बार काउन्सिलमा एमाले-माओवादी गठबन्धन, नेपाल बारको निर्वाचनका लागि ‘मत सर्वेक्षण’ – Nepal Press

बार काउन्सिलमा एमाले-माओवादी गठबन्धन, नेपाल बारको निर्वाचनका लागि ‘मत सर्वेक्षण’

काठमाडौं । नेपाल बार एशोसियसनको निर्वाचनको ‘मत सर्वेक्षण’ मानिने नेपाल बार काउन्सिल (नेपाल कानून व्यवसायी परिषद) को निर्वाचनमा एमाले र माओवादीनिकट कानून व्यवसायीको तालमेल भएको छ ।

हालै सम्पन्न सर्वोच्च बारको निर्वाचनमा समेत तालमेल गरेका एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएबीच बार काउन्सिलमा पनि तालमेल भएको हो । यसले आगामी चैतमा हुने नेपाल बारको निर्वाचनको सम्भावित समिकरण समेत प्रष्ट पारेको छ ।

करीव ११ हजार मतदाता रहेको बार काउन्सिलको लागि माघ २६ गते शनिवार देशभर मतदान हुँदैन । सातवटा प्रदेशबाट एकजनाको दरले काउन्सिलमा ७ जना निर्वाचित हुने व्यवस्था छ ।

तालमेल अनुसार एमालेनिकट पिपिएलएले ५ प्रदेशमा नेतृत्व पाएको छ भने माओवादीनिकट आरपीएलएले २ प्रदेशमा पाएको छ । माओवादीले लुम्बिनी र सुदूरपश्चिममा पाएको हो ।

उता कांग्रेसनिकट डिएलए र नेकपा एसनिकट एसपीएलएबीच गठबन्धन हुने भने पनि कांग्रेसले कतै पनि छाड्न नमानेका कारण एसनिकट वकिलहरुको उम्मेदवारी परेको छैन ।

निर्वाचन समितिका अनुसार कोशीमा वाम गठबन्धनबाट पिपिएलएका बालकृष्ण आचार्य र डिएलएका राजु ढकाल उम्मेदवार बनेका छन् । त्यस्तै मधेशबाट पिपिएलएका ओमप्रकाश केशरी र डिएलएका संजीवकुमार मल्लिक प्रतिस्पर्धामा छन् ।

वागमतीमा पिपिएलएका रविनारायण खनाले डिएलएका पर्शुराम कोइराला उम्मेदवार छन् भने गण्डकीबाट पिपिएलएका नारायणप्रसाद आचार्य र डिएलएका दयाराम गौतम उम्मेदवार छन् ।

लुम्बिनीबाट वाम गठबन्धनका मदनकुमार पुन र कांग्रेसका इश्वरी प्रसाद ज्ञवाली उम्मेदवार छन् भने कर्णालीबाट वाम गठबन्धनका मातृका प्रसाद खनाल र कांग्रेसका दमनराज बम छन् । सुदूरपश्चिमबाट वाम गठबन्धनका निरन्जन विष्ट र कांग्रेसका टेकवहादुर कठायत भिड्दैछन् ।

बार काउन्सिलले वकिललाई लाइसेन्स दिनदेखि तालिमलगायतका नियामक निकायको काम गर्छ । लाइसेन्सप्राप्त नविकरण गरेका सबै कानून व्यवसायी काउन्सिलका मतदाता हुन् । यसको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् भने उपाध्यक्ष नेपाल बारको अध्यक्ष हुन्छन् । सबैभन्दा धेरै मतदाता बागमतीमा रहेकाले बागमतीको परिणामलाई महत्वका साथ हेरिएको छ ।

बार काउन्सिलको निर्वाचनले नेपाल बारको आगामी निर्वाचन परिणामको संकेत गर्न सक्ने वकिलहरु बताउँछन् ।यसपटक नेपाल बारमा पनि एमाले र माओवादी मिलेर पुनरागमन गर्ने प्रयासमा छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेस,माओवादी,नेकपा एसलगायत मिलेका थिए भने एमालेनिकट वकिलहरु एक्लै प्रतिस्पर्धामा थिए । यसपटक वामपन्थी मिलेर बारमा कमब्याक हुने छलफल चलिरहे पनि एमाले र कांग्रेस नेतृत्वले भने सत्तापक्षकै वकिलहरुबीच तालमेल होस् भन्ने चाहेको छ ।

बारमा एक्लै जित्ने संख्या रहेको दावी गरिरहेको कांग्रेसले एमालेलाई नेतृत्व दिने अवस्था कम छ । त्यो अवस्थामा माओवादी पक्षले एमालेलाई अध्यक्ष मानेर गठबन्धन बनाउने अवस्थामा वाम तालमेल हुने बताइएको छ ।

एमालेनिकट पिपिएलएबाट अध्यक्षको उम्मेदवारमा पूर्व उपाध्यक्ष टिकाराम भट्टराईको नाम आएको छ भने माओवादी पक्षबाट पूर्व महासचिव रमन श्रेष्ठ दाबेदार हुन् । कांग्रेसनिकट डिएलएबाट पूर्व महासचिव लिलामणी पौडेल,खम्बवहादुर खाती,यदुनाथ खनाल, विजय मिश्रलगायत दाबेदार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर