‘शेयर बजार जुवा घर होइन, तर केही व्यक्तिहरूले सट्टेबाजी जस्तो गराइदिएका छन्’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘शेयर बजार जुवा घर होइन, तर केही व्यक्तिहरूले सट्टेबाजी जस्तो गराइदिएका छन्’ (भिडिओ)

शेयर लगानीकर्ता संघका सल्लाहकार रौनियार भन्छन्- खराब कम्पनीको शेयर मूल्य उचाल्ने समूह नै सक्रिय छ

शेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता हुन् छोटेलाल रौनियार । उनी लामो समयदेखि शेयर बजारमा सक्रिय छन् । उनले नेपाली शेयर बजारको उतारचढाव नजिकबाट नियालिरहेका छन् । अहिले उनी निःशुल्क शेयर शिक्षासमेत सञ्चालन गर्दै आएका छन् । नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष एवं शेयर लगानीकर्ता संघका सल्लाहकार छोटेलाल रौनियारसँग नेपाली शेयर बजारका विविध विषयमा नेपाल प्रेसकर्मी रिता राउतले गरेको कुराकानीको सम्पादित अंशः

– तपाईं डेढ दशकदेखि पुँजी बजारमा सक्रिय हुनुहुन्छ । नेपालको पुँजी बजारको विकासक्रमलाई कसरी हेर्नुभएको छ ?

म शेयर बजारमा अचानक भित्रिएको हो । मेरो गार्मेन्ट फ्याक्ट्री बन्द भएपछि शेयरतिर लागेको थिएँ । म शेयर बजारमा छिर्दा नेप्से इन्डेक्स ११७५ थियो । त्यो बेला बाबुराम भट्टराईले शेयर बजार जुवाको घर हो भनेर भनिदिएपछि शेयर बजार दिनदिनै घट्यो । २९२ मा झर्‍यो । फ्याक्ट्री बन्द भएपछि शेयर बजारमा छिरेको मैले त्योबेला ७०-८० लाख घाटा व्यहोर्नुपर्‍यो ।

यो २०६५/६६ सालको कुरा हो । त्यसबेला कागजमा शेयर कारोबार हुन्थ्यो । कागज बोकेर ब्रोकर अफिसमा पुगेर कारोबार गर्नु पर्दथ्यो । ऋण लिएर शेयर बजारमा लगानी गरेको थिएँ । गार्मेन्ट बन्द भएपछि ऋण लिएर शेयर छिरेको मैले यहाँ पनि घाटा व्यहार्नुपर्‍यो । त्यसपछि मैले शेयर बजारबारे अध्ययन गरें । घटेको बेलामा लगानी गर्नु राम्रो हो भन्ने निष्कर्षमा पुगे र लगानी बढाएँ । मैले भ्यालु इन्भेस्टमेन्ट गरे । बजार घटे पनि मेरो नाफा कम हुन थाल्यो, तर साँवा भने गुमाउनु परेन । लगानी गर्नु अगाडि मैले धेरै नै अध्ययन गर्न थालें । बजारको हल्लाको पछि लागेर मैले लगानी गरिन् ।

कोरोना महामारीपछि नेपालमा शेयर लगानीकर्ताहरू बढे । मैले शेयर बजारमा प्रवेश गर्दाको समय र अहिलेको समयलाई हेर्ने हो भने पुँजी बजारको विकास र विस्तार भएको छ, तर अन्य देशहरूको तुलनामा हेर्ने हो भने नेपालको पुँजी बजारको विकास कछुवाको तालमा भइरहेको छ । नेपालको पुँजी बजारको विकास र विस्तारको काम धेरै नै बाँकी छ । अनलाइन मैत्री शेयर बजार भइरहँदा व्यवस्थित भने हुन सकेको छैन ।

– लगानीकर्ताहरूमा शेयर शिक्षाको कमी भएको हो कि बढेकै बेलामा मात्रै किन्नुपर्छ भन्ने बानी लागेको हो ?

हाम्रा लगानीकर्ताहरूमा शेयर शिक्षाको कमी छ । उनीहरू हरियो भएको बेलामा किन्न जान्छन्, तर रातो भएपछि बेचेर भाग्न खोज्छन् ।

कतिपय लगानीकर्ताहरु अर्काको लहलहैमा लागेर किनबेच गर्ने गर्छन् । एउटा समूह हुन्छ । उनीहरू लो क्यापको शेयर किन्छन् । भाउ उचालिदिन्छन् । यस्तो अवस्थामा साना लगानीकर्ताहरू फस्ने गरेका छन् । कम्पनीको अवस्था राम्रो छैन है भन्दाभन्दै लगानीकर्ताहरू त्यो कम्पनीको शेयर किन्छन् ।

– यो उदाहरण त कर्णाली डेभलपमेन्ट बैंकमै देखिहाल्यौं नि ! राष्ट्र बैंकले समस्यामा रहेको बताएकै भोलिपल्ट शेयर मूल्यमा सकारात्मक सर्किट लगाइयो । यसको शेयर किनेकाहरूको अर्बौं रुपैयाँ होल्ड भएको छ । यसबाट लगानीकर्ताले के पाठ सिक्ने ?

यसमा लगानीकर्ताहरू जानाजान फसेका हुन् । कम्पनीको विषयमा सबै थाहा हुँदाहुँदै किन लगानी गर्नु ? लगानीकर्ताहरू किन जानीजानी यस्ता खराब कम्पनीहरूमा लगानी गर्छन् भनेर आजसम्म मैले जवाफ पाएको छैन । नराम्रा कम्पनीमा आफैं होमिएर गुमाउँछन् अनि शेयर बजार जुवाको घर हो भनेर आफैं भन्दै हिँड्छन् । कर्णालीमा मात्रै होइन अन्य कमजोर धेरै कम्पनीहरूमा लगानीकर्ताहरू फसेका छन् । यो पहिलो होइन, पहिले गोर्खा फाइनान्समा पनि भएकै हो ।

एउटा समूह हुन्छ । उनीहरू लो क्यापको शेयर किन्छन् । भाउ उचालिदिन्छन् । यस्तो अवस्थामा साना लगानीकर्ताहरू फस्ने गरेका छन् । कम्पनीको अवस्था राम्रो छैन है भन्दाभन्दै लगानीकर्ताहरू त्यो कम्पनीको शेयर किन्छन् ।

आफूले दुःख गरेको पैसा कमजोर कम्पनीमा लगानी गर्न हुँदैन । अन्य राम्रा कम्पनीहरू थुप्रै छन् । ती कम्पनीहरूमा लगानी गर्नुपर्छ । पहिले त लगानीकर्ताहरू आफू शिक्षित हुनुपर्छ । कर्णालीमात्रै होइन, खराब कम्पनीहरूमा धेरै लगानीकर्ता फसेका छन् । दायराभन्दा बाहिर गएका कम्पनीहरूलाई नियामक निकायहरूले तुरुन्तै कारबाही गर्नुपर्छ । तुरुन्तै कारबाही गर्ने हो भने धेरै लगानीकर्ता फस्दैनन् ।

– कमजोर कम्पनीहरूको शेयर मूल्य उच्च हुने गरेका उदाहरणहरू हामीमाझ थुप्रै छन् । केही निश्चित व्यक्ति तथा समूहले शेयर मूल्य बढाउने गरेका छन् भन्ने पनि छ । कमजोर कम्पनीको शेयर मूल्य किन उचालिइन्छ ?

हाम्रोमा सर्कुलर ट्रेडिङ हुन्छ । एउटा समूहले २०-३० करोड जम्मा गर्छन् । त्यो पैसाले उनीहरूले शेयर किन्छन् र भाउ बढाउँदै लैजान्छन् । आफूले कमाउँछन् अनि बेचेर बाहिरिन्छन् । उनीहरूले शेयर कम रहेको कम्पनीहरूलाई तार्गेट गर्छन् । यस्तोमा सोझा लगानीकर्ता फस्ने गरेका छन् ।

हाम्रोमा कारोबार बन्द हुनुभन्दा एकदुई मिनेट अगाडि शेयर मूल्यमा सर्किट लगाइन्छ । कर्णाली डेभलपमेन्ट बैंक समस्यामा रहेको सूचना निकालेकै भोलिपल्ट शेयर मूल्यमा सर्किट लाग्यो । यो जस्तो खराब काम अन्त कहीँ हुँदैन । यसमा नियमनकारी निकायमात्रै होइन, शेयर लगानीकर्ताहरूको पनि दोष छ । यससँगै हाम्रोमा नियामक निकाय कमजोर छ ।

– शेयर बजारमा साना लगानीकर्ता धेरै फस्ने गरेका छन् । बजारमा साना लगानीकर्ताहरूले सुरक्षित लगानी कसरी गर्ने ?

