भीम रावलको नयाँ यात्रा: ‘अन्ध राष्ट्रवाद र लोक रिझाइवाद’को अर्को प्रयोग

कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।। -गीता २/४७
अर्थात् कर्ममा तिम्रो अधिकार छ । तिमी जस्तो कर्म गर्छौ, त्यस्तै फल पाउँछौ । त्यसैले फलको आशा राखेर काम नगर । फलको आशा राखेर तिम्रो मन अकर्ममा नजाओस् । गीताको यो श्लोकको हुबहु अर्थ यो नहुन सक्छ, जानकारहरूले बताउलान्, तर सबैले यही भनेर प्रयोग गरिराखेका छन् ।
यो श्लोक अरूको हकमा मिले पनि र नमिले पनि भीम रावलको हकमा ठ्याक्कै मिल्न पुगेको छ । जिम्मेवारी र मौका पाउनेबित्तिकै आफूसँग विमति राख्नेमात्र होइन, तर्क गर्नेलाई समेत किनारामा पुर्याउने राजनीतिकर्मीको रूपमा स्थापित भीम रावल आज आफैं सोही अवस्थामा पुगेका छन् । रावलको पेलान भोगेका नेता कार्यकर्ता सुदूरपश्चिममा धेरै भेटिन्छन् । रावलले धेरैको राजनीतिक जीवन तलमाथि पारे । सञ्चारमाध्यमको लागि ती सबै पुराना भएका छन् । अहिले रावलमाथि गरिएको पेलानको फेहरिस्तले ठाउँ पाएको छ ।
विद्यार्थी संगठनमा बसेर संघर्ष र संगठनका काम गर्ने समयमा बिरामीको बहाना बनाएर कोठामै बसेर अध्ययन गरी अब्बल रिजल्ट ल्याउने रावलको बारेमा उनका सहकर्मीहरू तरह-तरहका किस्सा सुनाउँछन् । पार्टी संगठनमा बसेपछि पनि रावलले त्यही शैली अपनाए । आफूले भनेको पद पाए उग्र कुरा गर्दै काम गर्ने र कसैलाई नगन्ने शैली अनुशरण गरे । उनले जिम्मेवारी पाएको समयमा एकलकाँटे र उनीमात्र जान्ने जसरी प्रस्तुत भए र काम गरे । आफूले भनेको पद नपाएको समयमा कुण्ठा, आक्रोश, आरोप-प्रत्यारोप गर्दै ‘अन्ध राष्ट्रवाद र लोक रिझाइवाद’मा जोड दिए, दिइरहेका छन् र शक्ति एवं राजकीय जिम्मेवारीमा नपुगुञ्जेल दिइरहने पनि छन् ।
यस्ता सबै विषय रावलको चर्चा गर्दा पुराना भएका छन् । त्यसैले उनको नयाँ यात्राको महिमामण्डन सुरू भएको छ । ‘अन्ध राष्ट्रवाद र लोक रिझाइवाद’को उनका नयाँ नाराहरू आउँदैछन् । अब सामाजिक सञ्जाल, अनलाइन पोर्टल र सञ्चारमाध्यममा रावलको ‘अन्ध राष्ट्रवाद र लोक रिझाइवाद’ले राम्रै स्थान पाउनेछ । पछिल्लो चरणमा देशको एउटा ठूलो जमात गालीगलौजमा रमाएको छ । तथ्य र तर्कलाई त्यो जमातले मान्दैन । त्यो जमात, जसले चर्को स्वरमा भ्रम सिर्जना गर्नसक्छ, उसैलाई ‘फलो’ गर्ने प्रचलनमा रमाउन थालेको छ । परिवर्तनको हुटहुटी भएको जस्तो देखिए पनि त्यो जमात प्रविधिले ल्याएको परिवर्तन र विकासलाई गलत रूपमा प्रयोग गरेर राजनीतिमा ‘हिरोइज्म’ शैली भित्र्याउनेहरूको षड्यन्त्रको शिकार भएको छ ।
सत्य हो, प्रमुख पार्टीले क्रान्ति र आन्दोलनको नेतृत्व गरे पनि परिवर्तनपछि देश बनाउने नेतृत्व गर्न सकेनन् र उनीहरूको शैली हेर्दा लाग्छ, उनीहरू त्यो बुताबाट बाहिर पुगिसकेका छन् ।
यतिखेर कला र खेल जगतमा जस्तै राजनीतिमा पनि ‘फ्यान’ युग सुरू भएको छ । त्यो ‘फ्यान’ बनाउने शैलीमा नयाँ पात्र आउँदैछन्, रावल । बालेन शाह, हर्क साम्पाङ, रवि लामिछानेपछि सुरू हुँदैछ, भीम रावलको चर्चा । किनभने उनले देशभरमा तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र उनीहरूले नेतृत्व गरेका तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको उछित्तो काड्दैछन् । तीन पार्टीले देश बनाउन नसक्ने भएकाले अब उनले देश बनाउन आएको हुँकार गर्नेछन् ।
विगतका चेज एयर, कार्यकर्ता चप्पलमा हिँडिरहँदा नै काठमाडौंमा घर बनाउने प्रचलनको सुरूवातकर्ता, पारिवारिक हिंसा, आर्थिक अपारदर्शिता, नेता कार्यकर्तालाई दिएको दुःख र हप्कीदप्की जस्ता चर्चाका विषयहरू विरोधीले लगाएको आरोपमा सीमित रहनेछन् । बरू तीन पार्टीको गल्ती देखाउने क्रममा रावलबाट आउने गालीगलौजका शब्दले सामाजिक सञ्जाल राम्रैसँग रङ्गिने पनि छन् ।
सत्य हो, प्रमुख पार्टीले क्रान्ति र आन्दोलनको नेतृत्व गरे पनि परिवर्तनपछि देश बनाउने नेतृत्व गर्न सकेनन् र उनीहरूको शैली हेर्दा लाग्छ, उनीहरू त्यो बुताबाट बाहिर पुगिसकेका छन् । उनीहरूको लागि आफ्ना आसेपासेलाई ठाउँ र अवसर दिनु, पदमा टिकिरहनु, कर्मचारी संयन्त्रले ल्याएको विकास खाका र फाइल हु-बहु पारित गर्नु जस्ता विषय नै देश बनाउने माध्यम हुन् । त्यसैले उनीहरूलाई नेतृत्वबाट बिदाई या नयाँ शक्ति निर्माण आजको आवश्यकता हो । देशले त्यही खोजिरहेको छ, तर अहिले सतहमा आएका र आउन खोजेका पात्रबाट त्यो सम्भव हुने देखिँदैन ।
प्रमुख पार्टीका प्रमुख नेताहरूका सहयोगी नेताहरूमा टोपबहादुर रायमाझी जेलमा छन् । बालकृष्ण खाण तारेखमा छन् । रामबहादुर थापा बादल र कृष्णबहादुर महराका छोराहरू जेलमा छन् । उनीहरू निष्क्रिय हुन बाध्य छन् । विकेश श्रेष्ठहरू भागीभागी हिँडेका छन् । विभिन्न काण्ड सतहमा आएका छन् । समयक्रममा ती सबै विषय छानबिनभन्दा बाहिर हुने छैनन् । त्यसैले नेताहरूले जे गरे पनि बच्छन् भन्ने भाष्य गलत प्रमाणित हुनेछन् । यो सबै अहिलेको व्यवस्था र जनचेतनाकै कारण सम्भव भएको हो । यस्तो अवस्थामा गतिलो नेता आएर विगतका गलत काममाथि कारबाही गर्दै देशलाई नयाँ बाटोमा लाने नेतृत्व गरे हुने, तर त्यो काम रावलबाट सम्भव छैन । उनको प्रयास मात्र उनको लागि हो भन्ने बुझ्दा राम्रो ।
विभिन्न काण्ड सतहमा आएका छन् । समयक्रममा ती सबै विषय छानबिनभन्दा बाहिर हुने छैनन् । त्यसैले नेताहरूले जे गरे पनि बच्छन् भन्ने भाष्य गलत प्रमाणित हुनेछन् । यो सबै अहिलेको व्यवस्था र जनचेतनाकै कारण सम्भव भएको हो ।
