एमालेको राष्ट्रिय कार्यशाला र आमकार्यकर्ताको अपेक्षा – Nepal Press

एमालेको राष्ट्रिय कार्यशाला र आमकार्यकर्ताको अपेक्षा

नेकपा एमालेले पार्टी काममा देखिएको समस्या र समाधानको लागि मंसिर २९ र ३० गते राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । पार्टी नेतृत्वप्रति निरन्तर निराधार आरोप लगाई आक्रमण गरिरहँदा र गलत कुराको मिडिया ट्रयाल हुँदासमेत एमाले नेता तथा कार्यकर्ताले वैचारिक प्रतिकार नगर्दा जनतामा भ्रम पैदा हुन गएको महसुस गरी देशभरिबाट जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभागसहित जनसंगठन र प्रदेशबाट गरी ३०१ जनाबीच दुई दिन कार्यशाला गर्न लागिएको हो ।

आजको वस्तुस्थिति

नेकपा एमाले नेपालको प्रमुख राजनीतिक पार्टी र सरकारको नेतृत्व गरेको पार्टी हो । २०७२ सालको सविधान निर्माणको समयमा भूमिका र संविधान निर्माणपछि सरकारको नेतृत्व गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले खेलेको भूमिका र उनको व्यक्तित्वको कारण नेकपा एमालेले २०७४ सालको संघीय निर्वाचनमा लोकप्रिय मत (३२ लाख) र १२१ सीट ल्याउन सफल भएको थियो ।

तत्कालीन समयमा (२०७७) देशीविदेशी शक्ति, तथाकथित नागरिक समाज, वरिष्ठ अधिवक्ता भनाउँदाहरु तथा केही निश्चित पत्रकार र मिडियाहरुको आडमा प्रचण्ड तथा माधव नेपाललगायतका केही नेताहरुले तत्कालीन प्रम तथा नेकपा अध्यक्ष केपी ओलीलाई घेराबन्दीमा पारेर पार्टी फुटाउनमात्र सफल भएनन्, अदालतको समेत प्रयोग गरेर सत्ताच्युत गर्न सफल भए ।

२०७९ सालको संघीय निर्वाचनमा नेकपा एमालेको विरुद्धमा महागठबन्धन नै बन्यो । एमालेले पनि जसपा र राप्रपासँग केही निश्चित ठाउँमा तालमेल गर्‍यो । त्यो तालमेल खासै उपलब्धिमूलक भएन, तर पनि महागठबन्धनविरुद्ध एमालेले समानुपातिकमा २८ लाख ल्याएर पहिलो तथा ७९ सीट सम्रगमा संसदमा दोस्रो ठूलो दल बन्न सक्यो ।

एमालेमा अधिकांश नेताहरुको कार्यशैली, जीवनशैली र आचरण राजसी खालको छ । त्यो तत्कालै परिवर्तन गर्न आवश्यक छ ।

पार्टी कामको अनुगमन तथा मूल्याङ्कन

  • एमालेमा अहिले सबैभन्दा ठूलो समस्या भनेको पद हो ।
  • पद विनाकाम गर्दा नेता बनिँदैन भन्ने गलत भाष्य हावी हुँदै गएको छ ।
  • पछिल्लो समयमा वैचारिक बहस अत्यन्त कम हुने गरेको छ । फरक मत र विचारलाई निषेध गरेपछि नेतृत्वको गलत कार्यविरुद्ध कोही बोल्दैनन् ।
  • अहिले कामलाई भन्दा नेतालाई र नेताले चिनेको, विश्वास गरेको, नेताको लागि खर्च गर्न सक्ने र नेताले रुचाएको व्यक्तिमात्र नेता बन्न थाले ।
  • पुराना तथा इमानदर कार्यकर्ता पुस्ता चुप लागेर बसेको अवस्था छ ।
  • विभिन्न जनवर्गीय संगठनको केन्द्रमा काम गरेका एक तहका नेता कार्यकर्ताहरु वडा तथा शाखा कमिटीमा बसेर काम गर्न नरुचाएकै कारण वडा कमिटी र इलाका कमिटीमा नेतृत्वको अभाव रहेको देखिन्छ ।
  • जिल्ला कमिटी निश्चित संख्याको हुन्छ । त्यसमा पनि क्षेत्रीय, लैङ्गिक, भेगीय आदि समेट्नुपर्ने भएको हुँदा निश्चित संख्याले बाहेक सबैले भूमिका नपाउने स्वाभाविक हो, तर अधिकांश नयाँ कार्यकर्ताहरु तल्लो कमिटीमा बस्न नचाहने समस्या छ ।