कुनै कम्पनीको शेयर किन्नु अगाडि त्यस कम्पनीको बारेमा बुझ्नुपर्छ । आफूले लगानी गर्न लागेको कम्पनीको विगत र हालको अवस्थाबारे अध्ययन गर्नुपर्छ । त्यससँगै बजार कतातिर गइरहेको छ भनेर पनि हेर्नुपर्छ ।

केही नदिने कम्पनीहरूमा मूल्य बढेको छ भन्दैमा लगानी गर्न हुँदैन । शेयर किन्दा अरूको पछि लागेर हल्लाकै आधारमा किन्ने होइन । हल्लाको पछि लागेर शेयर किन्दा फस्न सकिन्छ । हल्लाले केही दिने होइन, कम्पनीको अवस्थाले प्रतिफल पाइने हो । बजार ग्रिन भएर एउटा लेभलमा पुगिसकेको बेलामा पनि लगानी गर्न हुँदैन । भ्यालु इन्भेस्टमेन्ट गर्ने हो । कतिपय लगानीकर्ता बजार घटेको बेलामा किन्न नै चाहँदैनन् । अझ घट्छ भन्छन्, तर बजार घटेर एक लेभलमा आइसकेपछि मात्रै किन्ने हो ।

– डिम्याट खाता खोल्नेहरू र दोस्रो बजारमा सक्रिय रहेका लगानीकर्ताहरूको सङ्ख्यामा ठूलो अन्तर छ । दोस्रो बजारमा आउन डराइरहेका लगानीकर्ताहरूलाई कस्तो सुझाव दिनुहुन्छ ?

पहिलो कुरा त कसैले पनि साधारण शेयर (आईपीओ) भर्न नछाड्नुस् । दोस्रो बजारमा आउनु अगाडि भने अध्ययन नगरी नआउन सुझाव दिन्छु । बजारको अध्ययन गरेर, भ्यालु इन्भेस्टमेन्टहरु बुझेर, कम्पनीको वित्तीय अवस्था हेरेर, आफूभन्दा सिनियर लगानीकर्ताहरुसँग सोधपुछ गरेर र शेयर शिक्षा लिएरमात्रै आउनुपर्छ ।

बजार ग्रिन भएर एउटा लेभलमा पुगिसकेको बेलामा पनि लगानी गर्न हुँदैन । भ्यालु इन्भेस्टमेन्ट गर्ने हो । कतिपय लगानीकर्ता बजार घटेको बेलामा किन्न नै चाहँदैनन् ।

नराम्रो कम्पनीमा लगानी गर्नु भनेको जुवा घर जस्तै नै हो । पुँजी बजार जुवा घर होइन, यो उत्पादनशील क्षेत्र नै हो, तर केही व्यक्तिहरूले शेयर बजारलाई जुवा घर बनाइदिएका छन् । सट्टेबाजी जस्तो गराइदिएका छन् । त्यस्तोमा लगानीकर्ताहरू फस्न हुँदैन । शुरुमै लगानी गर्दा ऋण लिएर लगानी गर्न हुँदैन । आफ्नै पैसा थोरैथोरै गरेर लगानी गर्नुपर्छ । शेयर बजारमा सधैं बसिरहने हो भने कहिले पनि गुमाइँदैन । मैले शुरुमा गुमाए पनि आजका दिनमा कमाइरहेकै छु ।

– नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषयले चर्चा पाइरहेको छ । यसबारे तपाईंको धारणा के छ ?

हामीले १२-१३ वर्षदेखि नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ भनेर भनिरहेका छौं । अहिले भइरहेको नेप्सेमा सुपारी खाएर, घाम तापेर दिन बिताउने खालको छ । अहिलेको नेप्सेले राम्रो काम गरेको छैन । त्यसैले पनि नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ ।

बाहिरको लगानी आउन थाल्यो भने अहिलेको नेप्सेले काम गर्न सक्दैन । नयाँ तरिकाले स्ट्यान्डर्ड एक्सचेञ्ज ल्याउनुपर्छ । नयाँ आएपछि प्रतिस्पर्धी पनि हुन्छ । प्रतिस्पर्धा नभएकोले पनि गुणस्तर राम्रो नभएको हो । नयाँ स्टक एक्सचेञ्ज ल्याएपछि पुरानो पनि सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा छ । अहिलेकोलाई प्रतिस्पर्धी बनाउन र गुणस्तरीय सेवा दिन नै भए पनि नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर