लाग्छ, म ‘बिग बाेस’को घरमा छु

आफ्नो मनको कुरा लेख्न नपाएको धेरै भयो । प्रायः मनोविज्ञानसँग जोडिएको विषयमा लेख्न रुचाउने भएर पनि होला ठ्याक्कै केही कुराले ट्रिगर नगरुञ्जेल जबरजस्ती लेख्न गाह्रै हुन्छ मलाई । त्यसरी लेखेका शब्दमा खास मिजास भेट्दिनँ म । आज चाहिँ मनमा लागिरहेको कुरा, त्यसलाई ठ्याक्कै के नाम दिने पनि कन्फ्युजनमा छु । धेरथोर अनुभव र आत्मालोचनालाई मिसाएकी छु । यसलाई जसरी जे नाम दिन सही ठान्नुहुन्छ, त्यो मेरा पाठकहरूमाझ नै छोडिदिएँ ।
राजनीतिमा हुने कुटिल कुराहरू बुझ्दै नै राजनीतिमा आएकी हुँ । प्रत्यक्ष म राजनीतिमा आएको दुई वर्ष बितिसकेको छ, तर यो समय कति छोटो, कति लामो, त्यो आआफ्नो दृष्टिकोणमा निर्भर होला । यी दुई वर्षमा मैले के सिकें, के भोगें भनेर अहिले स्पष्ट शब्दमा भन्न पनि गाह्रो छ ।
राजनीति एउटा यस्तो क्षेत्र रहेछ, जहाँ सम्बन्धहरू प्रायः औपचारिक रूपमा गाँसिदा रहेछन्, गफहरू प्रायः राजनीतिकै धागोले बाँधिँदा रहेछन् । कहिलेकाहीँ राजनीतिबाहेक अरू विषयमा गफ गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, तर त्यस्तो सम्भावना कमै हुन्छ । अनौठो कुरा, राजनीति नछुने कुरा निकाल्न खोज्दा पनि त्यसैमा अल्झिन्छु ।
म कुनै ठूलो र विस्तृत नेटवर्क भइसकेको व्यक्ति पनि होइन, तर जसलाई चिन्छु, ती सबैसँग हुने संवादमा राजनीति आफैं आइहाल्छ । म अनौपचारिक राजनीतिक संवादमा त्यति चासो राख्दिनँ, तर राजनीति भनेको सम्बन्धहरूको खेल रैछ । म दुईतर्फी सम्बन्धमा विश्वास राख्ने मान्छे हुँ । कसैलाई भेटेपछि बिदा हुँदा, फेरि कहिले भेटिन्छ भन्ने अनुभूति नभएको मानिसलाई म केवल ‘पीआर’को लागि भेट्न मन पराउँदिनँ, तर राजनीति भनेकै यस्तै भेटघाट र औपचारिकता रहेछ ।
अनावश्यक तारिफ गर्ने प्यारो हुन्छ, तर फेरि यस्तो समाजमा आफैं मपाईं जसले गर्नसक्यो, त्यही खतरा हुन्छ । गफ दिन जान्नु यो क्षेत्रमा नभई नहुने अस्त्र हो । अरूले गरेको कामको क्रेडिट जसले लिन सक्यो, त्यही क्रियटिभ हुन्छ ।
यो राजनीतिको चौरमा आइसकेपछि मलाई अरूमाथि भरोसा राख्न मुस्किल हुन थालेको छ । लाग्छ, म ‘बिग बाेस’को घरमा छु, जहाँ मेरो हरेक गतिविधि रेकर्ड भइरहेको छ । म कसैको आँखामा छु, कसैले मेरो कुरा सुन्दैछ, कोही आफूभन्दा अगाडि बढ्ला भन्ने डरले प्रपञ्च रचिरहेको छ । हिजोसम्म साथ दिएको मान्छे, एकैछिनमा दुश्मन बनिरहेको छ, को सही, को गलत अत्तोपत्तो छैन । भावनाको पनि व्यापार भइरहेको छ, सिङ्गो व्यक्तिभन्दा ऊसँग भएका सम्पत्ति, शक्तिले आकर्षित गरिरहेको छ ।
सबैभन्दा ठूलो डर भनेकै नियतलाई कसैले गलत रूपमा लियो भने के हुन्छ भन्ने हो । नियत सधैं सफा रहन्छ भन्ने कुरामा सम्बन्धित व्यक्ति विश्वस्त छ, तर नियतलाई अरूसँग प्रमाणित गर्न त साह्रो हुन्छ । समाज फेरि यस्तो भल्नरेबल फेजमा छ । सामाजिक सञ्जालमा हुने टिप्पणी र छोटो क्लिपकै आधारमा नियत, चरित्र, बौद्धिकतालाई नापिदिन्छ । एकै दिनमा मानिस हिरो, अर्को दिन जिरो बन्न तयार भए हुन्छ ।
यहाँ टुट्न पाइँदैन । जब घेराबन्दी गरिन्छ, जब तपाईंको सच्चाइलाई चुनौती दिइन्छ, तब आफैंभित्रको बल निकाल्नुपर्छ । यहाँ सानो कुरामा आँखा रसाउनेको खिसीटिउरी गरिन्छ, स्टन्टको रूपमा हेरिन्छ । भलो चिताउनेलाई शङ्का गरिन्छ । अनावश्यक तारिफ गर्ने प्यारो हुन्छ, तर फेरि यस्तो समाजमा आफैं मपाईं जसले गर्नसक्यो, त्यही खतरा हुन्छ । गफ दिन जान्नु यो क्षेत्रमा नभई नहुने अस्त्र हो । अरूले गरेको कामको क्रेडिट जसले लिन सक्यो, त्यही क्रियटिभ हुन्छ ।
तर सत्य के पनि रहेछ भने राजनीति केवल भाषण र वाचा गर्ने ठाउँमात्र होइन, यो मनोविज्ञान र सहनशीलताको परीक्षा लिने ठाउँ हो । यो क्षेत्रले मलाई मेरो शक्ति, मेरो कमजोरी र मेरो वास्तविकता देखाइरहेको छ । यो यात्रा सजिलो छैन । किनकि राजनीतिमा टुट्न मनाही छ ।
थाहा छैन, यो पढिसकेपछि मलाई धेरैले आफ्नै हिसाबले मूल्याङ्कन गर्नुहुन्छ । त्यो उहाँहरुको अधिकारको कुरा भयो । मूल्याङ्कन फेरि सधैं राम्रो हुन्छ भन्ने अपेक्षा मैले पनि राख्नुहुन्न । प्रयत्न चाहिँ सकारात्मक नै होस् भनेर गर्ने हो । खैर !
जब कुनै वृद्ध रिक्सा चालकलाई परिवार पाल्न कठिन सङ्घर्ष गरिरहेको देख्छु, तब तिनका आँखामा दुःखमात्र होइन, हाम्रो व्यवस्थाको विफलता पनि देख्छु । त्यसपछि मनमा प्रश्न उठ्छ- ‘किन यस्तो अवस्था बदल्न सकिएको छैन ?’
‘के केटाकेटी जस्तो’ भनेर कसैको मुक्तकण्ठबाट निकालिन सक्छु !
‘जान्नेलाई छान्ने भन्ने पार्टीले यस्तालाई त छानेको छ’ भनेर कसैको कुरा काट्ने विषय बन्न सक्छु !
तर यो समाजमा मैले जसरी नै सोच्ने पनि त कोही होलान् । कसैले यी वाक्य पढ्दै गर्दा हलुका महसुस पनि त गर्न सक्लान् ! मेरो ठाउँमा उनीहरू भएको आभास गर्लान् ।
म परिपक्व भइसकेको छैन या मलाई राजनीतिमा गरिने व्यवहार, निभाइने सम्बन्धप्रति आपत्ति छ । राजनीति गर्ने व्यक्ति भइसकेपछि ससानो कुरामा मन दुःखाउनु हुँदैन भन्छन् ।
सानो छँदा कसैले भारी बोकेको देख्दा असहज महसुस गर्थें, तर विस्तारै परिपक्व हुँदै जाँदा बुझें यो केवल व्यक्तिगत भावनामात्रै होइन, ठूलो संरचनात्मक समस्या हो । जब कुनै वृद्ध रिक्सा चालकलाई परिवार पाल्न कठिन सङ्घर्ष गरिरहेको देख्छु, तब तिनका आँखामा दुःखमात्र होइन, हाम्रो व्यवस्थाको विफलता पनि देख्छु । त्यसपछि मनमा प्रश्न उठ्छ- ‘किन यस्तो अवस्था बदल्न सकिएको छैन ?’ धुलोले रङ्गिँदै साग बेच्दै गरेकी वृद्ध महिलालाई सम्झन्छु । उनको हालतले विवशतामात्रै होइन, हाम्रो समाजको असमानता पनि झल्काउँछ । उनको अनुहारका रेखाहरूमा मैले राज्यको कमजोरी र उपेक्षा देख्छु ।
बाटोको छेउमा लम्पसार परेका घरविहीन व्यक्तिहरूलाई देख्दा केवल उनीहरूको बेथिति देख्दिनँ । उनीहरूको अवस्था एक समग्र सामाजिक अन्यायको परिणाम भन्ने बुझ्छु । खुला आकाशमुनि सुतेका ती मानिसहरूलाई देख्दा देशको व्यवस्थामा तुसारो लागेको महसुस हुन्छ, विदेशिएका छोराछोरीको प्रतीक्षामा दिनरात आँसु पुछिरहेका आमाबाबुलाई सम्झन्छु । ढल्किँदै गरेको उमेरमा बचेको आशा देख्छु, तर जसले सन्तानको फर्कने बाटो हेर्छन्, मेरो मनलाई निरन्तर झस्काइरहन्छ ।
यस्ता दृश्यहरूले बारम्बार मेरो मनलाई घच्घच्याउँछन्, उकुसमुकुस हुन्छ मलाई । याद गराउँछ नेतृत्वको भूमिका केवल निर्णय लिनुमात्र होइन, यी पीडाहरूलाई सम्बोधन गर्ने जिम्मेवारी पनि हो, तर जब मानिसहरू भन्छन्, ‘नेता हुनलाई ठूलो मन र संवेदनाहीनता चाहिन्छ’ । म आफूलाई प्रश्न गर्न थाल्छु- ‘किन नेता जनताको पीडामा मन नबिझ्ने हुनुपर्र्छ ? किन नेतृत्वको पहिलो सर्त मानवीय संवेदनालाई पन्छाउनु मानिन्छ ?’
यी प्रश्नहरू मेरो मनभित्र बारम्बार उठिरहन्छन्, तर फेरि चारैतिरबाट एउटै आवाज सुनिन्छ- ‘नेता हुनलाई ठूलो मन हुनुपर्छ । यस्ता झिनामसिना कुराले मन विथोल्न हुँदैन ।’
राजनीति भनेको केवल सत्ता प्राप्तिको साधन होइन । यो जनताको मन बुझेर उनीहरूको दुःखलाई आफ्नो बनाउन सक्ने माध्यम हो । एउटा नेता केवल योजनाकारमात्रै होइन, संवेदनशीलता र सहानुभूतिको प्रतिमूर्ति पनि हो ।
यही कुराले मलाई बारम्बार प्रश्न गर्न बाध्य बनाउँछ ।
किन ?
किन नेता हुनुको पहिलो सर्त संवेदनाहीन हुनुपर्छ ?
किन जनताको पीडामा मन नबिझ्नुपर्ने भन्ने भाष्य बनाइएको छ ?
तिनैको पीडाले मन नविथोलिने राजनीति कसका लागि गर्ने ?
बाढीले बगाएको सपना, पहिरोले पुरेको आशा, भुईचालोले भत्काएको आत्मविश्वासलाई देखेर उनीहरूकै लागि उभिन सकिँदैन भने राजनीति कसका लागि गर्ने ?
नेतृत्व गर्नेहरूसँग भिजन चाहिन्छ भन्ने कुरा सत्य हो, तर के त्यो भिजन तिनै साना दुःखहरूसँग नजोडिई बन्नसक्छु ?
के भिजन भनेको ठूल्ठूला योजना बनाउने र हरेक सानो पीडालाई नजरअन्दाज गर्ने कुरा हो ?
भिजन भनेको जनताको पीडा बुझ्ने र त्यो पीडामा मलम लगाउन सक्ने उपाय खोज्नु हो । राजनीति भनेको केवल सत्ता प्राप्तिको साधन होइन । यो जनताको मन बुझेर उनीहरूको दुःखलाई आफ्नो बनाउन सक्ने माध्यम हो । एउटा नेता केवल योजनाकारमात्रै होइन, संवेदनशीलता र सहानुभूतिको प्रतिमूर्ति पनि हो । ‘ठूलो मन’ भनेको साना कुरालाई बेवास्ता गर्नु होइन, साना कुराहरूको महत्त्व बुझेर काम गर्नु हो । जनताको दुःखसँग जोडिनु नै सच्चा भिजनको सुरुवात हो । नेता हुनु भनेको जनताको आँसु पुछ्नसक्ने हिम्मत राख्नु हो । राजनीति भनेको साना कुराहरूप्रति संवेदनशील भई ठूला परिवर्तनको आधार तयार गर्नु हो ।
अझ दिनहुँ साथीभाइसँग हुने सतही राजनीतिक गफले म झन् अवाक छु । राजनीतिमा भइरहेको छलफल र बहसले कुनै ठोस निष्कर्ष दिनुको सट्टा उही पुरानै घुम्तीमा घुमिरहेको जस्तो लाग्छ । खासगरी युवा पुस्ता राजनीतिमा आउने क्रम बढे पनि सोच र दृष्टिकोणमा ठूलो परिवर्तन हुन सकेको देखिँदैन । उमेरको मात्रै फरक हो, सोच र मानसिकता भने उस्तै थिचिएको र सीमित देखिन्छ । त्यसैले कुनै ठूलो परिवर्तनको आशा गर्न पनि गाह्रो हुन्छ ।
धेरै युवा राजनीतिमा आएर पनि पुरानै शैली र परम्परागत सोचमा अडिग छन्, जसले नयाँ दृष्टिकोण ल्याउनुको सट्टा उही पुरानो जडतालाई बल पुर्याउँछ । म यहाँ सबै युवा साथीहरूको कुरा गरिरहेकै छैन, मेरो दिनचर्यामा भेट हुने केही व्यक्तिहरूलाई इङ्गित गरेको हो । यसमा अपवादहरू पक्कै छन्, जसले सकारात्मक परिवर्तनको बाटो देखाउन सक्छन्, तर ती अपवादहरूलाई पुरानो सोचले ढाक्ने प्रयास भइरहेको महसुस हुन्छ । यो परिस्थितिमा राजनीतिमा रहेका र आउन चाहने युवाले साँचो अर्थमा परिवर्तनकारी सोच र उद्देश्य लिएर अघि बढ्नु आवश्यक छ, अन्यथा उमेरमात्रको परिवर्तनले खास प्रभाव पार्दैन ।
केन्द्रमा भएको कारणले गर्दा मलाई धेरैजसो राजनीतिक घटनाहरूको जानकारी अरूभन्दा पहिले नै थाहा हुन्छ । यस्तो स्थानमा हुनु मेरो लागि अवसर भए पनि यसले जिम्मेवारीको भारी थप्ने गर्छ । कुनै पनि घटनाको स्पष्ट जानकारी नपाउँदासम्म म त्यस विषयमा अरूसँग गफ गर्न उचित ठान्दिनँ । किनभने अधुरो जानकारीले गलत अर्थ र सन्देश दिइरहेको छरपस्ट नै छ, तर कहिलेकाहीँ आफूलाई पूर्ण रूपमा थाहा नभएको वा आधा अधुरो सुनेका कुरामा अरूले गरेका मूल्याङ्कन, तिनले सिर्जना गर्ने हल्ला र त्यसबाट फैलिने अफवाहले मलाई निकै दिक्क बनाउँछ ।
युवा पुस्ता राजनीतिमा आउने क्रम बढे पनि सोच र दृष्टिकोणमा ठूलो परिवर्तन हुन सकेको देखिँदैन । उमेरको मात्रै फरक हो, सोच र मानसिकता भने उस्तै थिचिएको र सीमित देखिन्छ । त्यसैले कुनै ठूलो परिवर्तनको आशा गर्न पनि गाह्रो हुन्छ ।
अझै कतिपय मानिसहरू विनाआधारकै तर्क गर्न मन पराउँछन्, जसले समाजमा गलत बुझाइ र नकारात्मक प्रभाव फैलाउन सक्छ । फेरि तिनै मानिसहरू मलाई राजनीति गर्ने, चुनावमा कसरी जित्ने अथवा कसरी लोकप्रिय हुने भनेर सिकाइरहेका हुन्छन् । उनीहरूको छलफलमा नेता बन्न क्षमता बढाउनु पर्छ, अध्ययनशील हुनुपर्छ भन्ने कुरा कहिल्यै सुन्दिनँ । त्यही पुरानै शैली ‘जो गन्यमान्य नेता छ, उसकै पछाडि लाग्नुपर्छ, आफू सेफ जोनमा बस्नुपर्छ’ भन्ने भाषाको प्रयोग गर्छन् । यिनै फेरि केही कहलिएका विश्वविद्यालय भाँड्ने विद्यार्थी नेता, केही सो-कल्ड ठूलै नेताका सल्लाहकार हुन्छन् । अझै यो देशमा खानेपानी, बाटो, बिजुलीको एजेन्डा नै बिक्नुको मुख्य कारण यिनीहरू पनि हुन् ।
म यस प्रकारका हल्लाहरू यस्ता मानिसहरूले दिने सल्लाहहरूले उत्पन्न गर्ने अनावश्यक विवाद र द्वन्द्वलाई पनि गम्भीरतापूर्वक लिन्छु । राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो बोली र व्यवहारमा विशेष ख्याल पुर्याउनुपर्छ, तर अफवाह फैलाउने मानसिकता र सतही चर्चाको प्रवृत्तिले गर्दा कहिलेकाहीँ सत्य र तथ्यको पहिचान गर्नसमेत गाह्रो हुन्छ ।
मैले राजनीति गर्ने निर्णय गर्दा सोचें कि यो केवल जनताको लागि, उनीहरूको जीवन सुधार्न हुनेछ, तर यो यात्रामा मैले बुझें कि राजनीति केवल कामले होइन, सम्बन्धले पनि बाँधिएको छ । यहाँ सत्य बोल्ने आँट गर्नु भनेको आफ्नोविरुद्धका हतियार बनाउनलाई आधार दिने जस्तो हो । तथापि यो सबैका बावजुद म आफ्नो यात्रालाई सही ठान्छु । मलाई थाहा छ, मेरा असहज अनुभव र चुनौतीले नै मलाई बलियो बनाउँछन् । म बारम्बार प्रश्न गरिरहनेछु- म कुन उद्देश्यका लागि यहाँ छु ? मेरा निर्णयहरू जनताका लागि कति उपयोगी छन् ? यद्यपि मलाई थाहा छ, मेरा यी प्रश्नहरूको उत्तर सजिलै भेटिनेछैन ।
यसैले मैले आफैंभित्र एउटा सन्तुलन खोज्ने प्रयास गर्दैछु । संवेदनशीलता र सहनशीलताको यो सङ्घर्षमै म आफूलाई फेला पारिरहेकी छु । राजनीति भनेको आफ्नै भित्री सङ्घर्ष र बाह्य परिस्थितिबीचको समायोजन हो । यस यात्रामा मेरा केही भावना बाँड्ने ठाउँ नभए जस्तो लाग्नसक्छ, तर यी भावना, यी कुराहरू लेख्दै गर्दा म आफूलाई स्वतन्त्र महसुस गर्छु । राजनीति मेरो लागि केवल सत्ता र रणनीति होइन, यो मेरो मानवीय पक्षसँगको निरन्तरको सङ्घर्ष हो । मलाई यो यात्रा सजिलो छैन भन्ने थाहा छ, तर म यहाँ छु । किनभने म परिवर्तन चाहन्छु । यो परिवर्तन सजिलो छैन, तर यसमा सम्भावना छ ।
(क्रान्तिशिखा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन् ।)