महोत्सवमा माटो लिएर आउने किसानको लर्को

रुपन्देही । भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षणको समेत सुविधा उपलब्ध गराइएको छ । किसानले सहजै आफ्नो जमिनको माटो परीक्षण गर्न नपाएको अवस्थामा महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले निःशुल्क माटो परीक्षणको व्यवस्था गरेको हो ।
नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण सुरु गरिएको आयोजकले जनाएका छन् । पछिल्लो समय अन्नबाली र तरकारी खेतीको उत्पादनमा आएको ह्रासलाई मध्यनजर गरी माटो परीक्षण सुरु गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् ।
‘माटोको अवस्था पत्ता लगाउन र केऔकस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गर्ने व्यवस्था गरेका हौं’, उनले भने, ‘यसले किसानलाई उत्पादन बढाउन र मुनाफा कमाउन सहयोग पुग्ने विश्वास छ ।’
जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति कृषिमा निर्भर छन्, तर नजिक माटो परीक्षणको व्यवस्था नहुँदा चाहेर पनि परीक्षण गर्न सकेका छैनन् । महोत्सवमा गरिएको निःशुल्क माटो परीक्षणमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिन्छ ।
प्रयोगशालामा गएर आफैंले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण महोत्सवमै सेवा दिन माटोको निःशुल्क परीक्षण शिविर आयोजना गरिएको कृषि व्यवस्थापन संयोजकसमेत रहेकी संघकी सदस्य यमकला न्यौपानेले बताइन् ।
‘जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपना बढिरहेको छ, उत्पादन र उत्पादकत्व घट्दो छ’, उनले भनिन्, ‘यहाँ गरिएको परीक्षणले माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्नेछ । अर्कातर्फ किसानलाई माटो सुहाउँदो व्यवसायिक खेतीतर्फ आकर्षित गराउन पनि सहयोग पुग्नेछ ।’
आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माण गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण भइरहेको हो । कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्नेबारे जानकारी पाउने व्यवस्था गरिएको छ ।
भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कञ्चन, सिद्धार्थनगरलगायतका कृषकलाई लक्षित गरी मेलामै माटोको निःशुल्क परीक्षण गरिएको हो ।
महोत्सवमा माटो परीक्षणका लागि आएका किसान कृष्णप्रसाद बस्याल र कुलप्रसाद भण्डारीले सहकारी र कृषि समूहमार्फत धेरै किसानको माटो परीक्षणका लागि लिएर आएको बताए । उनीहरुले वर्षौंसम्म माटोको परीक्षण गर्न नपाएको जनाउँदै भैरहवामा महोत्सव आयोजकले किसानका लागि अवसर सिर्जना गरेको जनाए ।
माटो प्राविधिक तिलकबहादुर केसीले माटोको उत्पादन क्षमता, कुन खेती र तरकारी बाली लगाउँदा उत्पादन बढी हुन्छ भन्ने कुराहरु जाँच गरेपछि किसानलाई जानकारी दिने गरेको बताए ।
महोत्सवमा माटो परीक्षण गराउन गाउँगाउँबाट किसान आएका छन् । मंगलबार सुरु भएको निःशुल्क माटो परीक्षण २७ गतेसम्म चल्नेछ ।