चितवनले जनकपुरलाई हराउँदा बाहिरिए पोखरा र विराटनगर


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा रोकियो ।
बलिङमा सोहिल तनविर, कप्तान कुशल मल्ल र रिजन ढकालले २(२, अमर रौटेलाले एकएक विकेट लिए । जनकपुरका जिमी निशमले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् ।
त्यसअघि टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । ५५ रनमा ३ विकेट गुमाएको चितवनका मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरेका हुन् । मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ प्रहार गरे । बोपारा ४४ रन आउट भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।
बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एकएक विकेट लिए ।
चितवनले जनकपुरलाई पराजित गरेसँगै विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।
विराटनगर र पोखरा समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौं र सातौं स्थानमा छन् । दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ । तर, चितवनले ८ अंक जोडेसंगै पोखरा र विराटनगर औपचारिक रुपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।
विराटनगर र पोखराको एक खेल खेल्न बाकी हुँदा समान ४ अंक छ । लिग चरणको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ पुग्न सक्दैन । अब चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् ।