए ।
यसैबीच सेनाले यो क्षेत्रमा हालसम्म ३६ हजार १ सय ७९ वटा विभिन्न प्रजातिका रूख कटान गरिएको र कटान गरिएको क्षेत्रमा हालसम्म ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोपिएको राष्ट्रपतिलाई विवरण पेश गरेको छ ।
बाधाहरू सबै हटाईदिने अनि ठेकेदारलाई फटाफट काम गर भन्ने । अलिकति नभ्याएमा थपिदिने । म्याद थपको रोईलो किन ? खोकनामा ठाउँ क्लियर आफू गरिदिनु छैन । दोष ठेकेदारलाई लगाएर मात्र हुन्छ ?