सैफ अलि खानमाथि आक्रमणको वृतान्त : मध्यरातमा हतियारसहित घरको बाह्रौं तल्लामा कसरी पुगे आक्रमणकारी ? – Nepal Press

सैफ अलि खानमाथि आक्रमणको वृतान्त : मध्यरातमा हतियारसहित घरको बाह्रौं तल्लामा कसरी पुगे आक्रमणकारी ?

काठमाडौं । मुम्बइको बान्द्रा इलाकामा एउटा अपार्टमेन्ट छ, जसको नाम हो– सत गुरु शरण । यो अपार्टमेन्टभित्र अभिनेता सैफ अलि खान र उनकी पत्नी करिना कपुरका दुईवटा घर छन् ।

बान्द्रामा अरु बलिउड हस्तिहरु पनि बसोबास गर्छन् । सत गुरु शरण अपार्टमेन्टबाट करिब पौने तीन किलोमिटरको दुरीमा छ, शाहरुख खानको ‘मन्नत’ । सलमान खानको घर ‘ग्यालेक्सी’ पनि साढे दुई किलोमिटर आसपासमै छ । तीन खान हिरोहरु लगभग तीन किलोमिटरको दायरामा बस्छन् ।

दोस्रो छोराका रुपमा जहाँगिर अली खानको जन्म भएपछि सैफ र करिना सत गुरु शरण अपार्टमेन्टमा सरेका हुन् । त्योभन्दा अगाडि उनीहरु छोरा तैमुरसहित अर्को घरमा बस्थे, जुन अहिले भाडामा लगाइएको छ । करिब ५० करोड भएको यो घरबाट अहिले प्रत्येक महिना साढे तीन लाख भारु भाडा सैफले उठाउने गरेका छन् ।

सतगुरु शरण अपार्टमेन्टमा कूल ११ परिवार बस्छन् । सैफबाहेक अरु सबै बिजनेसम्यान हुन् । आफ्नो घरको १२ औं तल्लामा सैफ, करिना, उनीहरुका दुई छोरा र चार स्टाफ बस्छन् । त्योभन्दा तल्लो फ्लोरमा सैफकी जेठी पत्नी अमृता सिंहका छोरा इब्राहिम र सारा अलि खान सुत्ने गरेका छन् ।

१५ जनवरीको रात करिना कपुर नाइट आउट पार्टीमा थिइन् । उनीसँग दिदी करिश्मा कपुर, साथी रिया र अनिल कपुरकी छोरी सोनमलगायत थिए । त्यस रात करिना घर नफर्किने सुरले पार्टीमा गएकी थिइन् । करिश्मा र करिनाले इन्स्टाग्राममा पार्टीको फोटो पनि हालेका थिए ।

सैफको फ्लोरमा कूल ६ जना सुतेका थिए । सैफ, जेठा छोरा, तैमुर, कान्छा छोरा जहाँगिर र तीन हाउस स्टाफ । उनीहरुमध्ये हाउस मेड इस्मा चार वर्ष पहिले बच्चाहरु हेर्न आएकी हुन् । उनी जहाँगिरलाई हेर्थिन् ।

राति ११ बजे सबैजना सुतिसकेका थिए । आमा नभएकाले जहाँगिर र तैमुर सैफसँग सुते । हाउसमेडहरु पनि काम सकेर सुत्न गए । राति लगभग डेढदेखि २ बजेको बीचमा अचानक इस्मा सुतिरहेको कोठामा आवाज आयो । उनी ब्यँुझेर हेर्दा बाथरुमको ढोका खुल्ला थियो र बत्ति बलेको थियो । उनले उठेर हेरिन् । बाथरुमतिर जाँदा एक युवकसँग जम्काभेट भयो ।

ती युवकको एउटा हातमा चक्कु र अर्कोमा ब्रेड थियो । इस्मा डराइन् । उनी कराउन लाग्दा युवकले चक्कु दुखाएर धम्क्याए । इस्माले के चाहियो भनेर उसले सोध्दा एक करोड माग्यो । इस्माले त्यहाँबाट भाग्ने प्रयास गर्दा युवकले उनलाई चक्कुले हान्यो र छेक्ने क्रममा हातमा चोट लाग्यो ।

हल्लाखल्ला सुनेर सैफ ब्यूँझिए र उनी झडप भइरहेको ठाउँमा आए । युवकसँग कुरा गर्न खोज्दा युवकले उनलाई नै प्रहार गरे । सैफलाई ६ पटक चक्कु हानेर युवक त्यहाँबाट भागे ।

त्यतिञ्जेलमा सुतेका सबैजना उठे । सैफ रगतले लत्पतिएका थिए । उनलाई लिफ्टबाट तल झारियो । घरमा कारहरु थिए, तर ड्राइभर थिएनन् । सैफ गाडी चलाउने हालतमा थिएनन् । छोरा इब्राहिमसँग लाइसेन्स थिएन । ड्राइभरलाई बोलाउन भन्दा अटोमा लैजान चाँडो हुने देखियो ।

बाटोमा अटो रोकेर सैफ बसे र उनीसँग छोरा इब्राहिम बसे । दुई किलोमिटर दुरीमा रहेको लिलावति अस्पताल पुर्याइयो ।
डाक्टरले प्रारम्भिक परीक्षण गर्दा ६ वटामध्ये मेरुदण्ड नजिक गरिएको प्रहार घातक देखियो । त्यहाँ चक्कुको टुक्रासमेत अड्केको थियो । तुरुन्त शल्यक्रिया गरी चक्कुको टुक्रा निकालिएको छ । सैफ अहिले खतरामुक्त छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सबैभन्दा पेचिलो प्रश्न आक्रामणकारी घरभित्र कसरी घुस्यो भन्ने नै हो । त्यति ठूलो अपार्टमेन्टमा अवश्य पनि सुरक्षा व्यवस्था कडा थियो । सैफको फ्ल्याटको मुख्य ढोका भित्रबाट बन्द थियो । यस्तोमा प्रहरीमा सुरुमा त हाउसमेड इस्मामाथि नै शंका गर्यो । कतै उनले मिलेमतोमा आक्रमणकारीलाई भित्र पस्न दिएकी हुन् कि भन्ने कोणबाट सोधपुछ गरियो । तर, इस्मा निर्दोष ठहरिइन् ।

अपार्टमेन्टभित्र रहेका प्रत्येक घरमा बेग्लाबेग्लै लिफ्ट छन् । त्यसका अतिरिक्त घरको पछाडिपट्टि आपतकालीन रुपमा प्रयोग गरिने भर्याङ पनि छ । आक्रामणकारी यही भर्याङबाट उक्लिएको र ओर्लिएको प्रहरीले अनुमान गरेको छ । तर, फ्ल्याटको ढोका कसरी खुल्यो भन्ने प्रश्न अझै अनुत्तरित नै छ । ढोका फोडिएको नभएर सरक्क खुलेको देखिन्छ ।

प्रहरीले यो घटना चोरी वा डकैतिकै सिलसिलामा भएको दाबी गरिरहेको छ । यद्यपि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । एकजना व्यक्ति सिसिटीभीमा पहिचान भएका छन् । तर घटनामा कतिजना संलग्न थिए भन्ने प्रष्ट भएको छैन । प्रहरीले सैफको बयान लिन बाँकी छ ।

(भारतीय सञ्चारमाध्यमहरुको रिपोर्टमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर