नेता हराएको मेरो देश !

नेता बन्न र स्वघोषित नेता बन्न लालायितहरुको भीड हेर्ने हो भने धेरै लामो देखिन्छ । विशेषगरी नेपाल जस्तो विकासोन्मुख देशमा भने त्यो संख्या अत्यधिक छ । यो मानसिकता कसरी हावी भयो ? त्यसको पाटोलाई अलग्गै व्याख्या आवश्यक पर्दछ । यद्यपि नेता बन्ने होडमा हाम्रा कर्महरु समाज र आमजनतालाई पाच्य हुने खालको भेटिँदैन । अब यसको निर्मम समीक्षा आवश्यक छ ।
नेताको परिभाषा अनेकौं छ, त्यतातिर नफर्कौं । सारमा समाज रुपान्तरणमा अग्रसर रहने, जनताको आवश्यकताका लागि लड्ने, दूरदृष्टि, समाज र देशका लाीग व्यक्तिगत जीवन छायाँमा पारेर सामाजिक जीवन व्यतित गर्नेहरु नै नेता हुन् । समाजमा रहेको विकृत्ति, विसंगति र अन्यायका विरुद्धमा लड्ने, भीडमा होइन, सत्य र तथ्यमा विश्वास गर्ने, कर्ममा दत्तचित्त रहने व्यक्ति नै नेताका परिभाषा हुन् । यद्यपि अनेकौं परिभाषा नेताका परिचयभित्र पर्दछन् ।
हो, यही नेताको खोजी देशले गरिरहेको छ । जुन नेता हराएको छ, त्यसको खोजी र आवश्यकता अहिलेको हाम्रो प्राथमिकता हो, जुन आमजनता चाहन्छन्, तर नेता खोज्न त्यति सम्भव छैन । यो त युगले जन्माउने विषय हो । घरदेखि टोल हुँदै, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला, केन्द्रसम्मका केही सामाजिक अगुवाहरु नै अहिले नेपालको नेताका रुपमा चित्रित छन् । जुन व्यक्तिहरु नेता बन्ने लालसा बोकेका छन्, उनीहरुमा नेतामा हुनुपर्ने सामान्य गुण पनि छैन । जसका निगरानीमा आमजनता छन् । नेपालका सन्दर्भमा भएको यही हो । जो सामाजिक योगदानभन्दा नेताका नाम भजाएर व्यक्तिगत आयआर्जनमा अभ्यस्त बनेका छन् ।
जसले व्यक्तिगत जीवनलाई प्रधान माने, उनीहरु नेता होइनन् । खास नेतामा व्यक्तिगत जीवन प्रधान हुँदैन, समाज रुपान्तरण र विकासको दूरदृष्टि र सपना हुन्छन्, देश र जनताको आवश्यकता पूरा गर्न सिङ्गो जीवन नै अर्पण गर्दछन्, ती नै नेता हुन् ।
हामी जनताको पनि को नेता, को भ्रष्टाचारी, को सामाजिक अगुवा, को अपराधी त्यो भेउ पाउन नसक्ने गरी चेतना हराएको छ । जबसम्म जनता व्यक्तिगत रुपमा सार्वभौम र स्वतन्त्र हुन सक्दैनन्, तबसम्म कसै न कसैको गुलाम भइरहनुपर्छ । नेपालको सन्दर्भमा भएको यही हो । यही गुलामीतन्त्रले नै नेपालमा नेताहरु असंख्य जन्मिरहेका छन्, जुन समाज र देशका लागि अभिशाप हो । व्यक्तिगत रुपमा आत्मनिर्भर बन्ने, स्वतन्त्र रहन चाहने र आफ्नो मन र मस्तिष्कको राजा आफैं बन्ने हो भने नेपालमा यति धेरै टोले नेताहरु जन्मने थिएन । यही टोले नेताहरुका जननी नै हामी हौं, यसमा हाम्रो ठूलो भूमिका छ ।
जनता अहिले आएर नेता र नेतृत्वप्रति किन यति धेरै आक्रोशित छन् ? यो चेतनशील जनताले सोध्ने प्रश्न हो । सबै जनताले यो प्रश्न सोध्ने ल्याकत राख्न सक्दैनन् । नेता आवश्यकताले जन्माउँछ र आवश्यकता पूर्तिका लागि जीवनभर लडिरहन्छ, तर यहाँ नेता रहरले जन्मन्छन्, जन्माइन्छन् र व्यक्तिगत स्वार्थका लागि जनताका नाम बेचिरहन्छन् । नेता मानिदिन जमात तयार पार्नेदेखि व्यक्तिगत स्वार्थका लागि गुलामीमा नेता मानिदिने प्रवृत्ति देश र जनताका लागि सबैभन्दा घातक पक्ष हो, जसले गर्दा हामीले हाम्रो भविष्यमात्र होइन, अबको पुस्तालाई समेत गुलामीका लागि अभ्यस्त बनाइरहेका छौं ।
हामी कस्तो व्यक्तिलाई आदर्श मानिरहेका छौं ? कस्तालाई नेता मानिरहेका छौं ? कसको गुलामी गरेर जीवनयापन गरिरहेका छौं भन्ने भेउ पाउन सकेका छैनौं । जसका कारण समाजका केही लोभीपापी र व्यक्तिगत स्वार्थको रोटी सेक्नेहरु जनताको यही भेउ पाउन नसकेको कमजोरीमा खेलिरहेका छन् । जुन अहिले सर्वत्र भेटिन्छ ।
नेता हराएको देश हो यो, तर यो हेक्का हामी जनतालाई नै छैन । जुन दिन हेक्का हुनेछ, त्यो दिनदेखि परिवर्तन शुरु हुन्छ । फरक यही हो हामीले परिवर्तन चाहने, समृद्ध समाज चाहने हो भने हाम्रो सोचमा रहेको बन्धकता हटाउनुको विकल्प छैन ।
जुन हामीले नेता मानिरहेका छौं, उनीहरु नेता नै होइनन् भन्ने कुराको ज्ञान आमजनतालाई हुँदैन, नेपालको सन्दर्भमा हुने यही अराजकता हो । जसले समाज र देशलाई सही दिशा दिन सक्दैन । जब देश र समाजमा सकारात्मक गति प्राप्त हुँदैन, तब देश र जनता समृद्ध हुन सक्दैनन् । नेतामा हुनुपर्ने सामान्य गुण के हो भन्ने हेक्का र त्यसलाई मनन गरेर अगाडि बढ्ने हो भने समाज रुपान्तरण गर्न लामो समय कुर्न पर्दैन । सामान्य आवश्यकतामा जबसम्म गुलामी गर्ने हाम्रो मानसिकता रहिरहन्छ, हामी बन्धक बनिरहन्छौं, हाम्रा आम समस्याहरु ज्यूँका त्यू रहनेछन् ।
नेता हराएको देश हो यो, तर यो हेक्का हामी जनतालाई नै छैन । जुन दिन हेक्का हुनेछ, त्यो दिनदेखि परिवर्तन शुरु हुनेछ । फरक यही हो हामीले परिवर्तन चाहने, समृद्ध समाज चाहने हो भने हाम्रो सोचमा रहेको बन्धकता हटाउनुको विकल्प छैन । हामी जसलाई नेता मानिरहेका छौं, अधिकांश उनीहरु नेता नै होइनन् । नेताका नाममा कलंक हुन् । जसले समाज र देशलाई होइन, मात्र आफूलाई केन्द्र भागमा राख्दछ । आशालाग्दा नेता हुनेहरु पनि आवश्यकताको सही पहिचान गर्न नसक्दा भीडमा नै रमाइरहेका छन् ।
जसले व्यक्तिगत जीवनलाई प्रधान माने, उनीहरु नेता होइनन् । खास नेतामा व्यक्तिगत जीवन प्रधान हुँदैन । समाज रुपान्तरण र विकासको दूरदृष्टि र सपना हुन्छन्, देश र जनताको आवश्यकता पूरा गर्न सिङ्गो जीवन नै अर्पण गर्दछन्, ती नै नेताहरु हुन् । अहिले देखिएका भुरे–टपरे, जसले आफूलाई नेता सम्झन्छन्, उनीहरु नेता नै होइनन् । नेताका नाममा समाज परिवर्तनका कलंक हुन् । जसको जीवन व्यक्ति केन्द्रित हुन्छ, त्यसैको कब्जामा समाज अड्केको छ, देश अड्केको छ । अहिले नेपालको सन्दर्भमा भएको यत्ति हो । यतिमात्र आमजनताले बुझ्ने हो भने नेपाल जस्तो समृद्ध र सुन्दर शान्त देश विश्वमा अर्को हुने थिएन ।
नेपालका सन्दर्भमा नजिकबाट नियाल्ने हो भने अहिले जति पनि आफूलाई नेता मान्दछन्, उनीहरु नेता होइनन्, टिकटकर, मोडल, खलनायकमात्र हुन् । जसले नेताको आवरणमा जनतालाई गुमराहमा राखिरहे भने हामी जनता उनीहरुको खोक्रो आश्वासनमा बन्धक बनिरह्यौं । नेता हराएको देश हो यो । नेता त सम्भावनाको दियो हुनुपर्दछ । जुन अहिलेका नेता भनाउँदामा छैन, तर हाम्रो दुर्दशा नै यही हो कि हामी तिनीहरुलाई नै नेता मानेर गुलामी जीवन जिउन तँछाडमछाड गरिरहेका छौं । साँच्चै, नेता प्राप्त गर्ने यीे आम भुईंमान्छेहरुको चाहना कुन युगमा पूरा होला ?