पार्टी नेताको कार्यशैली, जिवन शैली र आचरण

  • एमालेमा अधिकांश नेताहरुको कार्यशैली, जीवनशैली र आचरण राजसी खालको छ । त्यो तत्कालै परिवर्तन गर्न आवश्यक छ ।
  • विशेषगरी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, प्रदेश र संघीय तहमा निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति उत्तदायी हुनुपर्छ ।
  • नेताहरु कार्यकर्तामुखी र कार्यकर्ताहरु जनतामुखी हुनुपर्छ ।
  • शहरमुखी कार्यकर्तालाई गाउँमुखी र जनतामुखी बनाउनुपर्छ ।
  • सुमेरु पर्वतको परिक्रमा गर्नेलाई भन्दा गणेश प्रवृत्ति हुनेहरुलाई नेताहरुले लाभको पद र अवसर दिन अन्त्य गर्नुपर्छ ।
  • व्यक्तिको गुण, क्षमता, विशेषता र योग्यताको आधारमा जिम्मेवारी दिनुपर्छ ।
  • पार्टीका पुराना कार्यकर्ताहरु, जसले भूमिगत कालदेखि अहिलेसम्म पार्टी आन्दोलनलाई उठाउन आफ्नो क्षमताअनुसार योगदान दिइरहेका छन्, ती कार्यकर्ताहरुलाई पार्टीमा सक्रिय बनाउनुपर्छ ।

नेकपा एमालेको विषयगत विभागहरुले सबै कमिटी र विज्ञहरुबाट छलफल गरी अब पार्टीले लिने नीतिमा र विचारमा स्पष्ट कार्ययोजना निर्माण गरी सरकारमार्फत कार्यान्वयन गर्नुपर्छ ।

  • पार्टीभित्रको आन्तरिक निर्वाचन जित्न, पार्टी सदस्य थोकमा विस्तार र नवीकरण गर्नुभन्दा जनसंगठनमा काम गरेको वा पार्टीमा योगदानको आधारमा प्रशिक्षणपश्चात पार्टी सदस्यता दिनुपर्छ ।
  • एक व्यक्ति एक पद, अनुभव र विशेषज्ञताको आधारमा जिम्मेवारी दिने नीति लिनुपर्छ ।
  • नेताको कुरा सुन्नेमात्र होइन, कार्यकर्ताको कुरा पनि सुन्ने बानी बसाल्नुपर्छ ।
  • नेकपा एमालेको विषयगत विभागहरुले सबै कमिटी र विज्ञहरुबाट छलफल गरी अब पार्टीले लिने नीतिमा र विचारमा स्पष्ट कार्ययोजना निर्माण गरी सरकारमार्फत कार्यान्वयन गर्नुपर्छ ।
  • सरकार सञ्चालन गर्दा पार्टीको नीतिअनुसार काम भए-नभएको समीक्षा गरी निर्देशन दिनुपर्छ ।
  • विश्व परिवेश र प्रविधिमा आएको परिवर्तनसँगै हामीले हाम्रो नीति तथा कार्यक्रम बदल्नुपर्छ ।
  • हाम्रो कमिटीका बैठक तथा प्रशिक्षणमा कार्यकर्ता कसरी उत्पादन गर्ने भन्ने विषयमात्र होइन, सीप र उत्पादनको वृद्धि कसरी गर्न सकिन्छ भनेर सीप र ज्ञान सिकाउन आवश्यक छ ।
  • विदेशमा रहेका युवालाई देश निर्माणको लागि स्वदेशमा लगानी गर्न आह्वान गरिनुपर्छ ।
  • एक कमिटी एक स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
  • पार्टी सदस्यता नवीकरण र विस्तारको लागि प्रशिक्षण अनिवार्य गर्नुपर्छ ।
  • वैचारिक र अनुशासित पार्टी सदस्य नै आजको आवश्यकता हो ।
  • कार्यकर्ताले चाहँदा नेतृत्वलाई भेटेर सुझाव दिनसक्ने वातावरण निर्माण गरिनुपर्छ । ६ लाख पार्टी सदस्य र आमजनताले गर्व गर्नसक्ने पार्टी निर्माण गर्नुपर्छ ।

