एनपीएलमा पहिलोचोटि दाइ–भाइ आमनेसामनेः आरिफ र आसिफ दुवै चलेनन्


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक सहोदर दाजुभाइ आमनेसामने भएका छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका आरिफ शेख (दाइ) र आसिफ शेख (भाइ) एनपीएलमा फरक फरक टिमबाट भिडेका हुन् ।
आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गरेका छन् । आसिफ जनकपुर बोल्ट्सका मार्की प्लेयर पनि हुन् । एनपीएलको पहिलो संस्करणमा यी दुवै टीमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुवै टिमले पाँच खेलमा चार जित र एक हार व्यहोरेका छन् ।
आरिफको टिम सुदूरपश्चिमले आज आसिफको जनकपुरलाई हरायो । जनकपुरले एनपीएलमा पहिलो हार चाखेको हो । आज जितेको भए प्ले अफमा पुग्ने पहिलो टोली बन्ने थियो ।
एनपीएलमा अहिलेसम्म सेख दाजुभाइले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । आरिफको प्रदर्शन त दयनिय नै छ । उनले पाँच खेलमा जम्माजम्मी २२ रन जोडेका छन् । कुनै पनि खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । आज पनि ६ रनमा आउट भए ।
आसिफ पनि ठूलो स्कोर बनाउन चुकिरहेका छन् । पाँच खेलमा उनको उच्च स्कोर ३६ छ । आज उनी चार रन बनाएर आउट भए ।
आसिफ विकेटकिपर पनि हुन् । आज आरिफ ब्याटिङमा आउँदा आसिफ विकेट पछाडि दिए । एकचोटि आसिफले दाइको क्याच समात्ने अवसर पाएका थिए, तर मिस गरे ।
राष्ट्रिय टिमबाट आरिफ र आसिफले धेरैपटक सँगै खेलिसकेका छन् । आरिफ नेपालको वान डे टिमका अभिन्न हिस्सा हुन् । टि २० मा भने उनको प्रदर्शन उल्लेखनीय छैन । आसिफ भने वान डे र टि २० दुवैमा नेपालका नियमित ओपनर हुन् ।
एनपीएलको अक्सनमा आरिफलाई सुदुरपश्चिमले १५ लाखमा किनेको थियो । आसिफले भने मार्की खेलाडीको रुपमा २० लाख पाएका छन् ।