अर्को पनि सत्य हो, रावललाई पछिल्लो चरणमा नेकपा एमालेले पेलेकै हो । अध्यक्षमा पराजित भएपछि उनले उचित जिम्मेवारी नपाएको हुनसक्छ । त्यो एमालेको आन्तरिक मामिला हो, तर उनले संसदीय निर्वाचनमा उम्मेदवारको टिकट नै नपाउनु उनीमाथि घोर अन्याय नै हो । रावलले जे भोगे, त्यो एमालेको, नेपालका कम्युनिष्ट नामधारी पार्टीको र अझ केपी शर्मा ओलीको शैली हो । अरू पनि त्यसबाट अछुतो छैनन् । समयक्रममा पछाडि परेका, पारिएका र नेताहरूको कोपभाजनमा परेका राम्रा नेता कार्यकर्ताहरू पलायन नै भएका धेरै उदाहरण छन् । त्यसैले रावलमाथिको कारबाही न पहिलो हो न त अन्तिम नै हुनेछ । बरू रावलको अबको कदमले राजनीतिमा कस्तो असर पर्छ भन्ने विषय हामी सबैको लागि एउटा चर्चाको विषय भने हो । अझ कम्युनिष्ट पार्टीको नाममा राजनीति गर्नेहरूको लागि एउटा उदाहरण हुनेछ र कम्युनिष्ट नामधारी पार्टी कसरी कमजोर हुनेछन् भन्ने अर्को शिक्षा दिनेछ । त्यसबाट कम्युनिष्ट नेताहरू सिक्दैनन्, त्यो बेग्लै कुरा हो ।
‘अन्ध राष्ट्रवाद’लाई बढावा
केही समय पहिले क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल)मा रोयल सुदूरपश्चिम समर्थकहरूबाट जनकपुर बोल्टसमाथि विभेदजन्य अभिव्यक्ति आयो । तल्लोस्तरका गालीगलौज र राष्ट्रियतामाथि नै आघात पर्नेगरी आएका त्यस्ता अभिव्यक्तिमाथि देशभरबाट नै आलोचना भयो । नेताहरूले चिन्ता व्यक्त गरे । प्रहरी प्रशासन सचेत भयो । सामाजिक सञ्जालमा रमाउने जमातले दिएको अभिव्यक्ति ‘स्याल हुइयाँ’ मात्र थियो भनेर सोच्नु मूर्खता हुनेछ । बरू नेपालमा इतिहासदेखि हुँदै आएको विभेद श्रृंखलाको एउटा नयाँ अध्याय थियो । व्यवस्था र सामाजिक परिवेश परिवर्तन भए पनि मानसिकतामा परिवर्तन नभएकाहरूको भित्री स्वरूप त्यसक्रममा प्रकट भएको थियो ।
भनिरहनु नपर्ला, त्यस्तो अभिव्यक्ति दिनेहरू आज भीम रावलका समर्थक बनेर आएका छन् र आउँदैछन् । सामाजिक सञ्जाल अनुगमन गर्ने हो भने त्यो प्रस्ट रूपमा देखिनेछ । आखिर रावलहरूले भाषा फरक फरक प्रयोग गरे पनि त्यस्तै सोच प्रकट गर्दै आएका छन् । रावलको विगतका अभिव्यक्ति हेर्ने हो भने उनी खस-आर्य र दलितसँग सम्बन्धित विषयमा बढी केन्द्रित छन् । सुदूरपश्चिमको तल्लो क्षेत्रमा घना बस्ती रहेको थारू समुदायमा उनी समर्थन या विरोधको नाममा केन्द्रित हुन खोजेको देखिन्छ, तर सुदूरपश्चिममा थोरै संख्यामा रहेका आदिवासी जनजाति, मधेशी समुदायका समस्या जस्ता विषयमा उनी नकारात्मक नै देखिन्छन् । वर्गीय समस्याको जलप लगाएर उनी त्यस्ता समुदायका मुद्दाबाट टाढा नै रहेको देखिन्छ । भौगोलिक दूरी र सुदूरपश्चिमको कारण उनी संघीयताप्रति सकारात्मक देखिए पनि समावेशीलगायतका मुद्दा उनको लागि प्राथमिकता होइन । बरू स्वाभिमानको नाममा उनले ‘अन्ध राष्ट्रवाद’को नारा उराल्दैछन् । शक्ति आर्जन गर्नेहरूको लागि धर्म र राष्ट्रियता गतिलो नारा हो ।
रावलले राष्ट्रियता र स्वाभिमानको नाममा ल्याउन लागेको ‘अन्ध राष्ट्रवाद’ले राम्रै चर्चा पाउनेछ । रावलले पार्टी गठन गर्दा सेना, प्रहरी र कर्मचारीबाट रिटार्यडहरूलाई आवद्ध गर्ने भनिसकेका छन् । नेपालमा सरकारी सेवामा रहेर माथिल्लो पदमा पुगेकाहरूमा देखिने साझा दृष्टिकोण के हो भने नेताले केही गर्न सकेनन्, गलत कामको लागि दबाब दिए र विदेशीको कठपुतली बनेर शासन गरे तथा राष्ट्र र राष्ट्रियताप्रति अडान राख्न सकेनन् । जीवनभर तिनै नेता र विदेशीको चाकडी गरेर ठाउँ पाएका उनीहरूले आफ्नै जीवनको अनुभबबाट त्यसो भनेका पनि हुनसक्छन् । छोराछोरीलाई विदेश पठाएर उतै नागरिक बनाइ गलत बाटोबाट पैसासमेत पठाएर उतै घरजम गराएका त्यस्ता व्यक्तिहरू रिटायर्डपछिको सहज जीवन जिउँदै देशको चिन्ता गर्छन् र राष्ट्रवादी हुन खोज्छन् । युट्युबमा कतै देखेको थिएँ, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भ्रष्टाचारीहरूलाई झुण्ड्याउनु पर्छ भनेर भाषण गर्दै थिए । हाँस्नु पनि कति ? राष्ट्र र राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्ने पूर्वजागिरेहरू आखिर त्यस्तै न हुन् ।
ढाका टोपी र दौरा सुरूवालको पहिरनलाई राष्ट्रियता ठान्ने जमातले सबैभन्दा बढी उराल्ने नारा नै राष्ट्रवादको हो । यसअघि पनि पटक पटक राष्ट्रवादको नारा उराल्ने शक्तिहरू देखिएका थिए, तर कालान्तरमा ती शक्ति प्राक्टिकल हुने नाममा अरूभन्दा केही फरक देखिएनन्, तर पनि बिकाउ हुने भएकाले राष्ट्रवादको नारा लागिरहेको छ ।
रावलले त्यस्तै व्यक्तिहरूलाई नै आफ्नो टीममा राख्ने होलान् । ढाका टोपी र दौरा सुरूवालको पहिरनलाई राष्ट्रियता ठान्ने जमातले सबैभन्दा बढी उराल्ने नारा नै राष्ट्रवादको हो । यसअघि पनि पटक पटक राष्ट्रवादको नारा उराल्ने शक्तिहरू देखिएका थिए, तर कालान्तरमा ती शक्ति प्राक्टिकल हुने नाममा अरूभन्दा केही फरक देखिएनन्, तर पनि बिकाउ हुने भएकाले राष्ट्रवादको नारा लागिरहेको छ । रावलले स्वाभिमान र राष्ट्रवादको नाममा ‘अन्ध राष्ट्रवाद’लाई नै बढावा दिनेछन् । जुन नारा एनपीएलको क्रममा प्रकट भएको थियो । शब्द र भाषा फरक होला, तर निष्कर्ष त्यस्तै आउनेगरी रावलले नारा लगाउनेछन् ।
विगतमा पनि ओली र रावलको दोस्ती हुँदा यस्तो नारा लागेकै हो । जसको परिणाम ओलीले अहिले भोगिरहेका छन् । भारत आउँछु नभन्दा पनि निम्तो पाएका छैनन् । जे भए पनि वालेन शाहले टिस्टादेखि कांगडासम्मको नेपालको नक्सा भित्तामा टाँस्नु तथा रावलले स्वाभिमान र राष्ट्रवादको नारा लगाउनु ‘अन्ध राष्ट्रवाद’ कै एउटा रूप न हो । त्यसले हुने केही होइन, मान्छेको भावनासँग खेल्ने र अनावश्यक विवाद सिर्जना गर्ने न हो ।
‘लोक रिझाइवाद’ को नाटक
नेपालमा पछिल्लो चरणमा जनता जे चाहन्छन्, त्यही भन्ने र जमात तयार गर्ने होडबाजी छ । राजनीतिक दल एउटा दर्शन, सिद्धान्त र मान्यतामा आधारित हुन्छ । त्यसले देश, समाज र मानवको विकास गर्छ भन्ने निष्कर्षको आधारमा आमजनतालाई त्यसबारेमा बुझाइ सत्तामा पुग्ने र त्यसलाई लागू गरी लक्ष्य हासिल गर्ने हो । व्यवहारमा लागू नभए पनि देशका प्रमुख तीन दल त्यसैमा केन्द्रित भएर आजसम्मको यात्रा तयार गरेको भन्छन् । उनीहरूको दस्तावेजले त्यही कुरा बोल्छ, तर व्यवहार भने ‘लोक रिझाइवाद’मा केन्द्रित हुन थालेको देखिन्छ ।
प्रविधिको विकासलाई गलत रूपमा प्रयोग गरेर नेता बन्नेहरूको भीडमा नै देखिन थालेका छन्, प्रमुख दलका आशालाग्दा भनिएका नेताहरू पनि । पछिल्लो चरणमा खुलेका नयाँ दल र स्वतन्त्र नामका पात्रहरूले ‘लोक रिझाइवाद’लाई पक्रेको देखिन्छ । रावल पनि अब त्यसै भीडमा नयाँ पात्र बनेर देखिनेछन् । यसले मत तान्न सजिलो त होला, तर देश र राजनीतिलाई दिशा दिनेछैन, तर बलियो हुने नाममा सबैले यही गर्दैछन्, नयाँ भनिएकाले सबैभन्दा बढी गर्दैछन् । रावलले पनि आफूलाई नयाँ भनेर यही गर्नेछन् । ‘लोक रिझाइवाद’कै लागि उनले ४० वर्षभन्दा बढी भाषण गर्दै आएको कम्युनिष्ट शब्दलाई तिलाञ्जली दिने कुरा सार्वजनिक भइसकेको छ । कम्युनिष्ट नामधारी धेरै भएको, कम्युनिष्ट नाम राखेपछि निश्चित विधि प्रक्रियामा बाँधिनुपर्ने लगायतका कारण ‘लोक रिझाइवाद’ लागू हुन नसक्ने भएकाले त्यसो गर्न लागेका हुन् ।
अन्ततः क्षेत्रीय दलमा सीमित हुने
संघीयता लागू भएका मुलुकहरूमा क्षेत्रीय दल बलियो देखिन्छ । अन्यत्र जे भए पनि नेपालमा सबैभन्दा बढी प्रभाव रहेको भारतमा क्षेत्रीय दल बलियो अवस्थामा छन् । सुरूमा बलियो रहेको कांग्रेस क्षेत्रीय दलसँगको लामो सहकार्यले आफैं थिलथिलो अवस्थामा छ । भारतीय जनता पार्टी त्यसबाट सिकेर क्षेत्रीय दलहरूमाथि हावी हुँदै अघि बढिरहेको छ ।
पछिल्लो चरणमा खुलेका नयाँ दल र स्वतन्त्र नामका पात्रहरूले ‘लोक रिझाइवाद’लाई पक्रेको देखिन्छ । रावल पनि अब त्यसै भीडमा नयाँ पात्र बनेर देखिनेछन् । यसले मत तान्न सजिलो त होला, तर देश र राजनीतिलाई दिशा दिनेछैन ।