आर्थिक विकासमार्फत समृद्ध राष्ट्र निर्माणको काम शुरुवातमात्र भएका परिवेशमा नेकपा एमालेले आफ्नो राजनीतिक र सांगठनिक गतिविधिमा प्याराडाइम सिफ्ट गरी पार्टीले अंगीकार गरेको आर्थिक नीतिलाई सरकारमार्फत कार्यान्वयन गर्न, जनतासम्म बहस पैरवी गर्न र युवाहरुलाई आश जगाउन सक्नुपर्दछ ।

आर्थिक सामाजिक रुपान्तरण र जनचासोको विषय

नेकपा एमालेको अहिलेको कार्यभार भनेको राष्ट्रिय उत्पादनको वृद्धि, राष्ट्रिय पुँजीको विकासका लागि सामाजिक न्याय र समानतामा आधारित सामाजिक-आर्थिक रुपान्तरण र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नु हो । यसका लागि पार्टी र सरकार दुवैले यसमा योजना बनाएर काम गर्नु आवश्यक छ ।

देशमा राजनीतिक परिवर्तन भयो, तर औद्योगिक क्रान्ति हुन सकेन । राजनीतिक परिवर्तनको सफल नेतृत्व गरेका राजनीतिक पार्टीहरुले औद्योगिक र आर्थिक रुपान्तरणको नेतृत्व गर्न सकिरहेका छैनन् । व्यवस्था परिवर्तनमा लडेका राजनीतिक नेतृत्व, कार्यकर्ता र आमजनताको मानसिकता पनि बदलिएको छैन । आर्थिक विकासमार्फत समृद्ध राष्ट्र निर्माणको काम शुरुवातमात्र भएका परिवेशमा नेकपा एमालेले आफ्नो राजनीतिक र सांगठनिक गतिविधिमा प्याराडाइम सिफ्ट गरी पार्टीले अंगीकार गरेको आर्थिक नीतिलाई सरकारमार्फत कार्यान्वयन गर्न, जनतासम्म बहस पैरवी गर्न र युवाहरुलाई आश जगाउन सक्नुपर्दछ ।

नेकपा एमाले उद्यमशीलता विकासमार्फत उत्पादन वृद्धि गरी आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिर्भर पार्टी र समृद्ध राष्ट्र निर्माणको अभियानलाई स्थापित गरेर सांगठनिक अभियान चलाउनुपर्छ । खास गरेर राजनीति भन्नेबित्तिकै चुनाव, सत्ता र सरकार, दिनदिनैको भाषण र आश्वासन, पार्टीहरुबीचको झगडाले नेपाली जनता वाकदिक्क भएकाले आर्थिक सामाजिक रुपान्तरण र जनचासोको विषयका कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको छ ।

अन्तमा, देशका विभिन्न स्थानहरुबाट काठमाडौं उपत्यकामा आई अध्ययनरत, रोजगार तथा स्वरोजगार र विभिन्न पेशा व्यवसायमा संलग्न युवाविद्यार्थीहरुबीच पार्टी पुग्न आवश्यक छ । त्यसका लागि निम्न लिखित बुँदाहरु कार्यान्वयन गर्न सकियो भने नवयुवामाझ पार्टीको गतिविधि पुर्‍याउन सकिन्छ ।

  • हाम्रा संगठनहरुले युवालाई राजनीतिक पार्टी र सरकारप्रति सकारात्मक सोचको विकास गराउन,
  • युवाहरुमा मुर्छित सपनाहरुलाई जागृत गराउन,
  • नेपालमा सम्भव छ भन्ने विश्वास दिलाउन,
  • देशले मलाई के दियो होइन, मैले देशलाई के दिन सक्छु भन्ने सोच विकास गर्न,
  • देशमै उद्यम व्यवसायमार्फत रोजगार सृजना गर्न चाहने युवालाई भरोसा र साथ दिन,
  • नेपाल बन्छ, बनाउनु पर्छ र देश बनाउन हामी सबैको भूमिका आवश्यक छ भन्ने अभियान र कार्यक्रम अगाडि सार्न आवश्यक छ ।

(लेखक खत्री नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

2 thoughts on “एमालेको राष्ट्रिय कार्यशाला र आमकार्यकर्ताको अपेक्षा

  1. घेरै गफ गर्नै पर्दैन,
    शिक्षा कस्तो हुने
    स्व्स्थ्य कस्तो हुने
    रोजगारि सृजना करि गर्ने
    भ्रष्टचार नियन्त्रण कसरि गर्ने
    नेतालाई जबाफदेहि बनाउने काम मात्र गरौन

Leave a Reply

Your email address will not be published. Required fields are marked *