हत्याको आरोपमा मकवानपुरबाट तीनजना पक्राउ


हेटौँडा । मकवानपुर प्रहरीले हत्याको आरोपमा मकवानपुरबाट तीनजनालाई पक्राउ गरेको छ ।
युवकलाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
मकवानपुर राक्सिराङ गाउँपालिका ५ इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समीर सुनारको शव शुक्रवार फेला परेको थियो ।
उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो ।
उनको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धानको क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँड्ने साथी भएको बताएको छ ।
पक्राउ गरिएका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य भइरहेकाले प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।