नेपालको सन्दर्भमा मधेशमा क्षेत्रीय दल बलियो देखिन्छ । क्षेत्रीय दलभन्दा माथि उठेर राष्ट्रिय दल बन्न खोज्दा उपेन्द्र यादवले पटक पटक ठक्कर खाए । जति प्रयास गरे पनि उनी क्षेत्रीय दलभन्दा माथि उठ्न सकेनन् । अन्य मधेशवादी दल पनि त्यही हालतमा छन् । पूर्वमा पहिचान पक्षधरहरूले क्षेत्रीय दल बनाउन खोजे पनि सफल भएका छैनन् । एकले अर्कोलाई नस्वीकार्ने प्रवृत्तिले पूर्वमा क्षेत्रीय दल उदाउन नसकेका हुन्, तर राजनीतिक जमिन भने क्षेत्रीय दलको लागि प्रयासमा छ ।
गणतन्त्र घोषणालगत्तै यिनै भीम रावलहरूले क्षेत्रीय दल बनाउन प्रयास गरेका थिए । धेरै पार्टीका धेरै नेताहरू मिलेर पटक पटक छलफल पनि गरेकै हुन्, तर धेरै नेता धेरै विचारलगायतका कारण करिब डेढ दशक अघिको त्यो प्रयास सफल भएन । सामन्तवादको राम्रो प्रभाव रहेको सुदूरपश्चिम अन्य क्षेत्रसँग आक्रोशित छ । अस्तित्वको लडाइँमा छ भन्ने कुरा सुदूरपश्चिम क्षेत्रका नेता कार्यकर्ता, कर्मचारीलगायतको क्षेत्र संघीय राजधानी आइपुग्दा मुद्दामा एकजुट देखिन्छन् ।
अर्कोतिर नेपाली कांग्रेस केही बलियो रहेको सुदूरपश्चिममा शेरबहादुर देउवाको कांग्रेस नेतृत्वबाट बिदाइ, उनीपछिका नेताहरू एकले अर्कोलाई स्वीकार नगर्ने प्रवृत्ति, देउवाले श्रीमती आरजुलाई अघि सार्ने, तर जमिनले त्यसलाई स्वीकार नगर्नेलगायतका कारण कांग्रेस कमजोर हुँदैछ । एमाले माधव नेपालहरूको फुटबाट यसअघि नै कमजोर भइसकेको छ । माओवादी लेखराज भट्टहरूको बहिर्गमन र आन्तरिक विवाद एवं खिचातानीले बौरिन सकेको छैन । थारू बाहुल्य क्षेत्रमा बलियो देखिएका रेशम चौधरी पारिवारिक विवाद र लोभले कमजोर अवस्थामा पुगेका छन् ।
यसको फाइदा भीम रावलले उठाउन सक्छन् । ‘अन्ध राष्ट्रवाद र लोक रिझाइँवाद’ को नारा, राष्ट्रिय पार्टी छोडेर सुदूरपश्चिमको विकासको लागि आएको नाटकलगायतले उनलाई सुदूरपश्चिमा बलियो बनाउन सक्छ । नेकपा एमालेले स्वीकार नगरे पनि रावलको अहिलेको कदमले एमालेलाई अर्को फुट नभने पनि अर्को क्षति हुने निश्चित छ । देशव्यापी रूपमा सामान्य क्षति भए पनि सुदूरपश्चिममा एमालेलाई गम्भीर क्षति हुनेछ । कम्युनिष्ट नाम छोडेपछि अरू पनि जोडिने नै छन् ।
त्यसैले ‘अन्ध राष्ट्रवाद र लोक रिझाइवाद’को नाराले रावललाई देशभर हल्ला गर्ने ठाउँ बन्नेछ । त्यो सुदूरपश्चिमबाहेक अन्यत्र टिक्दैन होला, त्यो बेग्लै कुरा हो, तर सुदूरपश्चिममा भने क्षेत्रीय दल बन्नेछ । अहिलेको अवस्थामा मधेशपछि सुदूरपश्चिममा क्षेत्रीय दल आउँदैछ भन्न सकिन्छ । भविष्य के होला ? भविष्यले नै देखाउला, तर रावलको क्षेत्रीय दलको डेढ दशकअघिको सपना अब भने पूरा हुनसक्छ । हेरौं, कर्णाली र महाकालीमा धेरै बाढी आउँछ ।
दुई दिन टिक्दैनन रावल। लेखेर दिन्छु। एमालेलाई हाईसन्चो भाको छ ।