एमालेका जनप्रतिनिधिहरूले गर्नुपर्ने २१ काम – Nepal Press

एमालेका जनप्रतिनिधिहरूले गर्नुपर्ने २१ काम

पार्टीका राष्ट्रिय विकास योजनाहरूलाई स्थानीय क्षेत्रमा अनुकूलित गर्दै कार्यान्वयन गर्न जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

पृष्ठभूमि

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । संविधानतः तिनै तहमा जननिर्वाचित प्रतिनिधिद्वारा मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने प्रबन्ध छ । जननिर्वाचित सरकारद्वारा मुलुक समावेशी समानुपातिक पद्धतिद्वारा सञ्चालन गर्ने र पूर्ण सामाजिक न्याय कायम गर्ने उल्लेख छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा तीनै तहको सरकारमार्फत पूरा गर्ने अठोट व्यक्त गरेको छ । यो राष्ट्रिय संकल्प हो । यो पूरा गर्ने नेपालका राजनीतिक दलका वैचारिक मान्यताका आधारमा आफ्ना नीति, कार्यक्रम र घोषणापत्र तयार गरी जनताको तहमा सम्प्रेषण गरेका छन् । संविधानको घोषणापछि तिनै तहमा दुईदुई पटक निर्वाचन भएको छ । जनताको जनाादेशमार्फत दलहरूले सरकार सञ्चालन गरेका छन् । २०७४ पछि बनेका सरकार र जनप्रतिनिधिहरू आलोच्य छन् । उनीहरूले गरेका काम तुलनात्मक रुपमा सकारात्मक नभएकाले दलहरू र दलको नेतृत्वसमेत आलोचनाको घेरामा छ ।

यही विषयलाई मानक बनाई अहिले समाजमा अराजकता, अनुशासनहीनता, उच्छृङ्खलता, सामाजिक र सांस्कृतिक क्षेत्रमा विचलन देखापरेको छ । प्राप्त उपलब्धि र योगदानप्रति असन्तुष्टि, बढ्दो पलायन, निराशाले जरा गाडेका छन् । यही असन्तुष्टिको जगमा संविधानविरोधी र नेपालमा राजनीतिक अस्थिरता चाहने देशी विदेशी प्रतिक्रियावादी ताकत धमिलो पानीमा माछा मार्न उद्यत देखिन्छन् । नेपालको राष्ट्रियता, लोकतन्त्र, विकास, समृद्धि र स्थिरतामा प्रश्नचिन्ह खडा गर्दै सामाजिक सञ्जाललाई गलत ढंगले प्रयोग गरी धार्मिक, सामाजिक सद्भाव खलल पार्न, अराजकता निम्त्याउन केही तत्व उद्यत देखिन्छन् । यस परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्नु र मुलुकलाई सकारात्मक बाटोमा लैजाने भनेको निर्वाचित जनप्रतिनिधि र तीनै तहको सरकारले हो । यिनीहरूले राष्ट्र र जनताप्रति निष्ठापूर्वक काम गर्नुले नै आजको परिस्थितिको निकास हो । पार्टीहरूले अगाडि सारेको राजनीतिक कार्यदिशा पूरा गर्ने माध्यम भनेका जनप्रतिनिधि हुन् ।

नेकपा एमालेको राजनीतिक कार्यदिशा ‘शान्तिपूर्ण’, संवैधानिक लोकतान्त्रिक प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गरी लोकतन्त्रलाई सुदृढीकरण गरी राष्ट्रिय पुँजीको निर्माण गरी समाजवादको आधार तयार गर्नु हो । यी कार्यभार तीनै तहमा निर्वाचित जनप्रतिनिधिले पूरा गर्नुपर्छ । जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तअनुसार निर्वाचन लड्नु, निर्वाचन जित्नु भनेको वर्ग संघर्षमा भाग लिनु र वर्ग संघर्षमा विजय प्राप्त गर्नु हो । त्यसैले निर्वाचित जनप्रतिनिधिको हाम्रो जस्ता राजनीतिक व्यवस्थामा कति महत्व हुन्छ, यसबाट प्रस्ट हुन्छ ।

जनप्रतिनिधि

जनताले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष भोटको माध्यमबाट चयन गर्ने व्यक्तिलाई जनाउँछ । जनप्रतिनिधि सरकारमा रहेका विभिन्न निकायहरूको सदस्य हुनसक्छन्, जसमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नगरपालिकाका मेयर र अन्य स्थानीय तहका प्रतिनिधिहरू पर्छन् । यी प्रतिनिधिहरूले जनताको हित र समाजको विकासका लागि काम गर्नुपर्ने हुन्छ । जननिर्वाचित प्रतिनिधिहरू आफ्नो पदको लागि चुनावमा प्रतिस्पर्धा गरी जनताको मतबाट चयन हुन्छन् र उनीहरूको प्राथमिक जिम्मेवारी पार्टीको नीति मुलुकको संविधान तथा कानूनअनुसार राष्ट्र र जनताको सेवा गर्नु हो ।

२०७४ पछि बनेका सरकार र जनप्रतिनिधिहरू आलोच्य छन् । उनीहरूले गरेका काम तुलनात्मक रुपमा सकारात्मक नभएकाले दलहरू र दलको नेतृत्वसमेत आलोचनाको घेरामा छ ।

दलीय व्यवस्थामा जनप्रतिनिधि दलको टिकटबाट निर्वाचित हुन्छन् । त्यसैले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू संविधानको परिपालना, लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण, जनजीविकाको प्रत्याभूति र पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका हुन्छ । किनकि उनीहरू पार्टी सदस्य हुन् । पार्टीको प्रभाव विस्तार, विकास, सुदृढीकरण र जनताको बीचमा प्रभाव बढाउन ठूलो योगदान दिन सक्छन् । यहाँ लेखमार्फत जनप्रतिनिधिहरूको भूमिकाको बारेमा सविस्तारमा चर्चा गरिन्छ ।

जनप्रतिनिधिहरूको भूमिका र जिम्मेवारी

जनप्रतिनिधिहरूको दायित्व र भूमिका संविधान र कानूनले निर्धारण गरेको छ । दलीय व्यवस्थामा पार्टीले उनीहरूलाई पार्टीको विधिअनुसार निर्देशित गर्छ । सकारात्मक प्रतिफलको लागि घोषणापत्रअनुसार पेरियोडिक कार्ययोजना निर्माण गर्न आवश्यक छ । त्यहीअनुसार जनप्रतिनिधिहरूले आफ्नो दायित्व र कार्यलाई स्पष्ट रूपले परिभाषित गरेर कार्य सम्पादन गर्नुपर्छ । यसले पार्टीको योजना र जनप्रतिनिधिबिचमा सन्तुलन कायम गर्दछ ।

१) संविधान र कानूनको पालना

जनप्रतिनिधिहरूले संविधान र कानूनको पालना गर्नुपर्नेछ । कुनै पनि प्रकारको गैरकानूनी कार्य वा कानूनको दुरुपयोगले जनताको विश्वासलाई क्षति पुर्‍याउनसक्छ । कानूनअनुसार उनीहरूले अधिकार र स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ ।

२) समाज र राष्ट्रप्रति जिम्मेवारी

जनप्रतिनिधिहरूले आफ्नो पदको प्रभावको सदुपयोग गर्दै समाज र राष्ट्रको हितमा काम गर्नुपर्नेछ । उनले आफ्नो निर्णयहरूमा न केवल आफ्नो क्षेत्रका हितमा, अपितु समग्र राष्ट्रको समृद्धिको लागि सोच्नुपर्नेछ । राष्ट्रिय दृष्टिकोण बनाउन सक्नुपर्छ ।

