भोजपुर माओवादीमा भाँडभैलो- गुट चलाएको भन्दै सुदनविरुद्ध नेताहरूको काेकाेहाेलाे – Nepal Press

भोजपुर माओवादीमा भाँडभैलो- गुट चलाएको भन्दै सुदनविरुद्ध नेताहरूको काेकाेहाेलाे

भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरमा नेताहरूबीच खटपट बढेको छ । वडा तथा पालिका अधिवेशन चलिरहेको बेला प्रतिनिधिसभा सांसद एवं केन्द्रीय सदस्य सुदन किरातीको कार्यशैलीलाई लिएर नेताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल पारेका हुन् ।

पार्टीका कोशी प्रदेश सचिवालय सदस्य एवं भोजपुर जिल्ला सह इन्चार्ज विमल खड्काले स्वचालित र चलायमान कमिटी बनाउन सार्वजनिक अपिल गरेका छन् । सुदनलाई ‘भाइरल सांसद’ को संज्ञा दिँदै खड्काले स्टनबाजी गर्नेहरूलाई संगठनबाट वहिष्कार गर्नुपर्ने बताएका छन् । सांसद किरातीले गुट बिस्तार गरेको उनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा शेयर गरेको अपिलमा भनिएको छ, ‘हामी सबै पार्टीका तहगत जिम्मेवारी रहेका नेता कार्यकर्ताहरूले कर्तव्यवोध अनिवार्य हुनुपर्छ भनी अनुरोध गर्दछु । तर, पार्टीका केन्द्रीय सदस्य तथा भाइरल संसदले आफू र आफ्ना सुन्डमुसुडहरू, नागरिकता बेचुवासमेत प्रयोग गरी गुटबन्दी गर्दै गुट बिस्तार गरेकोमा घोर भर्त्सना गर्दछु ।’

खड्काको यो अपिललाई गत चुनावमा भोजपुर नगरपालिकाका मेयरका प्रत्यासीसमेत रहेका शरण तामाङलगायतका नेता-कार्यकर्ताले शेयर र कमेन्ट गर्दै समर्थन गरेका छन् । केहीले भने सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नु अराजकता भएको टिप्पणी गरेका छन् ।

जनार्दन शर्मानिकट रहेका किरातीले जिल्लामा आफूअनुकूल संगठन बनाउने नाममा क्षमतावान् र युद्धकालदेखि निरन्तर खटिरहेकाहरूलाई पाखा लगाएको भन्दै नेता-कार्यकर्ताले आलोचना गर्न थालेका हुन् ।

जिल्ला इन्चार्ज (केन्द्रीय सदस्य) नगेन्द्र राईलाई पनि हस्तक्षेप गर्ने गरेको र जिल्लाको नेतृत्वलाई पनि दबाब र प्रभावमा निर्णय गराउन खोजेपछि आफूहरू विरुद्धमा उत्रिएको एक नेता दाबी गर्छन् ।

‘अहिले चलिरहेका वडा अधिवेशनमा उहाँले एकलौटी गरेर आफ्ना झोलीतुम्बा बोक्नेलाई मात्र राखिरहेका छन् । हामी कहिलेसम्म पाखा लागिरहने ?’, उनको गुनासो छ ।

तर, माओवादी भोजपुरका अध्यक्ष नगेन्द्र भुजेल ‘शैलेन्द्र’ भने संगठन विस्तार र पार्टी गतिविधिमा कुनै समस्या नरहेको बताउँछन् ।

‘अहिलेसम्म ४ वटा पालिकाको वडा अधिवेशनहरू लगभग सकिएको छ । ती पालिकाका इन्चार्ज र प्रदेश कमिटी सदस्यहरूलाई सम्पूर्ण जिम्मेवारी दिएका छौं । त्यसरी सामाजिक सञ्जालमा आएका कुरा बेकारका हुन्’, उनले नेपाल प्रेससँग भने ।

सह इन्चार्ज खड्का धैर्यता टुटेर विरोध गर्न बाध्य भएको बताउँछन् ।

उनले भने, ‘लेख्नै पर्ने भएर लेखेको हो । अहिले सामाजिक सञ्जालमा हालियो । अरु असन्तुष्टि बिस्तारै आउँछन् । थप कुरा पछि नै गरौंला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर