वर्तमान आर्थिक प्रगतिसँग म आफैँ सन्तुष्ट छैन,सुधार गर्न बाँकी छः अर्थमन्त्री पौडेल (भिडिओ)


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन् ।बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताए। उनले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको उल्लेख गरे।
उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताए । उनले विदेशी मुद्राको सञ्चिति,तरलता,बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताए। उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गरे ।
उनले भने,अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौं । समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुछ । त्यसका लागि सार्थक प्रयास चाल्नुछ । राजश्व परिचालनका सन्र्दभमा पनि चालु आर्थिक वर्षको चार महिनामा राम्रो छ । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्छ । तर गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न । तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौं । राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौं।’
अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गरे। उनले सेयरबजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताए ।
उनले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताए । उनले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताए ।
उनले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गर्नुभयो । उहाँले बैंकमा भएको तरलतालाई उत्पादनमुलक काममा लाग्नु आवश्यक रहेको बताए।