रोहित पौडेलको अर्को शानदार इनिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य – Nepal Press

रोहित पौडेलको अर्को शानदार इनिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको छ । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए ।

कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएका हुन् ।

चितवन राइनोज विरुद्धको खेलमा लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । खराब सुरुवात गर्दै लुम्बिनीले १ रनमै दुई विकेट गुमायो । ओपनर आसुतोष घिरइया आज पनि चलेनन् । उनी ७ बलमा १ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका उन्मुक्त चन्दले खाता खोल्न सकेनन् । तर, पौडेलले सुझबुझपूर्ण ब्याटिङ गर्दै टिमको उद्दार गरे ।

दुई ब्याट्सम्यान छिट्टै गुमाएपछि रोहतले अर्जुन साउदसँग ३७ रनको साझेदारी गर्दै टिमलाई अगाडि बढाएका थिए । साउद १२ बलमा १५ रन जोडेर आउट भए । त्यसपछि आएका टम मुर्सले पनि पौडेललाई लामो समय साथ दिन सकेनन् । ५ बलमा १० रन हानेका मुर्सलाई चितवनका कप्तान कुशल मल्लले आउट गरे ।

४९ रनमा ४ विकेट गुमाएको अवस्थाबाट पौडेललाई पाकिस्तानी ब्याटर साद बिन जाफरले बलियो साथ दिएका थिए । यो जोडीले चितवनमाथि १११ रनको शतकीय साझेदारी गर्दै लुम्बिनीलाई खेलमा फर्काए । अन्तिम बलमा रनआउट भएका जाफरले ३५ बलमा ५२ रन बनाएका छन् ।

कप्तान पौडेल भने अन्तिम ओभरको तेस्रो बलमा रिजन ढकाललाई छक्का हान्ने प्रयासमा आउट भएका थिए । उनले ५ छक्का र ६ चौका प्रहार गरेका छन् ।

चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे । पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर आज विकेटविहीन रहे ।

लगातार चार खेल हारेको लुम्बिनीले प्लेअफको दौडमा कायम रहनका लागि आज जित निकाल्नु अपरिहार्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *