महिला भएकैले क्षमतामाथि प्रश्न उठाइने गरेको अनुभवबारे के भन्छन् कूटनीति क्षेत्रका महिलाहरु ? – Nepal Press

महिला भएकैले क्षमतामाथि प्रश्न उठाइने गरेको अनुभवबारे के भन्छन् कूटनीति क्षेत्रका महिलाहरु ?

काठमाडौं । कूटनीतिक क्षेत्रमा रहेका महिलाहरुले महिला भएकै कारण आफूहरुको क्षमतामाथि प्रश्न उठाइने गरेको अनुभव सार्वजनिक गरेका छन् । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा अखिल नेपाल महिला संघले आयोजना गरेको कूटनीतिमा महिलाः नीति संवााद कार्यक्रममा सहभागी कूटनीतिज्ञ महिलाहरुले यस्तो अनुभव सार्वजनिक गरेका हुन् ।

अनेमसंघको अन्तराष्ट्रिय सम्बन्ध विभागको व्यवस्थापनमा भएको कार्यक्रममा पुर्व र नवनियुक्त राजदुत तथा मन्त्रीहरु सहभागी भएका थिए । उनीहरु मध्य महिला कूटनीतिज्ञहरुले यस्तो अनुभव सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सहभागी डा. अन्जान शाक्यले आफूले परराष्ट्रमन्त्री समक्ष आफु कार्यकारी निर्देशक बन्न इच्छा जाहेर गरेर प्रपोजल पेश गर्दा मन्त्रीले ‘तपाइको कपाल फूलेको छैन कार्यकारी निर्देशक बन्ने तपाईको योग्यता पुग्दैन राजदुत बनेर जानुस्’ भनेको कुरा सम्झिइन् ।

तत्कालीन राजदुत शाक्यले आफ्नो कार्यकाल समाप्त भइसकेपछि राजनीतिकर्मी र कूटनीतिज्ञहरुलाई अन्तराष्ट्रिय प्रोटोकल, पोशाक तथा अन्तराष्ट्रिय फोरममा गर्नुपर्ने ब्यवहार र सम्बन्धका विषयमा तालिम दिनुपर्ने आवश्यकता महसुस गरी आफूले अभियान सुरु गर्दा अपमान सहनु परेको घटना पनि सार्वजनिक गरिन् ।

उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयका निकै पुराना कर्मचारी र केही राजदुतहरुले यो फुच्चीले के तालिम दिन्छे भनेको मेरै कानले सुन्यो तर मैले नसुने जस्तो गरेँ तर १० दिनको तालिम समापन भएपछि भने सबैले सह्राहना गर्नुभयो ।’

उनले भनिन् ‘राजदुत भनेको देशको अनुहार हो त्यसैले अन्तराष्ट्रिय फोरममा आफुलाई कसरी प्रस्तुत गर्ने भन्नेकुरा जान्न आवश्यक छ । राजनीतिक दलमा पनि प्रोटोकल अफिसर राख्न आवश्यक छ ।’

कार्यक्रममा सहभागी महिला कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयमा महिला कर्मचारी नभएका कारण पनि आफुहरुले समस्या भोग्नुपरेको बताएका छन् ।

‘परराष्ट्र मन्त्रालयमा २५ प्रतिशत पनि महिला कर्मचारी छैनन् सहसचिव सम्मको तहमा पनि महिला छैनन्, अष्ट्रेलियाका लागि तत्कालिन राजदुत लक्की शेर्पाले भनिन्, पुराना राजदुतवाट अनुभव शेयर गर्ने चलन छैन मन्त्रालयका कर्मचारीले समेत सूचना लुकाउँछन् ।’ उनले कुनै तालिम, जानकारी र सूचना बिना आफ्नो कार्यकालमा स्वविवेकले काम गर्नुपरेको बताइन् ।

कार्यक्रममा डेनमार्कका लागि नवनियुक्त राजदुत सुमिना तुलाधर, अमेरिकाका तत्कालीन राजदुत डा.अर्जुन कार्की, चीनका तत्कालिन राजदुत टंक कार्की, दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत शिवमाया तुम्बाहाम्फे, पुर्व परराष्ट्रमन्त्री डा. विमला राइ पौडेल लगायतले अनुभव शेयर गरेका थिए ।

अखिल नेपाल महिला संघले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा मंगलवार विहान वाकाथन तथा नाटक प्रर्दशन गरेको थियो । भद्रकालिवाट सुरु भएको वाकाथन भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । समापनमा अनेमसंघको कला साहित्य संस्कृति तथा खेलकुद विभागले ‘बन्दकी’ नामको नाटक प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर