मधेश आन्दोलनका प्रथम शहीद रमेशको सम्झना- नेताहरु सत्तामुखी बने, शहीदको सपना अधुरै – Nepal Press

मधेश आन्दोलनका प्रथम शहीद रमेशको सम्झना- नेताहरु सत्तामुखी बने, शहीदको सपना अधुरै

जनकपुरधाम । मधेश आन्दोलनको पहिलो शहीद रमेश महतोको सम्झनामा मधेश केन्द्रीत दलहरुले आज १८ औं ‘बलिदानी दिवस’ मनाउँदैछ । आजकै दिन (२०६३ माघ ५ मा) पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा महतो शहीद भएका थिए ।

लहानस्थित पूर्वपश्चिम राजमार्गमै पहिलो शहीद महतोसहितको शालिक निर्माण गरिएको छ । त्यहाँ हरेक वर्ष मधेश केन्द्रीत दलहरुका नेताहरु पुगेर माल्यार्पण गर्छन् । आज जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि शहीद महतोको शालिकमा माल्यार्पण गर्न पुगेका छन् ।

जसपा नेपालले सिरहा सदरमुकाममा ‘बलिदानी दिवस’ समारोहको आयोजना गरेको छ । जनमत पार्टीले हरेक वडामा बलिदानी दिवस मनाइँदैछ । जनमतका अध्यक्ष डा. सीके राउत र मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह जनकपुरधामस्थित शहीद गेटमा पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

यसरी सुरु भएको थियो मधेश आन्दोलन, अनि मारिए रमेश

दोस्रो जनआन्दोलनको सफलतापछि ०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो । उक्त संविधानप्रति तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विमती जनाए । यादवको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा माघ ३ मा अन्तरिम संविधान जलाइयो ।

त्यतिबेला यादवसहितका केही नेता पक्राउ परेका थिए । उनीहरुमाथि सार्वजनिक अपराध मुद्दा चलाउने तयारी भइरहँदा मधेशका जिल्लाहरुमा आन्दोलन सुरु भयो । ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारियो ।

लहानमा कृष्णबहादुर यादव (निधन भइसकेका)को नेतृत्वमा राजमार्ग केन्द्रीत आन्दोलन सुरु भएको थियो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीका जनमुक्ति सेनाहरु चढेको केही गाडी पूर्वबाट पश्चिततर्फ गइरहेको थियो । उक्त गाडीलाई आन्दोलनकारीले रोक्यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो ।

सो आन्दोलनमा लहानकै लिटिल स्टार बोर्डिङ स्कूलको कक्षा ९ मा अध्ययनरत रमेश महतो पनि सहभागि थिए । जनमुक्ति सेनाहरुले आन्दोलनलाई बेवास्ता गर्दै अगाडि बढ्न खोज्दा ढुङ्गामुढा भयो । सो क्रममा एक जनमुक्ति सेनाले भीडमै गोली चलाए, गोली लागेर रमेश महतो ढले ।

गोली लागेर महतो मारिएपछि तत्कालिन माओवादी नेताहरुले उनको शव नै बेपत्ता पारेको थियो । शव वेपत्ता पार्न मातृका प्रसाद यादवले नेतृत्व गरेका थिए । त्यतिबेला मधेशमा उनको व्यापक विरोध भयो । एक त गोली हानेर हत्या गरेकाे र शव पनि बेपत्ता पारेको खबरले मधेशभर आगो झै फैलियो आन्दोलन ।

आन्दोलनकारीले लहानमै सयौं सवारी साधन र सरकारी कार्यालयहरुमा आगजनी गरे । सरकारी कार्यालयहरुमा त्यतिबेला नै मधेश सरकार लेखियो । उक्त आन्दोलन १९ दिनसम्म चल्यो । सो आन्दोलनमा महतोसहित ६४ जना शहीद भए । त्यसपछि पनि भएको पटक पटकको मधेश आन्दोलनमा १७ जना शहीद भएको सरकारी तथ्यांक छ ।

पहिलो मधेश आन्दोलन १९ दिनसम्म चलेपछि मधेसी मोर्चा र तत्कालिन सरकारबीच आठबुँदे सम्झौता भयो । उक्त सम्झौतापछि मुलुक संघीयतामा गएको हो । मुलुकमा संघीयता र समावेशिकता मधेस आन्दोलनकै देन हो– मधेशी नेताहरु बताउँछन् ।

पहिलोपटक मुलुकको मूल कानुनमा संघीयता भन्ने शब्द मात्रै थपिएन, मधेसीको पहिचानसमेत कायम भयो । सरकारी दस्ताबेजहरूमा मधेसी शब्दले स्थान पायो । रमेश महतोको सहादत प्राप्त गरेको दिन माघ ५ बाट सुरु भएको आन्दोलनले मधेसीको पहिचान र मुलुकलाई संघीयतामा लगेको भन्दै यो दिनलाई ‘बलिदानी दिवस’का रूपमा मनाउँदै आएको छ ।

शहीदको सपना अधुरै

मधेश आन्दोलनको बलमा संस्थाका रुपमा रहेको मधेशी जनअधिकार फोरम पार्टीको रुप लियो । अध्यक्ष उपेन्द्र यादव मधेशका मसिहा कहलिए । ०६४ को संविधानसभामा पहिलो पटक सहभागीता भएको उक्त पार्टीबाट ५४ जना सांसद निर्वाचित भएका थिए ।

मधेश आन्दोलनकै बलामा धेरै नेताले सत्ताको स्वाद चाखे । नेताहरु सत्तामुखी बने । उपेन्द्र नेतृत्वको पार्टी पटक पटक विभाजन भयो । नेताहरु सत्तामा पुग्न र मन्त्री बन्न प्रतिस्पर्धा गर्न थालेपछि आन्दोलन कमजोर बन्न पुग्यो । सोही कारण शहीद र मधेशी जनताको सपना पुरा हुन सकेन । त्यसबेला उठाइएको अधिकांश मुद्दा ओझेलमा परेका छन् ।

मधेश आन्दोलनका बेला नेताहरु आत्म निर्णयको अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समग्र मधेश एक प्रदेश, नागरिकता लगायतका मुद्दा उठाएका थिए । तर, ती मुद्दाहरु उनीहरुकै सत्तामोहका कारण ओझेलमा परेको छ ।

मधेसी जनता र शहीदले देखेको सपना पुरा नहुनुमा नेताहरु नै दोषी रहेको नेपाल पत्रकार महासंघ सिरहाका पूर्व सभापति दिनेश्वर प्रसाद गुप्ताको आरोप छ ।

मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी भन्छन्, ‘मधेसी जनता अझै अनेकौ बेथितिको सिकार छन् । यतिसम्म कि शहीद परिवारसँगै पनि विभेद भएको छ । ५० लाखको लोभ देखाएर आन्दोलन गर्न लगायो । तर अहिलेसम्म शहीद परिवारलाई पनि रोजगारी दिन नसक्नु ठूलो विडम्बना हो ।’

मधेश केन्द्रीत दलहरु एकजुट भएर अगाडी नबढे शहीदका सपनाहरु पुरा नहुने उनको तर्क छ । उनी भन्छन्, ‘देशमा गणतन्त्र र संघीयता त आयो । तर त्यसको अनुभुति मधेशी जनताले अझै गर्न सकेका छैन । यसका लागि मधेश केन्द्रीत दलहरु पुनः एकजुट हुन जरुरी छ ।’


प्रतिक्रिया

One thought on “मधेश आन्दोलनका प्रथम शहीद रमेशको सम्झना- नेताहरु सत्तामुखी बने, शहीदको सपना अधुरै

  1. सत्तामुखी मात्र होईन मधेशका १००% नेता त भ्रष्टाचारी पनि निस्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *