एमाले डोटी जिल्ला अधिवेशन : अध्यक्षमा चार आकांक्षी – Nepal Press

एमाले डोटी जिल्ला अधिवेशन : अध्यक्षमा चार आकांक्षी

डोटी । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको मिति नजिकिएपछि नेता कार्यकर्ताहरुमा सरगर्मी बढेको छ । यही मंसिर २८ र २९ गते हुने अधिवेशनका लागि शनिबार जिल्लाभरिबाट एकै दिन प्रतिनिधिहरु छनोट भएपछि नेतृत्वको अंकगणितसमेत सुरु भएको छ ।

पार्टी जिल्ला अध्यक्षका लागि हालसम्म चार जना आकांक्षी देखिएका छन् । जिल्लाको नेतृत्वमा वर्तमान जिल्ला अध्यक्ष मञ्जु मलासी, उपाध्यक्ष शेरबहादुर मल्ल र सचिव लक्ष्मण मलासी तथा एमाले सुदूरपश्चिम प्रदेश सदस्य पदमराज भट्टले दाबी गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाका पूर्वमेयर मलासी लामो समयदेखि जिल्ला कमिटीको पदाधिकारी भई काम गरेकी सक्रिय राजनीतिक महिला हुन् । उनी हाल जिल्ला संगठन कमिटीकी अध्यक्ष छिन् ।

उनी अध्यक्षमा आफ्नो स्वाभाविक दाबी रहेको बताउँछिन् । जनप्रतिनिधि भएर पनि काम गरिसकेको बताउँदै उनले जिल्ला अध्यक्षका लागि आफू एक्लो महिला उम्मेदवार भएको बताइन् ।

एमालेले महिलाहरुलाई पनि पार्टी नेतृत्व गर्ने अवसर दिन्छ भन्ने तथ्य स्थापित गर्नुका साथै पार्टीको मिसन २०८४ अभियानलाई सफल बनाउन पार्टीलाई एक ढिक्का बनाएर लैजान अध्यक्षमा आफ्नो दाबी रहेको मलासीको तर्क छ ।

अध्यक्ष पदका अर्का दावेदार वर्तमान उपाध्यक्ष मल्ल पार्टीको नेतृत्व युवाको हातमा आउनुपर्ने माग सबैतिर बढेकाले आफ्नो उम्मेदवारी स्वाभाविक रहेको बताउँछन् ।

‘वर्तमान समयमा जनतामा राजनीतिप्रति वितृष्णा बढिरहेको अवस्थामा त्यसलाई हल गरी पार्टीलाई व्यवस्थित बनाउनु जरुरी छ’, उपाध्यक्ष मल्लले भने, ‘जिल्लामा पार्टीलाई गतिशील बनाई आमनागरिकका साझा सवाललाई सम्बोधन गर्न पार्टी पंक्तिबाट पहल थाल्ने ठोस योजनासहित मैले नेतृत्वका लागि इच्छा व्यक्त गरेको हुँ ।’

उनी पार्टी व्यवस्थित बनाउँदै र कार्यकर्ता प्रशिक्षित गर्दै जाने आफ्नो योजना रहेको बताउँछन् ।

वर्तमान सचिव मलासी लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दलको अहम् भूमिका रहने भएकाले पार्टीको नेतृत्व गर्ने व्यक्ति युवा, शिक्षित, अनुशासित, जवाफदेही र उत्तरदायी हुन आवश्यक भएको बताउँछन् ।

उनले त्यसको लागि आफू सक्षम भएको जिकिर गरे । उनले भने, ‘पार्टीलाई सशक्त ढंगबाट अगाडि बढाई पार्टीका गतिविधि र राजनीतिक दस्तावेजलाई जनतासामु पुर्‍याउन आवश्यक रहेकाले मेरो अध्यक्ष पदमा उम्मेदवारी रहेको छ ।’

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्ट पनि आफ्नो दाबीलाई स्वाभाविक मान्छन् । भारत प्रवासमा हुँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भट्ट पार्टी जिल्लाको नेतृत्व गरेर संगठन परिचालन गर्ने इच्छा रहेको बताउँछन् ।

एमाले विधानअनुसार जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पद छन् । हालसम्म उपाध्यक्षका लागि खुलेरै उम्मेदवारी सार्वजनिक गरेको नदेखिए पनि सचिवका लागि चार जनाले दाबी गरेका छन् । सचिवका दावेदारहरुमा कृष्णबहादुर खड्का, धनबहादुर नेपाली, डम्मरसिंह डौडी, झलक पालीलगायतको दाबी रहेको छ ।

यस्तै दुई उपसचिवका लागि सात जनाको दाबी रहेको एमाले स्रोत बताउँछ ।

४२९ प्रतिनिधि छनोट

जिल्ला अधिवेशनमा ४२९ जना प्रतिनिधिले भाग लिने भएका छन् । एमाले जिल्ला उपाध्यक्ष शेरबहादुर मल्लले अधिवेशनमा भूगोलबाट जिल्लाका ६५ वटा वडालाई आधार मानी खुलातर्फ १५ पार्टी सदस्य बराबर एक र समावेशीतर्फ ९ वटा पालिकालाई आधार मानी १० पार्टी सदस्य बराबर १ जनाका दरले करिब १४० महिला र ७० जना दलितसहित ४२९ जना प्रतिनिधि रहने बताए ।

दिपायल राजपुर सेती सभाहलमा हुने जिल्ला अधिवेशन नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव मलासीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर