एनसेल फाउन्डेसनले एनपीएलको चौका वापत १५ सय शैक्षिक सामग्री वितरण गर्ने   – Nepal Press

एनसेल फाउन्डेसनले एनपीएलको चौका वापत १५ सय शैक्षिक सामग्री वितरण गर्ने  

काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५ सय वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ । यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका वापत चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो ।

बुधबारसम्म खेलिएका १९ वटा खेलहरूमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने जनाइएको छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काका अनुसार नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने खेल मध्येमा क्रिकेट भएकाले यो पहलले खेलमा रोमाञ्चकता थपेका छ । यसले सहयोग र स्रोत बढी आवश्यकता भएकाहरुसम्म आवश्यक सहयोग पुर्याउन मद्दत गर्दछ । एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामाग्रीहरू पुर्‍याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *