एनपीएलः त्रिवि मैदानमा स्पिन झेल्न कठिन भएको दिन


काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज त्रिवि मैदानमा भएका दुवै खेल ‘लो स्कोरिङ’ भयो । चार वटै टीमका ब्याटरहरुले रन बनाउन निकै संघर्ष गरे ।
प्रतियोगिता सुरु भएदेखिको ट्रेन्ड के देखिएको थियो भने बिहानीको समयमा पीच बलिङमैत्री हुन्छ भने दिउँसो ब्याटिङमैत्री । त्यही भएर बिहानको पहिलो खेलमा टस जित्ने टीमले पहिले बलिङ रोज्ने गरेका छन् । आजसम्म बिहान भएका १० खेलमा टस जित्ने १० वटै टीमले पहिले फिल्डिङ गरेका छन् । यद्यपि नतिजा भने सन्तुलित रुपमा आइरहेको छ । बिहानको म्याचमा पहिले ब्याटिङ गर्ने टीमले र लक्ष्य पछ्याउने टीमले समान ५-५ खेल जितेका छन् ।
त्रिविको पीचमा बलर र ब्याटर दुवैलाई समान अवसर मिल्दै आइरहेको थियो । बिहानको खेलमा ब्याटिङ गर्दा १४० रनलाई बलियो स्कोर मान्न सकिन्थ्यो भने दिउँसो ब्याटिङ गर्दा १६० रनको स्कोरलाई पनि सुरक्षित ठान्न सकिने थिएन, तर आज भने पीचमा निकै बदलाव देखियो । आजका दुवै खेलमा रन बनेन ।
पहिलो खेल सुदूरपश्चिम र जनकपुर बोल्ट्सविरुद्धको थियो । अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टीमबीचको भिडन्त हेर्न बिहानैबाट मैदानमा दर्शक ओइरिएका थिए । दुवै टीमको ब्याटिङ लाइनअप सुदृढ भएकाले चौका र छक्काको तुफान हेर्न पाइने आशा थियो दर्शकमा, तर सोचे जस्तो खेल भएन ।
टस हारेको जनकपुरले स्थापित मान्यताअनुसार पहिले फिल्डिङ रोज्यो । सुदूरपश्चिमको ओपनिङ जोडीले संयमित ब्याटिङ गर्दै पहिलो विकेटका लागि ७.४ ओभरमा ५५ रन जोड्यो, तर विस्तारै जनकपुरले रन गतिमा अंकुश लगाउन थाल्यो । खासगरी स्पिनरहरुको सामना गर्न ब्याटरहरुलाई कठिन हुँदै गयो ।
ओपनर सैफ जैब २१ बलमा त्यति नै रन बनाएर आउट भएपश्चात विकेट पतनको श्रृंखला पनि प्रारम्भ भयो । ५५-० को स्थितिबाट १२३-९ मा पुगेर रोकियो सुदूरपश्चिम । टीमका सबैभन्दा बलिया खम्बा दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए ।
जनकपुरका कप्तान अनिल साहले सुरुबाटै एउटा इन्डमा स्पिन बलर प्रयोग गरेका थिए । जब उनले पीचलाई बुझे, दुवै इन्डबाट स्पिनर लगाए । २० ओभरमा उनले ६ ओभरमात्रै फास्ट बलिङ गराए । यद्यपि फास्ट बलरलाई पनि विकेट लिने अवसर थियो नै । किशोर महतोले एकै ओभरमा तीनसहित सर्वाधिक ४ विकेट लिएका थिए, तर इकोनोमी चाहिँ स्पिनरहरुको धेरै राम्रो थियो । शेर मल्ल र अरनिको यादव जस्ता कम अनुभवी स्पिनरहरुलाई खेल्न पनि ब्याटरलाई हम्मे पर्यो ।
१२४ रनको लक्ष्य जनकपुरका लागि मामुली हुन सक्ने मानिएको थियो । दोस्रो इनिङमा ब्याटिङ केही सहज हुने ठानेर जनकपुरलाई जितको दावेदारको रुपमा हेरियो, तर सोचे जस्तो भएन । जनकपुरका बलरले झन् बढी संघर्ष गरे । कारण सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लगभग पूरै ओभर स्पिनरलाई दिए ।
जनकपुरका लागि १२ ओभर स्पिनरले गरेका थिए भने १ बलमात्र फास्ट बलरले गरेका थिए । सुदूरपश्चिमका फास्ट बलर अविनाश बोहोराले एक बल पनि फ्याक्न पाएनन् । जनकपुर प्रतियोगिताकै न्यून स्कोर (५१ रन)मा समेटियो । एक जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए ।
पहिलो म्याच लो स्कोरिङ भए पनि दोस्रो म्याचमा ब्याटरहरु चल्ने अपेक्षा थियो, तर लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीचको म्याच पनि उस्तै नै भयो । गर या मरको स्थितिमा रहेको लायन्सले काठमाडौंलाई १०३ रनमा अलआउट गर्न सफल भयो, तर १०४ रनको झिनो लक्ष्य पछ्याउन असफल भयो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले पनि १९.२ ओभरमध्ये १४ ओभर स्पिनरलाई गराएका थिए । ६ विकेट स्पिनरले र तीन विकेट फास्ट बलरले लिए । काठमाडौंका कुनै पनि अग्रपंक्तिका ब्याटर स्पिन बलमा सहज देखिएनन् । भीम सार्कीले संघर्ष गर्दै सर्वाधिक ३१ रन बनाउँदा केवल १ चौका प्रहार गरेका थिए । आठौं नम्बरमा आएका प्रतीक श्रेष्ठले भने १४ बलमा दुई छक्कासहित २० रन बनाए । उनको यही केमियो खेलमा निर्णायक बन्यो । खेलमा अरु कुनै पनि ब्याटरले छक्का हान्न सकेका थिएनन् ।
दोस्रो इनिङमा लुम्बिनीको पनि यही हाल भयो । काठमाडौंले पनि १३ ओभर स्पिनर बलिङ गराएको थियो । ६.२ ओभरमात्रै फास्ट बलरले गरे । स्पिन आक्रमकणको सामना गर्न लुम्बिनीका ब्याटरहरलाई पनि आच्छुआच्छु भयो ।
उच्च फर्ममा रहेका रोहितकुमार पौडेल, जो स्पिनरलाई असाध्य राम्रो खेल्छन्, समेत आज चलेनन् । काठमाडौंका कप्तान करण केसीले सुरुबाटै दुवै इन्डमा स्पिनर लगाएका थिए । यो निर्णय फलदायी पनि भयो । दीपेश कँडेलले ४ ओभरमा केवल ६ रन खर्चेर ३ विकेट लिए । यद्यपि सर्वाधिक विकेट करणकै नाममा रह्यो । उनले चार विकेट लिएर म्यान अफ द म्याच बने ।
त्रिविको मैदानको पीच बिग्रिएर ब्याटिङ कठिन बनेको टिप्पणी कतिपयले गरिरहेका छन् । टी- २० मा यदाकदा ‘लो स्कोरिङ’ खेलहरु पनि रोमाञ्चक हुन्छन्, तर दर्शकले मनोरञ्जन लिने भनेको चौका र छक्काबाटै हो । यदि बाँकी म्याचहरुमा पनि विकेटमा सुधार आएन भने खेलहरु निरस बन्न जाने खतरा छ ।