३) विकास निर्माणको नेतृत्व

जनप्रतिनिधिहरूको मुख्य उद्देश्य जनताको जीवनस्तर सुधार्ने, समृद्धि र न्यायको मार्गमा अघि बढाउने र एक समावेशी समाजको निर्माण गर्नु विकास निर्माणको नेतृत्व गर्नुहुनेछ यसको लागि ।

सामाजिक र आर्थिक विकास, भौतिक पूर्वाधारको विकास- सडक, पुल, पानी, बिजुली जस्ता आधारभूत संरचनाहरूको निर्माण र सुधार गर्नु जनप्रतिनिधिहरूको काम हो । शिक्षा र स्वास्थ्यमा समान अवसर सुनिश्चित गर्ने तथा महिला, बालबालिका, दलित र अपहेलित समुदायको हक र अधिकार सुनिश्चित गर्नेतर्फ क्रियाशील हुनुपर्छ । आर्थिक समृद्धिको लागि रोजगारको अवसर सृजना गर्न, उद्योग र कृषि क्षेत्रमा प्रोत्साहन दिनुपर्छ । गरिबी घटाउन र समृद्धि बढाउन काम गर्नु जरुरी हुन्छ । प्राकृतिक स्रोतको संरक्षण गरी दिगो विकास गर्न, पर्यावरणीय र प्राकृतिक स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्छ ।

शिक्षा र स्वास्थ्यको प्रत्याभूति गर्दै सबै नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा वृद्ध, अशक्त र विपत्तिग्रस्त नागरिकहरूको सुरक्षा र सहयोगको व्यवस्था गर्नुपर्छ । स्थानीय र राष्ट्रिय योजना निर्माण गरी ग्रामीण र शहरी विकासका लागि योजनाहरू तयार गर्नु र तिनीहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । सबैखाले जनताको आवाजको प्रतिनिधित्व गर्नु र जनताका समस्या र आवश्यकताको सम्बोधन गर्दै सरकारसँग प्रभावकारी संवाद र सहकार्य गर्नुपर्छ ।

प्राप्त उपलब्धि र योगदानप्रति असन्तुष्टि, बढ्दो पलायन, निराशाले जरा गाडेका छन् । यही असन्तुष्टिको जगमा संविधानविरोधी र नेपालमा राजनीतिक अस्थिरता चाहने देशी विदेशी प्रतिक्रियावादी ताकत धमिलो पानीमा माछा मार्न उद्यत देखिन्छन् ।

४.जीवनशैली र कार्यशैली

जीवनशैली र कार्यशैली जनताको विश्वास र भरोषाको प्रतीक हो । यसले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ, जनतासँगको सम्बन्धलाई मजबुत पार्छ । निर्वाचित जनप्रतिनिधिहरूको जीवनशैली सादा, पारदर्शी र जनमुखी हुनुपर्छ । जनताको लागि उदाहरण बन्ने अवसर पनि प्रदान गर्छ । कार्यशैली भनेको काम गर्ने तरिका, निर्णय प्रक्रिया र समस्यामा सुधार ल्याउने उपाय हो । यसमा जनप्रतिनिधिको दृष्टिकोण र कार्यान्वयन क्षमताले ठूलो भूमिका खेल्छ । जनप्रतिनिधिहरूको जीवनशैली र कार्यशैली लोकतान्त्रिक मूल्यहरू र सार्वजनिक सेवाको सिद्धान्तसँग मेल खानुपर्छ ।

५) भ्रष्टाचारबाट जोगिने र जोगाउने

भ्रष्टाचार समाजमा क्यान्सर जतिकै खतरा छ । जनप्रतिनिधिहरूको कार्यशैली र जीवनशैलीमा भ्रष्टाचारको प्रभाव गम्भीर रुपमा देखिएको छ । यो राजनीतिक जीवनमा अनैतिकताको मुख्य कारण हो । जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने, गर्न नदिन कामको अगुवाइ गर्नुपर्छ । आफू निर्वाचित संस्थालाई भ्रष्टाचारमुक्त राख्नु उसको प्रमुख जिम्मेवारी हो ।

६) अनुशासनको परिपालना

निर्वाचित जनप्रतिनिधिहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र संवेदनशील हुन्छ । उनीहरूले कार्य सम्पादनमा उच्च नैतिकता कायम गर्दै कर्तव्य पालनामा अनुशासन कायम राख्नुपर्छ । कुनै पनि गलत कार्य, तस्करी कालोबजारी र उनीहरूसँगको सम्बन्ध वा अनियमित कार्य गर्नाले जनविश्वास गुम्नसक्छ र लोकतान्त्रिक प्रक्रिया कमजोर बनसक्छ । पार्टी जीवन पनि कमजोर हुन्छ ।

७) पारदर्शिता कायम गर्नु

आर्थिक, सामाजिक जीवनका हरेक पहलुमा पारदर्शिता र जवाफदेहिता कायम गर्नु जनप्रतिनिधिको प्रमुख एजेन्डा हो । आफ्ना कार्यमा पारदर्शिता राखेर जिम्मेवारीको सही ढंगले निर्वाह गर्नुपर्नेछ । यसले सिंगो विकास निर्माण र जनताको सम्बन्धको अतिरिक्त पार्टीको आन्तरिक जीवन र संगठनको जीवनमा समेत सुधार ल्याउँछ ।

८) नेतृत्व क्षमता र दूरदर्शिता

जननिर्वाचित प्रतिनिधिहरूले केवल वर्तमान समस्याको समाधानमा मात्र होइन, भविष्यको आवश्यकता र चुनौतीहरूको बारेमा सोचेर दीर्घकालीन योजना बनाउनुपर्छ । साथै समस्याको समाधानका लागि सामूहिक निर्णय लिन र कार्यान्वयनमा प्रभावकारी नेतृत्व प्रदान गर्नुपर्नेछ ।

९) वचनबद्धता र सर्तहरूको पालना

चुनाव प्रचारको दौरान दिएका वाचाहरू र घोषणापत्रको पालना गर्दै, जननिर्वाचित प्रतिनिधिहरूले साँचो अर्थमा जनताको विश्वासको सम्मान गर्नुपर्छ । चुनाव जित्ने क्रममा गरेका प्रतिबद्धताहरू कार्यान्वयनमा ल्याउनु उनका कर्तव्य हुन आउँछ ।

मुलुकलाई सकारात्मक बाटोमा लैजाने भनेको निर्वाचित जनप्रतिनिधि र तीनै तहको सरकारले हो । यिनीहरूले राष्ट्र र जनताप्रति निष्ठापूर्वक काम गर्नुले नै आजको परिस्थितिको निकास हो । पार्टीहरूले अगाडि सारेको राजनीतिक कार्यदिशा पूरा गर्ने माध्यम भनेका जनप्रतिनिधि हुन् ।

१०) समावेशीकरण, सामाजिक न्याय र समानताको सुनिश्चितता

संविधान र कानूनले प्रदान गरेका र अन्तर्राष्ट्रिय पक्षका सबै जनअधिकारको प्रयोग गर्न पाउने हक जनताका हुन् । ती अधिकारको निर्बाध प्रयोग गर्ने अवसर प्रतिनिधिहरूले समाजका सबै तह र तप्काका जनता, वर्ग समुदाय र भाषाभाषीहरूको समानता र सामाजिक न्यायको सुनिश्चितता गर्न नेतृत्व गर्नुपर्नेछ । कुनै पनि वर्गको अधिकारको हनन हुनुहुँदैन र सबैलाई समान अवसरको व्यवस्था गर्नुपर्छ । आफ्नो अधिकारको प्रयोग गर्दा जनताको अधिकारको हनन हुनुहुँदैन ।

११) पार्टीको नीति र सिद्धान्तलाई जनतासम्म पुर्‍याउनु

जनप्रतिनिधिहरूले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई विकास निर्माणका अतिरिक्त पार्टीको नीति र सिद्धान्तबारे स्पष्ट जानकारी दिनुपर्छ । यो कार्य जनप्रतिनिधिहरूको प्रमुख जिम्मेवारी हो । जसको माध्यमबाट पार्टीको मूल उद्देश्य र दृष्टिकोणलाई जनतासम्म पुर्‍याउनसक्छ । जनप्रतिनिधिहरूले पार्टीका प्रमुख सिद्धान्त र मूल्यहरूलाई जनताको जीवनसँग जोडेर प्रस्तुत गर्न सक्छन् । यसले जनताको मनोविज्ञान र विश्वास निर्माण गर्न मद्दत गर्छ । समाजका समस्या समाधान गर्न पार्टीको नीतिहरूले समाजका समस्या कसरी समाधान गर्ने भनेर स्पष्ट र सटिक रूपमा जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण माध्यम हुन । यसले जनताका अपेक्षालाई पार्टीसँग जोड्ने प्रक्रिया सुनिश्चित गर्छ ।

१२) स्थानीय स्तरमा पार्टीको सञ्जाल निर्माण

जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रका जनतालाई पार्टीसँग समर्पित बनाउन र पार्टीको संगठनलाई मजबुत बनाउन, सदस्यता विस्तार र नवीकरण गर्नमा मुख्य भूमिका खेल्नुपर्छ । जनप्रतिनिधिहरूले पार्टीका स्थानीय कार्यकर्ताहरूसँग समन्वय राखेर उनीहरूको सक्रियता बढाउन मद्दत गर्न सक्छन् । यसले पार्टीको पाइपलाइनलाई सुदृढ बनाउँछ । स्थानीय तहमा पार्टीका शाखा र समितिहरूको निर्माण गरेर पार्टीको संगठनात्मक संरचना सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।

१३) जनताको समस्यासँग सहकार्य

पार्टी संगठनको नेतृत्वलाई जनताको बिचमा सशक्त बनाउनुपर्छ । जनप्रतिनिधिहरूले जनताका प्राथमिक समस्याहरूलाई बुझ्न र त्यसको समाधानका लागि पार्टीलाई मार्गदर्शन दिनुपर्छ । यसका लागि स्थानीय समस्याको पहिचान गर्नुपर्छ । जनप्रतिनिधिहरूले आफ्नो निर्वाचित संस्थामा हुने जनताका समस्या (जस्तैः शिक्षा, स्वास्थ्य, रोजगार, पानी, सडक, इत्यादि) चाँडो पहिचान गर्नुपर्छ र पार्टी नीतिका माध्यमबाट समाधानका उपायहरू प्रस्तुत गर्नुपर्छ । विकास योजना कार्यान्वयन र जनता तथा सरोकारवालासँग समन्वय गर्नुपर्छ । पार्टीका राष्ट्रिय विकास योजनाहरूलाई स्थानीय क्षेत्रमा अनुकूलित गर्दै कार्यान्वयन गर्न जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

१४) नवीन विचार र युवा नेतृत्व

पार्टी नेतृत्व समावेशी हुनुपर्छ । पार्टीको भविष्य सुनिश्चित गर्न जनप्रतिनिधिहरूले युवा र नयाँ विचारधाराका नेताहरूलाई समावेश गर्न आवश्यक छ । यसले पार्टीलाई ताजगी र नवीनता प्रदान गर्छ । यसका लागि युवालाई नेतृत्वमा ल्याउन सक्नुपर्छ । युवा कार्यकर्ताहरूलाई जिम्मेवारी दिँदा उनीहरूको ऊर्जा र विश्वासलाई पार्टीमा समाहित गर्न सकिन्छ । प्रशिक्षण र क्षमता विकासमार्फत नयाँ पुस्तालाई नेतृत्व विकासका अवसर प्रदान गर्दा, पार्टीलाई नयाँ दिशा र नयाँ रणनीति कार्यान्वयन सम्भव हुन्छ ।

प्रतिनिधिहरूले जनताको हित र समाजको विकासका लागि काम गर्नुपर्ने हुन्छ । जननिर्वाचित प्रतिनिधिहरू आफ्नो पदको लागि चुनावमा प्रतिस्पर्धा गरी जनताको मतबाट चयन हुन्छन् र उनीहरूको प्राथमिक जिम्मेवारी पार्टीको नीति मुलुकको संविधान तथा कानूनअनुसार राष्ट्र र जनताको सेवा गर्नु हो ।

१५) पार्टीको संगठनात्मक संरचनामा सुधार ल्याउनु

जनप्रतिनिधिहरूले पार्टीको आन्तरिक संरचनामा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । लेलिनवादी संगठनात्मक सिद्धान्त पालना गर्दै पार्टी कार्यक्रम र विकास निर्माणबीच समन्वय ल्याउनुपर्छ । यसका लागि जनप्रतिनिधिहरूले पार्टीका अन्य सदस्यहरूसँग विचार-विमर्श गरेर गतिविधिहरू सञ्चालन गर्नुपर्छ । सक्रिय पार्टीका कार्यकर्ताहरूको नेटवर्कलाई सशक्त बनाउन जनप्रतिनिधिहरूले विभिन्न मञ्चहरू र कार्यक्रमहरूको आयोजना गर्नुपर्छ ।

१६) विचारधारामा स्पष्टता र समन्वय

मार्क्सवाद, लेनिनवाद र जबजको सिद्घान्त आत्मसात गर्दै सांगठनिक जीवनलाई सुदृढ गर्दै पार्टीका आन्तरिक मतभेद र द्वन्द्वलाई समाधान गरेर पार्टीको विचारधारामा स्पष्टता ल्याउन जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण छ । पार्टीको भित्री मतभेदलाई समाधान गरेर विचारधारामा एकता राख्न जनप्रतिनिधिहरूले पहल गर्नुपर्छ । यसले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउँछ र त्यसका नीतिहरू स्पष्ट बनाउँछ । समस्या समाधानका लागि संवाद जरुरी हुन्छ । जब पार्टीमा मतभेद उत्पन्न हुन्छ, जनप्रतिनिधिहरूले सुलह र संवादका माध्यमबाट पार्टीका आन्तरिक विवादलाई समाधान गर्नु आवश्यक छ ।

१७) जनसङ्गठन र सामाजिक अभियानहरूको नेतृत्व

पार्टीको सामाजिक र साङ्गठनिक प्रतिष्ठा बढाउन जनप्रतिनिधिहरूले जनसङ्गठन र सामाजिक अभियानहरूको नेतृत्व गर्न सक्छन् । सामाजिक जागरूकता अभियान पार्टीमार्फत सञ्चालन गर्न चनाखो बन्दै सामाजिक अभियानहरूलाई जनप्रतिनिधिहरूले सफल बनाउने योगदान गर्नुपर्छ । यसले पार्टीको छवि सुधार्न र जनसम्पर्क विस्तारमा मद्दत पुर्‍याउँछ । जनसङ्गठनमार्फत सामाजिक कार्यमा सक्रिय भूमिका निभाउँदै पार्टीको सकारात्मक छवि निर्माण र प्रतिष्ठा बढाउन सकिन्छ ।

१८) सृजनशीलता र क्रियाशीलता

जनप्रतिनिधिले कार्य सम्पादन गर्दा परम्परागत कार्य सम्पादन गर्नेमात्र होइन, कानून र नियममा टाँसिनेमात्र पनि होइन । राजनीतिज्ञ र पार्टीबाट निर्वाचित व्यक्ति भएकाले राष्ट्र, समाज, जनता र पार्टीलाई हानि नहुने गरी जनताको नम्स भ्यालु र प्रथामा आधारित भएर व्यवहारिक रुपमा सृजनशील र क्रियाशील भएर जनताको सेवा र प्रतिनिधित्व गर्ने कार्य गर्न सक्नुपर्छ । यिनै नयाँ र सकारात्मक विचारलाई नयांँ पहलको आधारमा प्रभावकारी काम गर्ने क्षमताको विकास हो । यसले जनप्रतिनिधिलाई समस्या समाधानका नयाँ उपायहरू खोज्न मद्दत गर्नेछ ।

समावेशी र पहुँचयोग्य नीति निर्माण गर्न, सबै वर्गका नागरिकलाई समेट्ने नीति र योजना बनाउनुपर्छ । शोषण, भेदभाव, असमानता र भ्रष्टाचारको समाधानका लागि सक्रिय कदम चाल्न, विभिन्न पक्षहरूको बीचमा सहकार्य र समन्वयको विकास गर्दै पार्टी र जनताको साझा उद्देश्यको लागि काम गर्न प्रेरित गर्छ । जसबाट सार्वजनिक भलाइ प्रवर्द्धन गर्न र जनताको हक र अधिकारको संरक्षण गर्ने कार्यमा इमानदार र जिम्मेवार भएर कार्य सम्पादन गर्नु सफल हुन्छ ।

१९) उद्यमशीलता र व्यवसायीकरण

निर्वाचित जनप्रतिनिधिले आजको परिस्थितिमा व्यवसायिकता, उद्यमशीलता दुवैको संयोजन गरी आर्थिक र सामाजिक रुपान्तरणको नेतृत्व गर्न सक्नुपर्छ । यी गुणहरूले व्यक्तिलाई आफ्नो व्यवसायिक यात्रा र लक्ष्यमा सफलता प्राप्त गर्न नयाँ अवसरहरूको सिर्जना गर्ने र कार्यस्थलमा पेशेवर दृष्टिकोण राख्ने क्षमता दिन्छ । उद्यमशीलताले नयाँ अवसरहरूको पहिचान र तिनीहरूको व्यवसायिक रूपान्तरण गर्न सिर्जनात्मक सोच र जोखिम उठाउनसक्ने क्षमता हुनुपर्छ ।

समावेशी र पहुँचयोग्य नीति निर्माण गर्न, सबै वर्गका नागरिकलाई समेट्ने नीति र योजना बनाउनुपर्छ । शोषण, भेदभाव, असमानता र भ्रष्टाचारको समाधानका लागि सक्रिय कदम चाल्न, विभिन्न पक्षहरूको बीचमा सहकार्य र समन्वयको विकास गर्दै पार्टी र जनताको साझा उद्देश्यको लागि काम गर्न प्रेरित गर्छ ।

उद्यमशीलता पूरा गर्न सामूहिक, व्यक्तिगत पहल र उच्च जिम्मेवारी आवश्यक हुन्छ । व्यवसायिकता भनेको आफ्नो कार्यमा उच्चस्तरको नैतिकता, इमानदारी र दक्षता प्रस्तुत गर्ने गुण हो । यसमा कार्यको गुणस्तर, समर्पण र जिम्मेवारीको निर्वाह गर्ने क्षमता जोडिन्छ । उद्यमशीलताले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ । यो समाजवादको आधार तयार गर्न महत्त्वपूर्ण साधन हो ।

२०) गुटगत स्वार्थ र विरोधीसँगको सम्बन्ध

विचार, राजनीति, सरकार, समाज वा संगठनका सन्दर्भमा गुटगत स्वार्थ र विरोधीसँग साँठगाँठका प्रश्न नेता तथा कार्यकर्ता र जनताका बिचमा उठे भने प्रतिनिधिहरू गम्भीर समस्यामा पर्नसक्छन् । यसले आपसमा विग्रह र कलह उत्पन्न हुन्छ । यी दुई अवधारणासँगै काम गर्दा संगठनको एकता, समृद्धि र समाजमा सकारात्मक परिवर्तनको मार्गमा रोकावट आउनसक्छ । यस्ता स्वार्थपरक व्यवहारबाट संगठनको विघटन, समाजमा असमझदारी र विकासमा ढिलाइ ल्याउनसक्छ । यी स्वार्थपरक विषय व्यक्तिगत लाभहानिसँग जोडिन्छन् । त्यसैले जनप्रतिनिधिहरू यस्ता क्रियाकलापबाट टाढै बसी जनता र कार्यकर्ताबिच गाढा सम्बन्ध बनाई निष्पक्ष भूमिकामा रहनुपर्छ ।

२१) द्वन्द्व समाधान गर्ने

द्वन्द्व समाधान समाजमा व्यवहारतः उत्पन्न हुने सांध, सिमाना, बाटोघाटो, विकास निर्माणलगायत आपसी असमझदारी, संघर्ष वा विवादलाई शान्तिपूर्वक समाधान गर्ने प्रक्रिया हो । यो प्रक्रिया समस्याका स्रोतलाई पहिचान गरेर, सबै पक्षहरूको चासो र आवश्यकता बुझेर, सबैलाई सन्तुष्ट गर्ने उपायमा समाधानको खोजी गर्ने जनप्रतिनिधिको भूमिका हुनुपर्दछ । यो एक जटिल र संवेदनशील प्रक्रिया हो, जसमा सबै पक्षको चासो, सहमति र समझदारी हुनुपर्छ । सही प्रक्रिया र सकारात्मक दृष्टिकोण अपनाएर द्वन्द्वलाई शान्तिपूर्वक समाधान गर्न सकिन्छ, जसले समग्र रूपमा समाजमा स्थिरता, शान्ति र समृद्धि ल्याउँछ । यसको लागि जनप्रतिनिधि कुशल, निष्पक्ष, सहनशील र धैर्यवान हुन जरुरी हुन्छ ।

अन्तमा

निर्वाचित जनप्रतिनिधिहरूको भूमिका मुलुकको सर्वाङ्गीन विकास र प्रगति सुनिश्चित गर्नु, मुलुकको जीडीपी वृद्धि गर्नु, रोजगारी सृजना गर्नु, गरिबी निवारण गरी समन्यायिक समाजको स्थापना गर्नु र राष्ट्रिय पुँजी निर्माण गर्नु हो । यसको लागि उनीहरूले आफ्नो जीवनमा उच्चस्तरको अनुशासन कायम गर्दै पूर्ण कर्तव्यनिष्ठ हुनुपर्छ । त्यसमा पनि नेकपा एमाले जस्तो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणको अतिरिक्त पार्टी निर्माण र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरूले स्थानीय तहमा पार्टीको संगठनलाई मजबुत बनाउन, पार्टीको नीति र सिद्धान्तलाई जनतासम्म पुर्‍याउन, सामाजिक र संगठनात्मक सुधारमा योगदान दिन र युवा नेतृत्वको विकासमा सहयोग गर्न सक्छन् ।

यसरी जनप्रतिनिधिहरूको सक्रिय र प्रभावकारी सहभागिताले पार्टीको दीर्घकालीन सफलता र समृद्धिको मार्ग प्रशस्त भई पार्टी जनताको बिचमा सधैं लोकप्रिय भैरहन्छ । पार्टी राष्ट्रको निर्णायक शक्ति भई निरन्तर निर्वाचन जित्छ र मिशन ८४ मात्र होइन, मिशन २१०५ पूरा गर्न सकिन्छ । पार्टीको राजनीतिक कार्यदिशा पूरा भई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गरी समाजवादको आधार तयार गर्न जनप्रतिनिधि सफल हुनेछन् ।


प्रतिक्रिया

One thought on “एमालेका जनप्रतिनिधिहरूले गर्नुपर्ने २१ काम

  1. नेकपा एमाले पाट्री निर्माणका लागि “वैचारिक दृष्टिकोण स्पष्ट भएका युवा नेतृत्व निर्माण आजको पहिलो आवश्यकता हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *