लोडसेडिङबारे कुलमान- माथिल्लो तामाकोशी नआएसम्म औद्योगिक क्षेत्रमा साँझ विद्युत कटौती


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत केही कटौती हुने जनाएको छ ।
हिउँद याम सुरु भएसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने भएकाले औद्योगिक क्षेत्रको विद्युत केही कटौती हुने प्राधिकरणले स्पष्ट पारेको हो ।
उसले पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत आयात गर्न नपाएको र चिसोका कारण यही समयमा विद्युतको माग बढेको जनाएको छ ।
यस वर्ष सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पारे ।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत सम्भार भइरहेको घिसिङले बताए ।
विद्युत माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणले जनाएको छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (२०२५ मार्च १५) सम्म ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावाट विद्युत आयात अनुमति दिएको छ ।
तर पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि चैत ३ देखि २०८२ असार १६ (२०२५ मार्च १६-जुन ३०) सम्म सोलार आवर अर्थात बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए ।
‘पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो’, उनले भने, ‘माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत केही कटौती गर्नुपर्ने अवस्था छ ।’