निकुञ्जका जनावर देखाएर कमाउन सकिन्छ भन्ने महिलाले बुझेपछि फेरिएको पिप्रहर (भिडिओ)

चितवन । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको ५१ वर्ष भइसकेको छ । २०३० सालमा चितवन, नवलपरासी, मकवानपुर र पर्साको भूभाग समेटेर स्थापना भएको हो ।
निकुञ्ज स्थापनायता वन्यजन्तुको संरक्षणका लागि निकुञ्ज प्रवेशमा रोक लगाउने, वन्यजन्तुलाई हानी हुने काम गर्न रोक लगाउँदा पटक पटक मानव वन्यजन्तु द्वन्द्वका विभिन्न स्वरुपहरु समुदायस्तरमा देखिँदै आए । आज पर्यन्त यो समस्या निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा रहेका वस्तीहरुमा कायमै छ ।
तिनैमध्ये एक वस्ती हो अहिले पूर्वी नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ मा पर्ने पिप्रहर गाउँ । पिप्रहर गाउँ नारायणी नदीसँगै जोडिएको बस्ती हो । नारायणी पारि चितवन राष्ट्रिय निकुञ्ज पर्छ । यो वस्तीमा पटक पटक निकुञ्जबाट बाघ गैँडा, हात्ती लगायतका जंगली जनावर आइरहन्थे, अहिले पनि आइरहन्छन् ।
जङ्गली जनावर आउँदा पहिले पहिले यहाँका बासिन्दाले सरकारलाई गाली गर्थे । जनावरमाथि ढुङ्गा मुढा गर्थे, भगाउँथे । अधिकांश थारु तथा अन्य जनजाती समुदायको बसोबास रहेको यस बस्तीमा बासिन्दाहरु २०७२ सालसम्म पनि निकुञ्ज स्थापना भएर आफूहरुले दुःख पाएको महसुस गर्थे । स्थानीय चन्द्रमाया महतो भन्छिन्,—गैँडा बाघ आउँदा हामी ढुङ्गा मुढा गथ्र्यौँ । जनावर भगाउँथ्यौँ ।
तर, अहिले बाघ गैँडा आउँदा भगाउने होइन स्थानीयले जङ्गलबाट आएको एउटा चरोलाई समेत माया गर्छन् । पिप्रहरका स्थानीयलाई निकुञ्जले जंगलसँग जोडिएको दिनदिनैको जीविकोपार्जनको आधार खोसेको होइन, संरक्षित क्षेत्र शत्रु होइन, बाघगैँडाले विनास मात्रै गर्दैनन् भन्ने बुझ्न करिब ४२ वर्ष लाग्यो ।
त्यसको महत्व २०७२ सालपछि मात्रै बुझेको महतो बताउँछिन् । जब पिप्रहरका स्थानीयले विभिन्न संघ संस्थाको सहयोगपछि गाउँमा आउने बाघगैँडा देखाएर पैसा कमाउने बाटो आफ्नै घरमा छ भन्ने थाहा पाए त्यसपछि निकुञ्ज उनीहरुको जीविकोपार्जको आधार भएको छ ।
२०७२ सालमा पिप्रहरका २२ घरधुरी बासिन्दाले मिलेर सामुदायिक होमस्टे सुरु गरे । जहाँ ३ घर ठकुरी ३ घर मगर, १५ थारु र १ घर गुरुङ सामुदायको सहभागिता छ । उनीहरुले पहिले आफ्नै घरलाई सफा पारे । गाउँ टोल पनि सफा गरे । अझ राम्रो त के भने सबै घरको मूलीको रुपमा होमस्टेमा महिलाको नाम दर्ता भयो । बैँक खाता पनि महिलाकै नामबाट खोलियो ।
उनीहरुले आफूले सञ्चालन गरेको घरबासको नाम गाउँकै नामबाट दिए, पिप्रहर सामुदायिक होमस्टे । त्यहि होमस्टेको अध्यक्ष हुन् ४२ वर्षकी चन्द्रमाया महतो । तीन वर्षयता महतो अध्यक्ष छिन् । उनका अनुसार गाउँमा होमस्टे सञ्चालन भएपछि विशेष गरि महिलाको जीवनमा परिवर्तन भएको छ ।
हुन त २२ घरका अधिकांश महिलाले राम्रो औपचारिक शिक्षा पाएका छैनन् । उनीहरु पहिले झैँ गाउँघरकै चुलाचौका गर्छन् । खेतीपाती गर्छन् । तर, त्यो चुलोचौको अहिले कमाइसँग जोडिएको छ । खेतबारीमा उब्जिएको धानदेखि तरकारीसम्मले पैसा कमाउँछ । घरको कोठाले पाहुना आउँदा रातकै ८ सय रुपैयाँ कमाउँछ ।
महतो भन्छिन्, होमस्टे खुलेपछि हामी महिलाले गाउँलाई नै पर्यटन क्षेत्रको रुपमा चिनायौँ । अझ धेरै त हाम्रै जीवन पनि चिन्यौँ । घरै बसेर दुई पैसा कमाउँछौँ । श्रीमानको आश गर्नु पर्दैन । चुलो बाल्ने क्षमता समेत आफ्नै छ । आँटले बोल्न सक्छौँ । आफ्नो संस्कृतिको समेत संरक्षण गरेका छौँ ।
पाहुनालाई हँसिलो अनुहारले स्वागत गर्दा समेत कमाइ हुने कुरा होमस्टे सञ्चालन थालेपछि नै बुझेको उनले बताइन् । चन्द्रमायाले भनेझैँ पिप्रहर होमस्टेमा आवद्ध घरले वर्षको तीन महिना बाहेक ९ महिना मासिक करिब ५० हजार हाराहारी कमाइ गर्ने सामुदायिक होमस्टेका व्यवस्थापक केवलकुमारी महतोले बताइन् ।
उनका अनुसार सामुदायिक होमस्टेमा आउने एक व्यक्तिले सिधै होमस्टेका मानिसलाई सम्पर्क गरेपनि सबैभन्दा पनि होमस्टे कार्यालयमा दर्ता हुनुपर्छ । पाहुनाले सिधै खर्च परिवारलाई नभइ कार्यालयमा बुझाउँछन् ।
पिप्रहर सामुदायिक होमस्टे सञ्चालन समितिको व्यवस्थापन समितिले पालैपालो होमस्टेमा पाहुना राख्ने व्यवस्था गरेको छ । जसले गर्दा एउटामा सँधै मानिस बसिरहने अर्को होमस्टे खाली हुने अवस्था रहँदैन ।
अझ अर्को महत्वपूर्ण त समूह समूह भएर जाँदा पनि उनीहरुले पकाएर खुवाउने र साँस्कृतिक कार्यक्रम गर्ने सामुदायिक भवन निर्माण गरेको छ । ७/७ जनाको समूहमा गाउँलेहरुको टोली निर्माण गरिएको छ । उनीहरुले पालो अनुसार पकाउने जिम्मा लिने व्यवस्थापक केवलकुमारी महतोले बताइन् । अझ अर्को महत्वपूर्ण त आएको रकमको १० प्रतिशत कटाएर प्रत्येक घरका सदस्यको बैँक खातामा समितिले नै जम्मा गरिदिने गरेको छ ।
होमस्टे सञ्चालक पूर्णकला पुरुवा पिप्रहर होमस्टे सञ्चालन भएपछि आफूहरुको जीवन नै परिवर्तन भएको बताउँछिन् । परिवारका पुरुष सदस्य विदेश कमाइको लागि गएपनि घर धान्ने कमाइ महिलाले गर्न सकेको उनको भनाइ छ ।
९ वर्षदेखि होमस्टे सञ्चालन गरिरहेकी उनले चितवन राष्ट्रिय निकुञ्जको कारण आफ्नो गाउँले पर्यटनमार्फत कमाइ गर्न सकेको बताइन् । त्यतिमात्रै नभएर आफ्नो रैथाने कला संस्कृतिको समेत संरक्षण गर्न सकेको पूर्णकलाले बताइन् ।
नवलपरासीको रजहरबाट दुई किलोमिटर देब्रेतर्फ रहेको यो बस्तीमा आफ्नो घुम्ने समय बिताउन विशेष गरि आन्तरिक पर्यटकहरु जाने गर्छन् । १ सय ५० जनासम्म अटाउने क्षमता भएको होमस्टेमा सामान्य खर्च मात्रै गर्छु भन्नेले दुई हजारदेखि २५ सयसम्मको खर्चले एक रात बिताउन सक्छन् ।
पूर्णकलाका अनुसार प्याकेजमा समूह लिएर आउनेहरुलाई अझ कम लागत पर्न सक्छ । भने सामुदायिक होमस्टेमा जानेले चितवन राष्ट्रिय निकुञ्जभित्र सफारी, सिजी मोक्ष धाम घुम्ने, साँस्कृतिक प्रदर्शनी लगायतका अवलोकन गर्न पाउँछन् ।