माओवादी सांसद सापकोटालाई मोहन बस्नेतको चेतावनी–त्यो लिखुरे फटाहाको गर्धन मुनी,रुख माथि पार्दिन्छु (भिडिओ)
सिन्धुपाल्चोक । बेला-बेलामा उग्र र चर्को बोलेर चर्चामा आइरहने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद मोहनबहादुर बस्नेतले गृहजिल्लामा आयोजित एक कार्यक्रममा माओवादीबाट निर्वाचित सांसद माधव सापकोटालाई उग्र गाली गरेका छन् ।
उनले निकै तल्लोस्तरमा झरेर सांसद सापकोटालाई गालीमात्रै गरेनन्, आउने चुनावमा जमानत जफत गराइदिने हुँकारसमेत दिए । बस्नेतले सासंद सापकोटाविरुद्ध उग्र गाली गरिरहँदा कार्यक्रममा सहभागीहरु भने जोडजोडले ताली पिटिरहेका थिए ।
बस्नेतले भने, ‘यही सुवोध सापकोटा भन्ने लिखुरे यहीबाट चुनाव उठ्यो भने जमानत जफत गरेर पठाइदिन्छौं, त्यो नाथे फटाहालाई सुनाइदिए हुन्छ ।’
सिन्धुपाल्चोकमा धेरै पार्टीहरुलाई आफूले साफ गरेको बताउँदै उनले माओवादीहरुले पनि धेरै चुरीफुरी गरे साफ गरिदिने धम्की दिए ।
सांसद बस्नेतले अन्य दलका नेता कार्यकर्ताहरु तिन बिसौलीका मात्रै भएकाले कांग्रेससँग निउ नखोज्न चेतावनी दिए । उनले अझै अगाडि बढ्दै भने, ‘तिन बिसौलीका बोकाहरु उफ्रिँदा तिमीहरुलाई २५ इन्चका तिघ्रा भएका कार्यकर्ताहरुले छाड्दैनन् । माओवादीका सबै कार्यकर्ताहरु बर्बाद भएका छन् । नेता भनौदा लाउकेहरुमात्रै हुने खाने भएका छन् । चाहे अग्नि होस्, चाहे त्यही सुवोध होस् । हामीसँग को लड्ने, को भिड्ने ? चुरीफुरी धेरै गर्यो भने तिघ्रा र गर्दनमुनि बनाइदिन्छु ।’
अन्त जे भए पनि सिन्धुपाल्चोकमा सरकार नै आफैं भएको बस्नेतको भनाइ थियो ।
एउटै गठबन्धन बनाएर चुनाव जितेका कांग्रेस नेता मोहन बस्नेत र माओवादी नेता माधव सापकोटाबीचको विवादको कारण खुलेको छैन । तर बस्नेतले अर्को चुनावमा सापकोटाको जमानत जफत गरेर पठाइदिने धम्की दिएका छन् । बस्नेतको क्षेत्र माओवादीलाई पार्टीले छाडेपछि उनी सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका थिए भने ।
भएको के हो ?
त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो वडाभित्र सम्पन्न भएका योजनाहरुको साताव्यापी रुपमा उद्घाटन गर्ने कार्यक्रम तयार गरेको थियो । सोही कार्यक्रमअनुसार त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पुलको उद्घाटन कार्यक्रममा स्थानीयवासी र माओवादी कार्यकर्ताहरुले अवरोध गर्न खोजेका थिए ।
बस्नेत आउने बाटोमा रुख काटेर अवरोध गर्न खोजेपछि पुल उद्घाटनपछि बस्नेत माओवादीविरुद्ध आक्रमक भएका हुन् ।
सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सासंद सापकोटाको निर्देशनमा आफ्नो कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै बस्नेत सापकोटाविरुद्ध आक्रामक भएका हुन् ।
बजेट हाल्ने अरु, उद्घाटन गर्ने बस्नेत
बागमती प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले आफ्नो निर्वाचन क्षेत्रमा दुई र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को झ्याडी खोलामा एउटा मोटररेबल पुल निर्माणका लागि बजेटको व्यवस्थापन गरिदिएका थिए । त्रिपुरासुन्दरी गाउँपालिका- ३ का पूर्ववडाध्यक्ष सुकदेव रिसालका अनुसार आफूहरुको सक्रियतामा त्यतिबेला उक्त पुलका लागि ५ करोड बजेट पूर्वमन्त्री नेपालले विनियोजन गरेका थिए ।
त्रिपुरासुन्दरीको अर्को वडा चोकटीसम्म जाने पुलका लागि पनि त्यतिबेला बजेट विनियोजन भएर ठेक्कासमेत लागेको थियो, तर बाढीले पुल बनाउने संरचना बिगारेपछि पुल बन्न सकेन ।
पूर्ववडाध्यक्ष रिसालले भने, ‘त्यो पुल बनाउन मोहन दाइ र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्षको कुनै योगदान नै छैन ।’
बस्नेतले भने आफूले उक्त पुलमा बजेट हाल्न पहल गरेको कार्यक्रममा दाबी गरेका थिए । बागमती प्रदेश सरकारको ४ करोड ४९ लाख रुपैयाँको लागतमा २२ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको थियो ।
बहुलठ्ठी र सन्की, मूर्ख : सरल सहयात्री
कांग्रेस सांसद बस्नेतले सार्वजनिक कार्यक्रममा अराजनीतिक शब्द बोलेपछि आक्रोशित माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् ।
अध्यक्ष सहयात्रीले भोलि कुनै बहुलठ्ठी र सन्की, मूर्खले अरनिको राजमार्गमा नाङ्गै उभिएर घोक्रो फुट्ने गरी चिच्याउला- जसले जे भनोस् म नै सिन्धुपाल्चोकको सरकार हुँ । दिमाग ठीक ठाउँमा भएकाहरुले यस्ता घोषणामा ताली होइन, सहयोग गरेर सुधार केन्द्रमा लैजानुपर्छ ।’