नेकपाको उत्पादन सङ्घर्ष र नयाँ प्रयोग – Nepal Press

नेकपाको उत्पादन सङ्घर्ष र नयाँ प्रयोग

जनमानसमा विप्लव पार्टी पनि भनेर स्थापित नेपाल कम्युनिष्ट पार्टी अहिले उत्पादन र राजनीतिक गतिविधिलाई सन्तुलित बनाएर अगाडि बढिरहेको छ । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग वैचारिक विमति राख्दै २०६९ सालमा मोहन वैद्य (किरण) को नेतृत्वमा विभाजित भएर नेकपा माओवादी हुँदै पुनः २०७१ सालमा मोहन वैद्यसँग पनि मतभेद हुन पुगेपछि गठन हुन पुगेको नेकपा माओवादी २०७३ सालको थवाङमा भएको आठौं महाधिवेशनपछि भने नेपाल कम्युनिष्ट पार्टीमा रुपान्तरण भयो । जसको नेतृत्व नेत्रविक्रम चन्द विप्लवले गरेका छन् ।

ओली-प्रचण्ड नेतृत्वको डबल नेकपाको सरकारले २०७५ फागुन २८ मा पार्टीलाई पूर्ण रुपमा प्रतिबन्ध गरेपछि ज्यादा भूमिगत राजनीति गरेको नेकपाले घोषित अघोषित राज्य दमनको पनि ठूलै सामना गर्नुपर्‍यो । २०७७ साल फागुन २१ मा ओली सरकारसँग तीन बुँदे राजनीतिक सहमति भएपछि खुला राजनीतिमा आएको पार्टी अहिले पनि राज्यका सबै संयन्त्र र प्रक्रियाभन्दा बाहिर रहेको छ ।

समाजवादी मोर्चाको एक घटकका रुपमा रहेको नेकपा आफैंमा एक कम्युनिष्ट पार्टी हो । २०७९ सालको कात्तिकमा कपिलवस्तुको शिवगढीस्थित आफ्नै केन्द्रीय कार्यालय भवनमा सम्पन्न नवौं महाधिवेशनबाट सी जाति, श्रम संस्कृति, अनिश्चयताको सिद्धान्त, उत्पादन नीति, संयुक्त मोर्चालगायतका सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको नेकपाले उत्पादन नीतिलाई बलियोसँग पकडेको छ । अहिले देशैभरका कार्यकर्ताहरु कृषि उत्पादनमा लागिरहेका छन् ।

नेकपाले बर्खे खेती लगाउन असार १० देखि ३० गतेसम्म सम्पूर्ण पार्टी पंक्तिलाई बिदा दिँदै आएको छ । ३०० बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गरेको नेकपाले माछापालन, कुखुरापालन, बाख्रापालन, बुङ्गुरपालन, गाईपालन-लगायतका पशुपक्षीपालन र हार्पिक, फिनेल, साबुन, सर्फलगायतको सरसफाइ सामग्री उत्पादन गर्ने साना उद्योग अनि कपडाको गार्मेन्ट सञ्चालन गरिराखेको छ । केही युवा कपाल काट्ने तालिम गरेर हेयर शैलुन चलाउने तरखरमा पनि लागिराखेका छन् ।

३०० बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गरेको नेकपाले माछापालन, कुखुरापालन, बाख्रापालन, बुङ्गुरपालन, गाईपालन-लगायतका पशुपक्षीपालन र हार्पिक, फिनेल, साबुन, सर्फलगायतको सरसफाइ सामग्री उत्पादन गर्ने साना उद्योग अनि कपडाको गार्मेन्ट सञ्चालन गरिराखेको छ ।

जुम्लालगायतको हिमाली र पहाडी क्षेत्रमा फलफूल खेतीमा अगाडि बढ्न खोजेको पार्टीले साना तथा घरेलु उद्योग र कृषि उत्पादनमा जोड गरिरहेको छ । अहिले देशैभरि आलु लगाउने कार्यमा नेता कार्यकर्तालाई भ्याई नभ्याइ छ । एकीकृत स्वामित्वको नीति लागू गरेको नेकपाले कपिलवस्तु, दाङ, चितवन, सुनसरीलगायतका जिल्लामा केन्द्रीय उत्पादन गरिरहेको छ भने गण्डकी (पोखरा), बागमती, कर्णाली, सुदूरपश्चिमलगायतका प्रदेशहरुमा प्रदेशको उत्पादन र प्रायः जिल्लाहरुमा जिल्लास्तरीय उत्पादन गरिरहेको छ ।

सैद्धान्तिक रुपमा नै श्रम संस्कृति, उत्पादन र कम्युनिष्ट पार्टी एक-अर्कामा जोडिएका विषयहरु हुन् । उत्पादन सम्बन्धमा श्रमलाई प्रमुख भूमिकामा राखेको कम्युनिष्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देशको नारा स्थापित गरेर उत्पादन अभियान चलाइरहेको छ । जनश्रम कृषि सहकारीमार्फत सिजनल बाली, तरकारीहरुको उत्पादन र बिक्री वितरण गरिरहेको नेकपाले केही समय अगाडि काठमाडौंमा लगानी सम्मेलन पनि गरेको थियो । जसमा विभिन्न क्षेत्रका व्यवसायी र बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । हालैमात्र विश्वको डलर अर्बपतिको सूचीमा रहेका एकमात्र नेपाली विनोद चौधरीको सीजी फुड्स नेपाल लिमिटेड र जनश्रम कृषि सहकारी संस्था लिमिटेडबीच आलुको व्यापार सम्झौता भएको छ ।

कम्युनिष्टहरु आफैंमा आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्ग सङ्घर्षको चरणहरुको अध्ययन र स्कुलिङबाट आएका हुन्छन्, तर नेकपाले हाल अस्तित्वका लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र उत्पादनको लागि सङ्घर्षमध्ये उत्पादनको लागि सङ्घर्षलाई प्रमुख बनाएर लगेको छ । ‘उत्पादन बढाउ र क्रान्तिलाई पकड’ भन्ने माओ त्सेतुङको क्रान्ति र उत्पादनको सम्बन्धसम्बन्धी भनाइको वरिपरि नै अहिले नेकपाले आफ्नो बाटो लिइरहेको देखिन्छ ।

उत्पादन सङ्घर्षको प्रत्यक्ष नेतृत्व गरिरहेका विप्लव आफैंमा श्रम र समयको महत्व बुझेका नेतामध्येमा पर्छन् । आजको दिनसम्म कुनै पनि सत्ताको अंशधारण नगरेका विप्लव आफ्नो नेतृत्वमा पार्टीलाई पूर्ण रुपमा आत्मनिर्भर बनाएर देशमा एउटा गतिलो सन्देश दिन चाहन्छन् । नेकपाले चुनावी प्रतिस्पर्धालाई पनि स्वीकार गर्ने निर्णय गरिसकेको अवस्थामा सबै तहका नेता कार्यकर्ताहरुको व्यस्तता भने उत्पादनलाई नै राजनीतिको एक हिस्साको रुपमा स्थापित गर्नेमा देखिएको छ ।

एकीकृत स्वामित्वको नीति लागू गरेको नेकपाले कपिलवस्तु, दाङ, चितवन, सुनसरीलगायतका जिल्लामा केन्द्रीय उत्पादन गरिरहेको छ भने गण्डकी (पोखरा), बागमती, कर्णाली, सुदूरपश्चिमलगायतका प्रदेशहरुमा प्रदेशको उत्पादन र प्रायः जिल्लाहरुमा जिल्लास्तरीय उत्पादन गरिरहेको छ ।

अहिले आधारभूत रुपमा आत्मनिर्भर बन्ने दिशातिर गएको नेकपा तीन वर्षभित्र चन्दामुक्त पार्टी बनाउने अभियानमा लागेको छ । पार्टीका आन्तरिक भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रममा आफ्नो कृषि सामग्री र मासुजन्य वस्तुहरुको उपभोग गरिरहेको नेकपाले आफ्नै श्रम र लगानीमा भव्य केन्द्रीय कार्यालयको निर्माणसमेत गरेको छ । रोल्पाको थवाङलगायतका केही स्थानहरुमा समाज भवन निर्माण सम्पन्न गरेको पार्टीले कालीकोटको खुलालु-माल्कोट सडक निर्माणलाई पनि जारी राखेको छ । हाल कपिलवस्तुको केन्द्रीय कार्यालयमा स्वीमिङ पुल पनि निर्माण भइरहेको छ ।

खास गरेर राजनीति भन्नेबित्तिकै चुनाव, सत्ता र सरकार, दिनदिनैको भाषण र आश्वासन, छलकपट र खुट्टा तानातान, सरकारी संयन्त्र र स्रोतको दुरुपयोग, पार्टीहरुबीचको झगडा तथा विभिन्न काण्डैकाण्ड जस्ता विषयमात्र सुनिरहेको नेपाली जनमानस विप्लव नेकपाको कृषि उत्पादन, नेता कार्यकर्ताहरुको श्रममा उत्साहपूर्वक सहभागिता, आत्मनिर्भरताको लागि गरिरहेको प्रयास आदि कुराहरुको सम्प्रेषणले अचम्मित त भएकै छन् । यसले नयाँ बहसको सृजनासमेत गरिदिएको छ ।

नेपालकै पार्टी राजनीतिक इतिहासमा सामूहिक उत्पादनको व्यवस्थित अभ्यास नेकपाकै देखिएको छ । पार्टी सत्तामा छैन, सरकारमा छैन, तर पनि कुनै कार्यकर्तामा निराशा छैन । यो प्रकारको स्कुलिङ र अभ्यासमा नेकपा सफल हुँदै गएको देखिएको छ । मूलधारका मिडियाहरुले पनि हिजोआज प्राथमिकताका साथ नेकपाको उत्पादनलाई समाचारको विषय बनाइरहेका छन् । राज्यको यथोचित सहयोग नभएको अवस्थामा पनि एउटा सडकको मोर्चामा रहेको पार्टीले यो प्रकारको उत्पादन कार्यलाई निरन्तर अगाडि बढाउनु धेरै सकारात्मक विषय हो । सुरुको अवस्थामा यो सबै देखाउन गरिएको हो भन्ने भनाइहरु पनि थिए । कतिपय मानिसहरु खेत जोतेर, धान रोपेर, अम्रिसो रोपेर, आलु फलाएर, कुखरा-बाख्रा पालेर राजनीति हँुदैन र समाजवाद आउँदैन भनी खिसीटिउरी गर्ने गर्दथे, तर आज सबै आशङ्का र आरिशहरु गलत प्रमाणित हुन पुगेका छन् ।

कम्युनिष्टहरु आफैंमा आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्ग सङ्घर्षको चरणहरुको अध्ययन र स्कुलिङबाट आएका हुन्छन्, तर नेकपाले हाल अस्तित्वका लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र उत्पादनको लागि सङ्घर्षमध्ये उत्पादनको लागि सङ्घर्षलाई प्रमुख बनाएर लगेको छ ।

अझै पनि थुप्रै प्रश्न हुन सक्लान्, तर यी सबै प्रश्नहरुको जवाफ र समस्याको समाधान उत्पादनको लागि सङ्घर्षको नीतिको सफल कार्यान्वयनले नै दिँदै गइरहेको छ र दिँदै जानेछ । कुनै समय नेकपाका नेता कार्यकर्ताहरुले रगत, आँसु र पसिना बगाएका थिए, तर आज सबै पंक्ति पसिना बगाएर पार्टी र नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्छ भन्नेमा एकमत देखिएका छन् । यो नेपाली कम्युनिष्ट आन्दोलन र सिङ्गो राजनीतिक वृत्तकै लागि एक अनुकरणीय कार्य बन्नसक्छ ।

पार्टी महासचिव विप्लवले उत्पादनको नीति प्रस्ताव गर्दैगर्दा यो के हो, के हो भन्ने विषय पार्टीभित्र देखिएको पनि हुनसक्छ, तर जब कार्यान्वयनमा विप्लव आफैं नेतृत्व गरेर फिल्डमा उत्रिसकेपछि र यो स्तरको परिणाम निस्कँदै गएपछि आज यो एउटा श्रम संस्कृतिको रुपमा स्थापित हुँदै गइरहेको पाइन्छ । नेकपाको उत्पादनलाई प्रविधिमैत्री बनाउने कुरा र बजार व्यवस्थापनको विषयमा केही असहज देखिएकै छ । तथापि आज जिल्ला र प्रदेशहरुमा अनि केन्द्रकै उत्पादन शाखाहरुमा पनि कसले के उत्पादन गर्ने र कति उत्पादन गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।

एउटा राजनीतिक अभ्यासबाट हुर्कंदै आएको पार्टीलाई नयाँ प्रक्रियामा लैजानु त्यति सजिलो विषय पक्कै होइन, तर नेकपाले एउटा नयाँ जोखिम मोलेको हो । पार्टी नेतृत्वले एउटा नवीन प्रयोग गर्ने आँट गरेकै हो । पार्टी सशस्त्र सङ्घर्षमा नभएको अवस्था, राज्यसत्ताको कुनै पनि निकायमा नभएको अवस्था, पार्टीले शान्तिपूर्ण र वैधानिक सङ्घर्षको नीति लिएको अवस्था पार्टीको लागि सङ्क्रमणकालीन अवस्था थियो । कुनै पनि सङ्क्रमणकाल निकै जोखिमपूर्ण हुने गर्दछ । जब उत्पादनको नीतिमा पार्टी होमियो, सङ्क्रमणकाल नै एउटा अवसरको रुपमा देखियो । त्यसपछि अघिअघि उत्पादनको लागि सङ्घर्ष र पछिपछि वर्ग सङ्घर्षको आजको परिस्थितिको निर्माण हुन पुगेको छ ।

विगतमा सोभियत संघ प्रशस्त उत्पादनको अभावमा ढलेको इतिहास हाम्रोसामु छ । आजको चीन उत्पादनकै जगमा खडा भएको वर्तमान हाम्रैसामु छ । नेपालमा उत्पादनमा वृद्धि गर्न नसक्दा परनिर्भरता, आर्थिक सङ्कट र गरिबीको समस्या झेलिरहन परेको जीवन हामीले भोगिरहेका छौं ।

लगातार ५-६ वर्षको यो मेहनतपछि नेकपामाथिका भएका भ्रमहरु पनि चिरिएका छन् । पार्टी महासचिव विप्लव नै खेतबारीमा व्यस्त देखिने, केही स्थायी समिति सदस्य सडकमा फूल बैच्दै गरेको भेटिने, कोही कुखुरालाई चारो हाल्दै गरेको भेटिने अनि कोही नेता गाई चराउँदै गरेको त कोही ट्याक्टरले खेत जोत्दै गरेको अवस्थामा भेटिन्छन् । यो अवस्थाको सृजना सामान्य हिसाबले भएको होइन । आज बुद्धिजीवी र मध्यम वर्ग, राष्ट्रिय पुँजीपतिहरु र आमजनताले चासोका साथ उत्पादनको विषयमा र नेकपाको भावी राजनीतिक भविष्यका बारेमा हेरिरहेका छन् । धेरै दैनिक उपभोग्य वस्तुहरु आयात गरेर बाँचिरहेको देशमा बाँझो जग्गालाई उपयोग गरेर हराभरा बनाउने अभियानले नयाँ पुस्तामा केही गरौं भन्ने आशा केही न केही मात्रामा जागृत गरी नै रहेको छ र पढेलेखेका, जान्नेसुन्ने, अगुवा र अभियन्ता भन्नेहरुको दिमागमा चस्का हानिरहेकै छ ।

आजको आवश्यकता उत्पादनमा वृद्धि गर्नु हो । प्रशस्त उत्पादनविना सामाजिक न्याय असम्भव छ । विगतमा सोभियत संघ प्रशस्त उत्पादनको अभावमा ढलेको इतिहास हाम्रोसामु छ । आजको चीन उत्पादनकै जगमा खडा भएको वर्तमान हाम्रैसामु छ । नेपालमा उत्पादनमा वृद्धि गर्न नसक्दा परनिर्भरता, आर्थिक सङ्कट र गरिबीको समस्या झेलिरहन परेको जीवन हामीले भोगिरहेका छौं । नेपाल कम्युनिष्ट पार्टी त देशभित्रको एउटा अंश नै हो । एउटा मनोविज्ञानको नेतृत्व गर्ने राजनीतिक शक्ति हो । यसले उत्पादनको क्षेत्रमा गरेका कार्यहरुले यत्रो सकारात्मक सन्देश दिनसक्छ भने राज्यले चाहना राख्दा केही गर्न सकिँदैन भन्ने विषय हुँदैन । तसर्थ यदि देशलाई सबैले भन्ने गरेको समाजवादमा लैजाने हो भने, समृद्धि र आत्मनिर्भरताको दिशामा लैजाने हो भने उत्पादनको बढोत्तरी गर्नुको विकल्प छैन ।

उत्पादनविना समाजवाद, स्थायी शान्ति, विकास र समृद्धि सम्भव छैन । नेकपाको उत्पादनको लागि सङ्घर्षको नीतिबाट सबै राजनीतिक, सामाजिक शक्ति र राज्यले शिक्षा लिन जरुरी छ । उत्पादन र राजनीतिलाई दायाँ र बायाँ कदम बनाएर अगाडि बढिरहेको नेकपा र यसको नेतृत्वले अझै थुप्रै राजनीतिक परीक्षा दिन भने बाँकी नै छ ।

(गुरुङ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी हुन् ।)


प्रतिक्रिया

One thought on “नेकपाको उत्पादन सङ्घर्ष र नयाँ प्रयोग

  1. मार्क्सबाद र समाजबादले ३५-३६ बर्ष सम्म के गर्यो त !! भएका युवा सबै बिदेशमा, किनेर खाने बानी, रेमिटेन्स नभए देश टाट पल्टिने अवस्थामा पुर्यायो। अब मार्क्सबाद-समाजबाद जपेर केही हुदैन। हाम्रो सनातन संस्कृती, पूर्बिय ज्ञान र वेदमा आधारीत राजनैतिक सिदान्त को बिकासबाट मात्रै संभव छ। आयातित मार्क्सबादको र निरपेक्षताको उपभोगले हामीलाइ यो अवस्थामा पुर्यायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *