उपनिर्वाचनमा पहिलो भएका रहेछौं, अर्कै पार्टीका नेताले तथ्यांक देखाएपछि छक्कै परें : प्रचण्ड (भिडिओ) – Nepal Press

उपनिर्वाचनमा पहिलो भएका रहेछौं, अर्कै पार्टीका नेताले तथ्यांक देखाएपछि छक्कै परें : प्रचण्ड (भिडिओ)

'माओवादी सिद्धियो भन्दै विभाजन गरेर धुलोपिठो बनाउने ठूलै षड्यन्त्र थियो, अहिले एकताबद्ध भएका छौं'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा मत र परिणामको हिसाबले माओवादी पहिलो पार्टी बनेको दाबी गरेका छन् ।

राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै माओवादीले दोस्रो भयो भनेर गलत प्रचार गरिरहेको भन्दै अर्को पार्टीको नेताहरुले आफूलाई तथ्यांकसहित देखाएपछि छक्क परेको बताए ।

 

उनले भने, ‘पालिकातिरको जोड्दा त हामी सिधै एक नम्बर भइएको रहेछ । सबैतिरको जोड्दा पनि हामी एक नम्बर नै भइएको रहेछ । तर, हामीलाई एक नम्बर भन्न बल आएको रहेनछ । हाम्रो आत्मविश्वास एक नम्बर भन्दा बढी नै भनिएछ कि भन्या जस्तो । जबकी हामी एक नम्बर भइएको छ ।’

उनले माओवादी एकताबद्ध भएर लाग्यो भने माओवादी सकियो भन्नेहरुलाई जवाफ मिल्ने बताए ।

उनले भने, ‘म प्रधानमन्त्रीबाट हटेर आउँदैगर्दा माओवादी अब सकियो भन्ने भाष्य बनाउन खोजियो । माओवादीको नेतृत्व सिद्धियो भनेर फेरि एकचोटी विभाजन गरेर धुलोपिठो बनाउने षड्यन्त्र ठूलै थियो। माओवादीलाई विभाजित गर्ने र प्रचण्डलाई भाग्नुपर्ने बनाउने, कतिपयले मलाई सुझाव पनि दिए सन्यास लिए हुन्छ भनेर पनि । तर, मैले नयाँ अठोट लिएर समाजवादको आधार निर्माण गर्ने संकल्प गरेर हिँडेको छु ।’

सरकारबाट छाड्दैगर्दा पनि प्रतिक्रयावादीहरुलाई चुनौती दिएर भ्रष्टाचारविरुद्धको लडाईँ गर्छु भनेपछि जनतामा विश्वास बढेको उनको बुझाइ छ ।

उनले थपे, ‘अहिले यहाँसम्म आइपुग्दा परामर्श बैठकपछि एकताबद्ध भइसकेका छौं। हामीले गरेका राम्रा कामहरु र एमाले नेतृत्वले गरेका नराम्रा कामहरु दुईटा मिलाउँदा जनताको आशा र भरोसा बढेको छ । देश र जनताको हितमा प्रयास गर्ने माओवादी नै रहेछ भन्ने परेको छ । यो उपनिर्वाचनअघि नै परेको थियो । मैले पहिला पनि भनेका थिएँ, माओवादीमा ०६४ को झल्को आएको छ, तर, फर्किसकेको छैन । हामीलाई राम्रो अवसर पाएका छौं । जनताले राम्रोसँग माओवादीको पहलकदमीलाई बुझ्यो ।’

 


प्रतिक्रिया

One thought on “उपनिर्वाचनमा पहिलो भएका रहेछौं, अर्कै पार्टीका नेताले तथ्यांक देखाएपछि छक्कै परें : प्रचण्ड (भिडिओ)

  1. सबै नक्कली कुरा गरेर काम चाहिँ दलाली मात्र गर्ने हो । जनताले थाहा पाईसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर