इजलासमा रविः हाम्रो बैंकिङ कारोबारका विषयमा मिडियाले अफवाह फैलाए, अदालतले बोलोस् – Nepal Press

इजलासमा रविः हाम्रो बैंकिङ कारोबारका विषयमा मिडियाले अफवाह फैलाए, अदालतले बोलोस्

रविलाई न्यायाधीशको प्रश्न- अस्पताल भर्ना हुनु भएन छ नि ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध मिडिया ट्रायल भइरहेको गुनासो अदालतको इजलासमै गरेका छन् । उनले आफ्नो र पत्नीको बैंकिङ कारोबारका बारेमा अफवाह फैलाइएको भन्दै न्यायाधीशबाट यस विषयमा आदेशको मागसमेत गरे ।

लामिछानेको आठौं पटकको म्याद थप कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको थियो । इजलासमा बहस सुरु हुनुअघि नै न्यायाधीश बेल्बासेले लामिछानेलाई ‘अस्पताल भर्ना हुनु भएन छ नि भनेर सोधेका थिए ।

मंसिर २७ गते प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लैजाँदा चिकित्सकले रक्तचाप बढेका कारण अस्पताल भर्ना हुन सल्लाह दिएका थिए, तर लामिछानेले भर्ना हुन मानेका थिएनन् ।

न्यायाधीश बेल्बासेलाई लामिछानेले जवाफ दिए, ‘दम्भले होइन, कसैलाई देखाइदिऊँ भनेर पनि होइन श्रीमान, आत्मविश्वासका कारण अस्पताल भर्ना नभएको हुँ । आत्मबलले नै भर्ना हुनुपर्छ भनेको भए, हुन्थे पनि । गाह्रो भएको भए नजिकै थियो, गइहाल्थें ।’

रविले आफू गृहमन्त्री हुँदा बनाएको कार्यविधिका कारण पनि अस्पताल भर्ना हुन असजिलो भएको बताए ।

‘श्रीमान म गृहमन्त्री हुँदा हिरासत छल्न अस्पताल बस्ने प्रवृत्ति निरुत्साहित गर्न कार्यविधि बनाएको थिएँ, त्यही कार्यविधिका कारण पनि…’, रविले भने ।

त्यसपछि म्याद थपबारेको बहस सुरु भयो ।

सुरुमा जाहेरवालाका कानून व्यवसायीले अभियोगपत्र तयार गर्नुपर्ने चरणमा रहेकाले सरकारी वकिलले मागेअनुसार म्याद दिन अनुरोध गरे ।

सरकारी वकिलले बहसका क्रममा प्रहरीले हिजोमात्रै अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै अभियोगपत्र तयार गर्न बाँकी चार दिन पर्याप्त नरहे पनि त्यसभित्रै मुद्दा ल्याउनुपर्ने बाध्यताका कारण आफूहरु चापमा रहेको बताए । थुनछेक बहसका लागि अदालतमा उपस्थितिको सुनिश्चितताका लागि पनि रवि लामिछानेसहितलाई हिरासतमै राख्नुपर्ने सरकारी वकिलको माग थियो ।

रवि लामिछानेका कानून व्यवसायीले भने प्रहरीले अनुसन्धान सकेर प्रतिवेदनसमेत बुझाइसकेको अवस्थामा थप हिरासतमा राख्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने भन्दै हाजिरी जमानीमा रिहा गर्नुपर्ने माग गरेका थिए ।

‘आरोपितविरुद्ध प्रमाण संकलनको चरण सकियो । उहाँले बयान पनि दिइसक्नु भयो । प्रहरीले अनुसन्धानको प्रतिवेदन नै सरकारी वकिललाई बुझाइसक्यो’, बहसका क्रममा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले भने, ‘अनाहकमा थप चार दिन थुन्नु भनेको न्याय प्रणालीप्रतिकै घात हो ।’

रवि लामिछानेको तर्फबाट बहस गर्ने अन्य वकिलले पनि अनुसन्धानको चरण पूरा भइसकेको, लामिछाने भागी, उम्की जाने आधार र कारण नरहेको र अनुसन्धानमा झैं मुद्दाको चरणमा पनि लामिछानेले अदालतलाई सहयोग गर्ने भन्दै थुनामुक्त गर्नुपर्नेमा जोड दिएका थिए ।

करिब आधा घण्टामा दुवै पक्षको बहस सकिएपछि न्यायाधीश बेल्बासेको अनुमति लिएर लामिछानेले बोले ।

रविले भने, ‘म यत्तिका दिन त हिरासतमा बसिसकें, अनुसन्धानलाई सघाइसकें । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहिँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुरा चाहिँ के छ भनेर मैले पटकपटक सोधें । जवाफ आजसम्म पाएको छैन । यसलाई समाएका कारण हामीले यो प्रमाण जोगायौं, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौं भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थें श्रीमान ।’

न्यायाधीश बेल्बासेले एक वाक्यमा जवाफ दिए, ‘तपाईंको यो अनुभव पछि काम लाग्छ ।’

त्यसपछि रविले आफूमाथि मिडिया ट्रायल जारी रहेको गुनासो सुनाए ।

‘श्रीमान, हाम्रो (श्रीमती निकितातर्फ देखाउँदै) बैंक खाता र कारोबारबारे मिडियाबाट अफवाह फैलाइएको छ । अनुसन्धानबाट खुलेको भन्दै कुनै मिडियाले यति करोड भनेको छ, कुनैले उति करोड । हाम्राविरुद्ध अति नै मिडिया ट्रायल भयो । यसका कारण मेरी श्रीमती पनि निकै दबाबमा परेकी छन् । गलत समाचारविरुद्ध कति पटक प्रेस काउन्सिल जाऔं, कतिलाई मुद्दा हालौं, अचाक्ली नै भइसक्यो श्रीमान । श्रीमानले आजको आदेशमा यसबारे केही उल्लेख गरिदिनु पर्‍यो’, रविले आग्रह गर्दै भने ।

न्यायाधीश बेल्बासेले ‘हेरौंला नि त’ मात्रै भने ।

लिखित आदेशमा यसबारे उल्लेख नरहे पनि न्यायाधीश बेल्बासेले प्रहरीलाई मौखिक आदेश दिँदै त्यसतर्फ गम्भीर हुन भनेका छन् ।

रवि लामिछानेको हकमा आठौं पटक म्याद थप्दाको आदेशमा भनिएको छ, ‘… अनुसन्धान प्रतिवेदन समेतको विश्लेषण गरी प्रतिवादीहरुलाई मुद्दा चल्ने नचल्नेतर्फ निर्णय गर्नेलगायतको कार्य गरी अभियोगपत्र तयार गर्ने कार्य भइरहेको हुँदा पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरी हिरासतमै नराखी छाडिदिँदा निजहरु भाग्न, उम्कन सक्ने सम्भावना रहेको भन्नेसमेत प्रयोजन खुलाई देहायका प्रतिवादीहरुको हकमा म्याद थप माग भएको देखिँदा प्रतिवादीहरु पाँच जनाको हकमा म्याद थप गर्न मनासिव देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर