‘गोल्डेन गर्ल’ सन्तोषीको नजर अब लन्डन म्याराथनमा
सन्तोषी भन्छिन्, अहिलेसम्म त दौडेरै जीवन चलाइरहेकी छु


काठमाडौं । १३औं सागमा गोल्ड मेडल जितेर इतिहास रचेकी सन्तोषी श्रेष्ठ सन् २०२५ मा लण्डन म्याराथन लड्ने तयारीमा छिन् । आउँदो अप्रिलमा आयोजना हुने संसारकै यस प्रतिष्ठित प्रतियोगितामा भिसा, तयारीलगायत प्रक्रियाहरु बाँकी नै छन् । यद्यपि सन्तोषीले सन् २०२५ मा दौडने सबैभन्दा ठूलो प्रतियोगिता सम्भवतः लण्डन म्याराथन नै हुनेछ ।
१० हजार मिटर दौडमा १३औं सागमा गोल्ड मेडल जितेकी सन्तोषीले ‘गोल्डेन गर्ल’ उपनाम पनि पाइन् । सागमा कुनै पनि दौड प्रतियोगितामा गोल्ड मेडल जित्ने पहिलो र अहिलेसम्मकै एक्ली महिलासमेत हुन् सन्तोषी, तर पछिल्लो समय भने उनले आफूलाई विस्तारै म्याराथनतिर लगेकी छन् ।
सन् २०२४ को वर्ष भने आफ्ना लागि विशेष रहेको सन्तोषी बताउँछन् । यसको एक कारण हो, पेरिस ओलम्पिक । पेरिस ओलम्पिकमा दौड पूरा गरेर आफ्नो सपना पूरा गरिन् । भलै मेडल जितिनन् ।
सँगै आर्थिक हिसाबले पनि सन् २०२४ सन्तोषीका लागि लाभदायक भइदियो । सन् २०२४ को सुरुमै बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा गोल्ड मेडल जितिन् ।
यही म्याराथनमा सन्तोषीले राष्ट्रिय रेकर्डसमेत तोडिन् । उनको टाइमिङ २ घण्टा ४६ मिनेट २३ सेकेन्ड थियो । ४२ किलोमिटर दौडेकी सन्तोषी भन्छिन्, ‘मेरो पहिलो लामो म्याराथन यही थियो । पहिलो दौडमै गोल्ड मेडल जितें ।’
उनले गोल्ड मेडल त जितिन् नै, सँगै तीन लाख बंगलादेशी टाका जितिन् । यसमा कर काटिएर आउँदा चानचुन तीन लाख रुपैयाँ उनको हातमा पर्यो ।
यसको दुई सातापछि पोखरा हाफ म्याराथन जितिन् । सँगै यस म्याराथनको कोर्स रेकर्ड पनि उनकै नाममा भयो । यहाँ पनि डेढ लाख जितिन् । लगत्तै १० हजार मिटरको धरान रन पनि जितिन् । यहाँ सन्तोषी तीन पटक पहिलो र तीन पटक दोस्रो भएकी छन् । यहाँ पनि ६० हजार पुरस्कार जितिन् । लगत्तै आर्मी म्याराथन जितिन् । यहाँबाट पनि एक लाख जितिन् ।
लुम्बिनी इन्टरनेशनल पिस म्याराथन पनि जितिन् । गोल्ड मेडलसहित दुई लाख जितिन् । चितवनमा आयोजित राष्ट्रिय खेलकुदमा प्रदेशको प्रतिनिधित्व गर्दै पाँच र १० हजार मिटरमा प्रथम भइन् । यहाँ चाहिँ पाँच हजार पुरस्कार र दैनिक भत्ता थियो । लगत्तै काठमाडौंमा आयोजित प्रोटिन रनअन्तर्गत हाफ म्याराथनमा पहिलो भइन् र एक लाख जितिन् ।
नेपाली ट्रयाक एन्ड फिल्डमा एक छत्र जस्तै राज गरिरहेकी सन्तोषी जब ओलम्पिकमा छनोट भइन्, तब प्रतियोगिताहरु खेल्न छाडिन् । ओलम्पिकमा दौड चाहिँ पूरा गरिन् दुई घण्टा ५५ मिनेट लगाएर ।
सन्तोषी भन्छिन्, ‘ओलाम्पिक मेरा लागि सम्भव नै नभएको १० वर्षअघिको सपना थियो, जो पूरा भयो । निरन्तर लागिरह्यो भने सपना पूरा हुनेरहेछ । वर्षौंदेखि कुरेको डेस्टिनेसन थियो त्यो । म जुन ग्राउन्डबाट आएँ, त्यहाँबाट त्यो ठाउँमा पुग्नु नै मेरा लागि ठूलो कुरा थियो ।’
यो म्याराथनमा सन्तोषी दौडले भन्दा पनि अर्कै कारणले चर्चामा आइन् । प्रतियोगितामा गोल्ड मेडल जितेकी नेदरल्यान्डकी सिफान हसनले आधा सन्तोषीलाई कुरिन् र सन्तोषीले दौड पूरा गरेपछि दुवैले हग गरे ।
‘उहाँ मेरी दिदी जस्तो साथी हो, मेरो आइडल पनि हो । मैले उहाँसँग भेट होला भन्ने कल्पना पनि गरेकी थिइनँ, तर संयोगले भेट भयो । नेदरल्यान्डमै ट्रेनिङको क्रममा हाम्रो भेट भएको थियो’, सन्तोषी सुनाउँछिन्, ‘अनि उहाँले लामो समय सेलिब्रेसन गर्नुभयो । म पनि पुगें । हग गरें । बधाई दिएँ । म त नर्मल खेलाडी, उहाँसँग एउटै ट्रयाकमा दौडँदा, उहाँलाई त्यही बधाई दिन पाउँदा प्राउड फिल भयो ।’
धादिङकी सन्तोषी संयोगले दौडन सुरु गरेकी थिइन् । आज दौडेरै जीवन चलाइरहेकी छन् । पेरिस ओलम्पिकबाट फर्किएको ११औं दिन हङकङमा हुने क्रस कन्ट्री रोडको छनोट प्रतियोगिता नेपालमा भएको थियो । त्यहाँ पनि पहिलो भइन् । लगत्तै माल्दिभ्स गइन् दौडन । माल्दिभ्सको आइल्याण्ड रनर क्लबले उनलाई लिएर गएको थियो । त्यहाँ दौडको रेकर्डसहित गोल्ड मेडल जितिन् । यहाँ भने क्लबसँग छुट्टै सम्झौता भएको सन्तोषी बताउँछिन् ।
यसपछि एसियन क्रस कन्ट्री रेस खेल्न हङकङ गइन् । यहाँ भने आठौं भइन् । दोस्रो पटक माल्दिभ्स गइन् । त्यहाँ हाफ म्याराथन र पाँच हजार मिटर दौडमा पहिलो भइन् । नेपाली तीन लाख रुपैयाँ लिएर आइन् ।
यसलगत्तै भारतको बिहार सरकार र पटना म्याराथनका आयोजकले निम्तो पठाएपछि त्यहाँ गइन् । हाफ म्याराथनमा दोस्रो भइन्, ५० हजार भारतीय रुपैयाँ जितिन् । अस्ति भर्खरै नेपालगञ्ज हाफ म्याराथन खेलिन् । यहाँ उनले निरन्तर चार पटक जितिसकिन् । यहाँबाट पनि ७५ हजार रुपैयाँ जितिन् ।
‘अब एउटा गेम खेल्ने चान्स छ, दार्जिलिङबाट बोलाउनुभएको छ । गुरुलाई सोध्छु, जाऊ भन्नुभयो भने जान्छु’, सन्तोषी सुनाउँछिन्, ‘नभए ठूलो अन्तर्राष्ट्रिय म्याराथनको लागि तयारी गर्छु ।’
नेपाली ट्रयाक एन्ड फिल्डमा एकछत्र राज गरेकी सन्तोषीको कमाइ नै यही दौड हो । उनको हातमा स्पोन्सरहरु छैनन् । भन्छिन्, ‘अहिले दौडेरै बाँचिरहेकी छु ।’