गण्डकीका भौतिक मन्त्री केसीले सार्वजनिक गरे सय दिनको उपलब्धि – Nepal Press

गण्डकीका भौतिक मन्त्री केसीले सार्वजनिक गरे सय दिनको उपलब्धि

पोखरा ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले आफ्नो सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

गत भदौं १७ गते पदभार ग्रहण गरेका मन्त्री केसीले मंगलबार मन्त्रालयमा सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री भएको एक सय दिनको अवधिमा केसीले प्रदेश ११ वटै जिल्लाका योजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । १० वटा जिल्लामा मन्त्री आफै पुगेका छन् भने एउटा जिल्लामा सचिवमार्फत योजनाको निरीक्षण गरेका थिए ।

मन्त्री केसीले प्रथम चौमासिकको समाप्तिमा हालसम्मकै उच्च विकास खर्च गरेको बताए । मन्त्रालयले हालसम्म १०।०१ वित्तिय र १२।६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । जुन हालसम्मकै उच्च रहेको भौतिक मन्त्री केसीले बताए ।

मन्त्रालयअन्तर्गतका १९ वटा निकायबाट ७६ करोड ३९ लाख ३२ हजार ३ सय ७० राजस्व संकलन भएको मन्त्री केसीले सार्वजनिक गरेको उपलब्धिमा समावेश गरिएको छ ।

मातहतको कार्यालयका प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न मन्त्री केसीले निर्देशन दिए । मन्त्रालयका १८४६ योजनामध्ये ३८ सकिएका, ४८५ निर्माणाधिन, २६५ मुल्यांकनको चरणमा, ३ सय योजना बोलपत्र आव्हान भएको र ४८८ योजना लागत अनुमान तयार भइ स्विकृतिको चरणमा रहेको मन्त्रीले जानकारी दिए ।

मन्त्री केसीले सेवा सहज बनाउने उद्देश्यले कास्की, तनहुँ, बागलुङ र नवलपुरको यातायात व्यवस्था कार्यालयमा टोकन सिस्टम लागु र हेल्प डेस्क स्थापना गरेका छन् ।

यस्तै सेवाग्राहीको चाप एउटा कार्यालयमा मात्र नपरोस् भन्ने उद्देश्यले लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री केसीले बताए । सरकारको स्वामित्वमा रहेको जग्गा मन्त्रालयले उपयोग गर्न स्विकृति माग गर्ने निर्णय भएर प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

प्रदेशमा राइड शेयरिङलाई वैधानिकता दिन पटकपटक छलफल गरिएको मन्त्री केसीले बताए । उनले अहिले कार्यविधि तयार पार्ने काम भइरहेको उल्लेख गरे ।

‘प्रदेशमा चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाको नतिजा सफ्टवेयरमा एक महिनामा मात्र अद्यावधिक गर्ने गरिन्थ्यो । तर, अहिले हामी आएपछि कास्कीको हकमा १० दिनभित्र र अन्य कार्यालयले ७ दिनभित्र नतिजा अपलोड गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘अहिले फारम भरेको १० दिनभित्र लिखित तथा ट्रायल परीक्षा दिने व्यवस्था छ ।’

कार्यसम्पादनमा नेतृत्वदायी भूमिका प्रदान गर्नुपर्ने भन्दै मन्त्री केसीले सामाजिक संघसंस्था तथा सम्मान ग्रहण, उद्घाटन शिलान्यासमा सहभागी नहुने अठोटसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर